धुलिखेल/स्वस्थ शहर बनाउने अभियानमा धुलिखेल नगरपालिकाले उपलब्ध गराएको खुल्ला स्थानमा धुलिखेल अस्पताल र जिल्ला प्रहरी कार्यालयको सहयोगमा प्रोजेक्ट टेम्पलले सेभेन्थ साईट धुलिखेल शुभारम्भ गरेको छ ।
नेपाली युथ फिटनेस एण्ड क्यालिसथेनिक्सले गरेको उक्त अभियान नेपालका ९ वटा जिल्लाको १५ स्थानमा शुरु हुनेछ । धुलिखेलमा शुभारम्भ भएको सातौ हो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्नु भएको थियो । १४ वर्ष भन्दा माथि उमेर समुहका ब्यक्तिहरुका लागि प्रशिक्षण तथा प्रयोगात्मक अभ्यासका लागि उक्त सेन्टर महत्वपूर्ण हुनेछ । ब्यक्तिलाई स्वास्थ्य मार्फत आत्मअनुशासन कायम राख्न उक्त ब्यायाम अभ्यासले सहज बनाउनेछ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल स्वस्थ शहर बनाउने अभियान अन्र्तगतको उक्त कार्यक्रमले थप सहजता प्रदान गर्ने बताउनु भयो । नगरपालिकाले यस्ता सेन्टरहरु अन्य वडामा विस्तार गर्न आवश्यक सहयोग गर्ने भएकाले सहजिकरणका लागि नगर प्रमुख ब्याञ्जुले अनुरोध गर्नु भयो । मर्निङ्ग वाक जानेहरुका लागि खुल्ला जीम सेन्टर तथा ब्यायाम सेन्टरले सहज हुने उहाँको भनाई थियो ।
धुलिखेल अस्पतालले १ लाख ५० हजार र जिल्ला प्रहरी कार्यालय काभ्रेले ५० हजार सहयोग गरी दुई लाख रुपैयामा निर्माण भएको उक्त ब्यायाम सेन्टरले विशेषगरी युवाहरुका लागि नियमित ब्यायाम गर्न सहज बनाउनेछ । उक्त अभियानका तर्फबाट दैनिक र साप्ताहिक रुपमा ब्यायामका कक्षाहरु संचालन हुनेछन् । ब्यायाम कक्षामा सिकेका कुरालाई ब्यवहारमा अभ्यास गर्न उक्त सेन्टर आवश्यक रहेको अध्यक्ष सुकदेव कार्कीले बताउनु भयो । उहाँका अनुसार काभ्रे, काठमाडौ, ललितपुर, पोखरा, चितवन, विराटनगर, सुर्खेत, नेपालगञ्ज र रुपन्देहिका १५ स्थानमा यस्ता ब्यायाम सेन्टर खुलिसकेको अध्यक्ष कार्कीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्र खत्रीले ब्यक्तिलाई स्वस्थ र अनुशासित बनाउन उक्त अभियानले शुरु गरेको ब्यायाप केन्द्र महत्वपूर्ण भएकाले प्रहरी कार्यालयको तर्फबाट सहयोग उपलब्ध गराएको बताउनु भयो । सेन्टरमा पुलअफ, चिनअप, डिपवार, सिटअप लगायतका अभ्यासका लागि सहज हुनेछ ।





