2026 August 25/ 01:47: 47pm

    धुलिखेल/आकाश भैरव क्लवको आयोजनामा आईतबारबाट धुलिखेल सामुदायिक खेलमैदानमा नेपाल आईस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो । उद्घाटन पछिको पहिलो खेल काठमाडौ युनिभर्सिटी धुलिखेल र एफसी रिले भक्तपुुर बीच भएको थियो ।
     धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक सिजि ब्रुअरी प्रा.लि. नेपाल रहेको छ भने टाईटल प्रायोजक योङ्ग ट्यालेन्ट टिम रहेको छ । सह–प्रायोजक म्याक्स टाईगर इनर्जि ड्रिक, काभ्रे जिल्ला निर्माण ब्यवसायी संघ, क्षेत्रिय होटल एशोसिएसन, मनोविनायक साकोस काठमाडौ, अर्थभूमी साकोस काठमाडांै, लेखापढी ब्यवसायी संघ काभ्रे रहेका छन् । काभ्रे जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगितामा विभिन्न संघ संस्थाहरुको सहयोग रहेको छ । धुलिखेलका १२ वटै वडाले विद्यागत पुरस्कार सौजन्य गर्ने प्रतियोगता पौष मसान्तमा सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराईने प्रतियोगिता संयोजक जयोज नरसिं श्रेष्ठले बताउनु भयो । उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच प्राग्त गर्ने खेलाडीहरुलाई नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराउने  श्रेष्ठले बताउनु भयो । 
    फुटबल खेलको विकास, ब्यवसायीक खेलाडीको उत्पादन र काभ्रे जिल्लाको खेलकुद गतिविधिलाई गतिशिल बनाउन प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको अध्यक्ष सुबल चोच्छेले बताउनु भयो । क्लवले यस अघि फुटबल र रग्वी प्रतियोगितामा राष्ट्रिय स्तरसम्ममा सहभागिता जनाएको छ । २०७७ मा जिल्ला लिग फुटबल प्रतियोगितामा विजयी भएको आकाश भैरव क्लबले नगर देखि राष्ट्रिय स्तरका खेलहरुमा सहभागिता जनाउँदै अन्य सामाजिक कृयाकलापमा पनि सहभागि हुँदै आएको छ । प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, मुख्य प्रायोजक सिजी ब्रुअरीका प्रतिनिधि  समुन्द्र खत्री, काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास श्रेष्ठ, महासचिव किशोर बरुण, चमन बैद्य, सञ्जिव चोच्छे, कार्यक्रम संयोजक जयोज नर्सिङ्ग श्रेष्ठ, क्लवका उपाध्यक्ष पुकार चोच्छे, रोजन योगल, वडा अध्यक्ष सञ्जय कोँजु लगायतले प्रतियोगिताका बारेमा जानकारी गराउनु भएको थियो । प्रतियोगितामा ए डिभिजन, सि डिभिजन क्लवका समेत गरी काठमाडौ, भक्तपुर, सिन्धुली र काभ्रे जिल्लाका क्लवहरु २० टिम सहभागि भएका छन् ।