2026 August 24/ 01:53: 55pm

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ । 
दिवसको अबसर पारी परिचय पत्र वितरण गर्दैे बनेपा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यनारायण नापितले अपाङ्ग ब्यक्तिहरुलाई परिचय पत्र र ओढ्ने कम्बल समेत प्रदान गर्नु भएको थियो । अपाङ्ग भएका ब्यक्ति पनि सामाजका अन्य नागरीक सरह भएकाले समान ब्यबहार गर्नुपर्ने बताउनु भयो ।  कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख विजया सुवेदीले नेपाल सरकारले समेत अपाङ्गता भएका ब्यक्तिहरुको लागि विशेष सेवा सुविधा दिएकाले उक्त सुविधा लिनको लागि परिचयपत्र अनिवार्य रहेको हुँदा बाँकी अपाङ्गता भएका ब्यक्तिले समेत परिचयपत्र लिन अनुरोध गर्नु भएको थियो । सुवेदीले नगरपालिकामा २ सय १७ जना ब्यक्तिले अपाङ्गता परिचय पत्र लिएको बताउनु भयो । अपाङ्गता दिवसको दिनमा मात्रै ९ जनालाई परिचय पत्र वितरण गरिएको थियो । नगरका सबै वडामै पुगी र नगरपालिकाको महिला शाखाबाटै समेत वितरण भैईरहेको सुवेदीले बताउनु भयो । अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचयपत्र मात्रै वितरण नगरी नपुग्ने भएकाले अपाङ्ग भएका ब्यक्तिहरुको लागी तालिम प्रदान गर्दे आएको बताउनु भएको थियो । कार्यक्रममा कार्यपालिका सदयस्य सुरेन्द्र भुजेल वडा सदस्यहरु हरी कृष्ण बुढाथोकी, सरिता श्रेष्ठ, महिला तथा बालबालिका शाखा निरिक्षक निर्मला कार्की, र सुनिता राय यादव, स्थानीय अपाङ्गता समितिका पदाधिकारी लगायतको  सहभागिता रहेको थियो । 
यसैगरी अपाङ्ग दिवसकै अवसर पारेर धुलिखेल नगरपालिकाले अपांगता भएका भएका व्यक्तिहरुलाई ह्विलचियर, छडी, श्रवणयन्त्र लगायतका सामाग्री वितरण गरेको छ । अपांगता भएका व्यक्तिहरुको २९ औं अन्तराष्ट्रिय दिवसको अवसर पारेर नगरपालिकाले १५ जनालाई सामाग्री वितरण गरेको हो । ह्विलचियर ७ जनलाई, छडी र श्रवणयन्त्र  चार चार जनालाई वितरण गरिएको र मागका आधारमा अरुलाई पनि केहि दिनमा सामाग्री उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । कार्यक्रममा अपांगता समन्वय समितिकी सदस्य सचिव पुजा काफ्लेले अपांगता भएकाहरुको लागि बनेका कानुन, धुलिखेल नगरपालिकाले गरिरहेका प्रयास, उनीहरुका समस्या लगायतको बारेमा जानकारी गराएकी थिइन् । नगरपालिकामा ‘क’ वर्गमा २ जना, ‘ख’ मा १७ जना, ‘ग’ मा १३ जना र ‘घ’ मा ११ जना गरी ४३ जना अपांगता भएका व्यक्ति छन् । कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झा, उप प्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले अपांगता परिषद् मार्फत अपांगता भएका व्यक्तिको समस्या समाधान गरिरहेको बताएका छन् । धुलिखेल नगरपालिकाले अपांगमैत्री नगरपालिका बनाउने, अपांगमैत्री ट्रेल निर्माण गर्ने, सरकारी भवन तथा मानिसको धेरै आवतजावत हुने स्थानहरु अपांगमैत्री बनाउने योजनाका साथ काम गरिरहेको उनले जानकारी दिएका छन् । यस्तै अपांगता भएका मानिसहरुलाई उनीहरुको क्षमता अनुसारको रोजगारी सिर्जना गरी व्यवसायिक बनाउने उदेश्यका साथ विभिन्न काम गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा उप प्रमुख विमला शर्माले अपांगता भएका व्यक्तिहरुलाई गरिने विभेद अस्विकार्य भएको बताइन् । यस्तै प्रमुख प्रशासकिय अधिकृत सुवेदीले विलक्षण प्रतिभाका धनी उनीहरुको सम्मान गर्ने, पहुँचको विस्तार गर्ने कार्यमा नगरपालिका लागि रहेको र यस्ता कार्यमा नगरपालिका सधैं सँगै रहने प्रतिवद्धता जनाएका छन् ।