2026 August 24/ 01:53: 54pm

    धुलिखेल/मण्डनदेउपुर नगरपालिका स्थायी घर भएकी ८२ बर्षिया जेष्ठ नागरिक दशैको भोलिपल्ट अर्थात कार्तिक ११ गते घरमै लडनु भयो । दशंैको दिन आफन्त तथा परिवारका सदस्यहरुलाई टिका लगाएर आर्शिवाद दिएकै भोलिपल्ट उहाँ अचानक लडनु भयो । उहाँको खुट्टाको जोर्नीमा समस्या देखियो । घाउ कतै नभएकाले तत्काल अस्पताल लैजाने कुरा भएन । नदुख्ने औषधी लगाएर मालिस गरेर घरमै राखियो । तीन दिन पछि जेष्ठ सदस्यको खुट्टा सुन्निदै आयो । असहज भए पछि परिवारले धुलिखेल अस्पतालमा ल्यायो । उपचारका लागि एक्सरे र पिसिआर परिक्षण दुबै सँगै भयो । त्यस दिन अस्पतालमै सम्भावित कोभिड वार्डमा भर्ना गरिएकी महिलाको भोलिपल्ट पोजेटिभ रिपोर्ट आयो । घरबाट बाहिर ननिस्किएको, टिकाको दिन बाहेक अरु दिन कसैलाई नभेटेकी महिलामा कोरोना पोजेटिभ देखिए पछि परिवारका सदस्यहरु छाँगाबाट खसे झै भए । दशैंमा टिका लगाउन आएका आफन्तहरु पनि झस्किए । पिसिआरमा पोजेटिभ आएकाले चिकित्सकहरुले सल्लाह दिए नेगेटिभ रिपोर्ट नआउँदासम्म अप्रेसन गर्न मिल्दैन । घरमै १४ दिन बस्नुस् र अस्पताल आउनुस् । त्यतिबेलासम्मका लागि चिकित्सकहरुले खाने र लगाउने औषधी दिएर घर पठाए । ८२ बर्षीया महिलालाई घरमा अलग्गै राखियो । बुढेशकालमा उहाँले भोगेको पीडा बयान गरी साध्य छैन । तर पनि परिवारले निरन्तर सहयोग गरिरह्यो । घर गएको तीन दिनमै उहाँमा श्वास प्रश्वासमा समस्या देखियो । थप संकट देखिए पछि पुनः धुलिखेल अस्पतालमा सम्पर्क गरेर उहाँलाई कोभिड वार्डमा भर्ना गरियो । उहाँको रेखदेखमा रहनु भएका छोरा बुहारीलाई अलिकति पनि कोरोनासँग डर थिएन । आमालाई निको भए हामीलाई जे सुकै होस् ? जेल भन्दा पनि चर्काे कारावास जीवन विताउनु पर्दा आमा सहितको परिवारले भोगेको पीडा कसैगरी कम हुन सक्दैन । अक्सिजनको मात्रा घटेकाले उहाँलाई निरन्तर अक्सिजन दिईएको थियो । १७ दिन पछि उहाँमा कोरोना नेगेटिभ आए पछि अस्पतालले अप्रेसन ग¥यो । अप्रेसन पछि केहि दिनको अस्पताल बसाई सकेर उक्त परिवार घर फर्किएको छ । धुलिखेल अस्पतालमा यस्ता कयौ विरामीहरुको संख्या छ । 
    सिमित श्रोत र साधनबाट अस्पतालले उच्च स्तरको सेवा दिने प्रयास निरन्तर गरिरहेको छ । निःशुल्क उपचार गराउने सरकारको निर्णय भए पनि सरकारले उपलब्ध गराउनु पर्ने सहयोग अस्पतालले प्राप्त गर्न सकेको छैन । केहि थान भेन्टिलेटरका लागि प्राप्त सहयोगबाट अस्पतालले स्वास्थ्य सामाग्री त खरिद गरेको छ तर जनशक्ति परिचालनमा सहयोग नहुँदा अस्पताल गम्भिर आर्थिक संकटमा फसेको छ । कोभिडमा खटिएका कर्मचारीहरुलाई समेत आधा महिनाको मात्रै पारिश्रमिक उपलब्ध गराएर काममा लगाउनु परेको अस्पतालले जानकारी दिएको छ । नागरिकहरुको सेवामा निरन्तर खटिएको जनशक्तिको सुरक्षा तथा पर्याप्त पारिश्रमीक नहुनु, सरकारले तोकेको भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मीले प्राप्त गर्नु पर्ने उर्जा निराशामा परिणत हुन लागेको छ । घरमै बसेका सदस्यहरुलाई अन्य सदस्यहरुबाट कोरोना सरेको छ । थाहा नपाई कोरोना संक्रमण भएर पनि निको भएका सदस्यहरु वा निरन्तर बाहिर जाने आउने सदस्यहरुबाट कोरोना घर घरमा भित्रिएको छ । कसैलाई लक्षण देखिएको छ भने कसैलाई लक्षण विना कोरोना निको भईसकेको छ । लक्षण भएकाहरुले पनि समुदायले गर्ने ब्यवहारले परिक्षण गराई रहेको छैन । परिक्षण नगरेकै ब्यक्तिहरुबाट कोरोना संक्रमण फैलिरहेको छ । जिल्लामा संक्रमण दर बढिरहेको अवस्थामा समुदायले कोरोना अघि र कोरोना संक्रमण पछि अपनाउनु पर्ने सुरक्षा सतर्कताका बारेमा ध्यान दिन जरुरी छ ।