2026 August 20/ 12:43: 39am

    समाजमा थुप्रै घटना घटिरहेका छन् । केहि घटना दुःखद् छन् भने केहि घटनाले आउने पुस्ता र समाजलाई शिक्षा दिएका छन् । भुकम्प, कोभिड, सशस्त्र द्वन्द्व जस्ता घटनाक्रममा ज्यान गुमाउने, बेपत्ता हुने, अपांग हुनेहरु धेरै छन् । प्रविधि, खुल्लापन, सुविधाको उपयोग गर्दै हुने अपराध कति हो कति ? देखासिखी, गरिबी, छुवाछुत जस्ता घटना पनि भईरहेकै छन् । आत्महत्या, हत्या, जर्बजस्तिकरणी जस्ता घटना पछिल्लो समय धेरै हुन थालेका छन् । सहमति अनि मन नमिलेका दिन जर्बजस्ति हुने क्रम तिब्र भएको छ । बालविवाह पनि रोकिएको छैन । मुलुकमा कानून छ । संविधान छ । त्यसलाई कार्यान्वयन गर्ने निकाय छन् । ति निकायले निष्पक्ष अनुसन्धान र कार्यान्वयन गरिदिँदा ब्यक्तिले न्याय पाएको महसुस गर्दछ । जब यस्ता निकायप्रति नागरिकहरुको विश्वास कम हुन्छ तब मान्छे भौतारिन पुग्छ । ब्यक्ति भौतारिएको अवस्थामा तेश्रो पक्षले फाईदा खान खोज्छ । जहाँ पनि दलालहरुको चकचकी छ । हरेक क्षेत्रमा भएको दलालहरुको बिगबिगिमा केहिले राहत पाएका होलान् तर अधिकांशले दुःख पाएका छन् । 
    २०७८ भदौ १६ गतेको घटना हो । एउटा घटना माथी अर्काे घटना भए पछि हामी दुःखी हुने स्वभाविक हो । कसैले दुःखमा साथ दिन्छु भन्दा पत्याउनु, विश्वास गर्नु स्वभाविक पनि हो । बुद्धि भनौ वा मति । भाई जिल्ला कारागारमा थुनुवाका रुपमा रहेको छ । नजिकिँदो दशैं थियो । भाई जेलबाट निस्किन सक्यो भने दशंै रमाईलो हुन्छ भन्ने लाग्यो । भाईलाई जर्बजस्ति करणी मुद्दामा पक्राउ गरिएको थियो । मुद्दा चल्दैछ । अदालतले दिने फैसला स्विकार्य छ । जे हुनु भई नै सकेको थियो । त्यसबाट मुक्ति मिल्ने भनेको कानुन अनुसार नै हो । प्रमाण पु¥याउन सकेनन् भने समयावधी अघि नै छुट्ला प्रमाण भयो भने कानुनले तोकेको समयसम्म जेल बस्ला । आफ्नो रगतको नाता । माया लाग्नु स्वभाविक हो । घटना भन्दा पनि त्यस पछिको यातना र पीडाले समाजमा बसी नसक्नु भएको थियो । एक त समाजले हेर्ने दृष्टिकोण नै फरक थियो । अर्काे कति समयसम्म जेल बस्ने ? मिल्छ भने निकाल्ने प्रयास गरौं न ? घर परिवार र आफन्तसँग छलफल भयो । त्यहि क्रममा हामीले एक जना ब्यक्ति फेला पा¥यौं । जेलमा पनि त्यस्तै कुरा सुनेको रहेछ भाईले । जेलमा बसेर निस्किएका ब्यक्तिले पनि पैसा लिएर ब्यक्तिलाई समय अगावै निकाल्ने रहेछन् । कानुन ब्यवसायी, प्रहरी, पत्रकार तथा अन्य तप्काका ब्यक्तिहरुलाई मिलाउँछु भन्दै उनिहरुसँग पैसा लिने रहेछन् । त्यहि कारण कुनै कुनै समयमा त्यस्ता घटनाबाट ब्यक्तिले उन्मुक्ति पाउँदो रहेछ । हामीलाई पनि त्यहि कुराले पिरोलेको थियो । पैसा दिएर जेलमा बसेको ब्यक्ति निस्कन्छ भने ठिकै छ नि त एक पटक प्रयास गरौं । 
    काभ्रेपलाञ्चोक जिल्लामा मात्रै होईन । नेपालका हरेक क्षेत्रमा पैसाको कारोवार हुने गरेको जग जाहेर नै छ । मालपोत कार्यालय होस् वा नापी कार्यालय । हुँदा हुँदा अहिले स्थानीय तह पनि भ्रष्टाचारको अखडा बन्न थालेका छन् । जति धेरै कर्मचारी त्यति धेरै     भ्रष्टाचार । तल्लो तहका कर्मचारीहरुले नागरिकहरुलाई दुःख दिने गरेका कहानी कति छन् कति । को बोल्नु ? पैसा दिँदा काम हुने पैसा नहुँदा काम नहुने परिपाटी कहिले अन्त्य हुन्छ होला ? यस्तो कल्पना सपनामा मात्रै हो कि जस्तो लाग्छ । तर काभ्रेमा अहिले त्यस्तो रहेनछ । अहिले प्रहरीले त्यस्ता ब्यक्तिलाई प्रमाणका आधारमा पक्राउ गरी कारवाही गर्दाे रहेछ । विश्वास गरौ कि नगरौं । राज्य संयन्त्र यस्तै छ । नेताहरु र जनता हामी उस्तै छौं । प्रहरी प्रमुख भुपेन्द्र खत्रीको टोलीले फरक गर्न खोजेको हो ? देखावटी मात्रै हो । यो घटनामा उहाँहरुले देखाउनु भएको चासो र तदारुकताले साँच्चै नेपालमा प्रहरी यस्ता इमान्दार पनि हुन्छन र ? भन्ने देखाएको छ । प्रहरीले नागरिकहरुलाई दुःख दिएको, काम गर्ने सिलसिलामा मोलमोलाई गरेको जस्ता घटना सुनिन्थे । तर यो घटनामा प्रहरीको सक्रियता र प्रहरीले गरेको ब्यवहारले प्रहरीप्रति हेर्ने दृष्टिकोण अलग भएको छ । 
यसअघि पनि जिल्लामा यस्ता घटनाहरु भएकै थिए । अझै हुन्छन् होला । यो सन्देश सार्वजनिक भयो भने रोकिन पनि सक्छन कि ? हामी आफै पारिवारीक तनावमा त थियौ नि । बसोबासको हिसाबले अलग अलग स्थानमा बस्छौ हामी । २०७८ भदौ १६ गतेको कुरा हो । दिउँसो ३ बजेको थियो होला । हामी धुलिखेल नगरपालिका वडा नम्वर ७ स्थित सरकारी वकिल कार्यालय अघि जम्मा भएका थियौं । सरकारी वकिलको कार्यालय अघि गरिएका काम प्रमाण र विश्वासयोग्य हुन्छन् भन्ने थियो । विशेषगरी सदरमुकाम धुलिखेलमा सबै सरकारी कार्यालय सँगसँगै छन् । अदालत प्रहरी सरकारी वकिल कार्यालय । तिनवटै कार्यालय घटनाका आधारमा नागरिकसँग सम्बन्धित छन् । मेरो भाई रुकेश तिमल्सिना जर्बजस्ति करणी मुद्दामा जिल्ला कारागार कार्यालयमा बसिरहेको छ । प्रहरीले पक्राउ गरी मुद्दा चलाएका आधारमा उसलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ । थुनुवाका रुपमा रहेको भाईलाई जेलबाट चाँडो निकालिदिन्छु भनेर मलाई केहि समय अघि देखि नै पनौती नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष २७ का रमेश गिरीले भन्दै आएका थिए । उनि यसअघि पनि यस्तै कार्यमा सक्रिय रहेछन् । कति जनासँग पैसा लिएर कति जनालाई उनले जेलबाट निकाले त्यो त प्रहरीले पत्ता लगाउँला । तर हामीसँग उसले पटक पटक पैसा मागेको थियो । उ ग्यारेजको काम गर्दाे रहेछ । गाडी बनाउन जाने बेला उसले प्रहरी, वकिल, पत्रकार र अदालतका न्यायाधिश समेत चिनेको छु भन्दै फुर्ति लगाउँदो रहेछ । शक्ति देखाउन अदालत, सरकारी वकिलको कार्यालय, प्रहरी कार्यालय अघी मान्छेलाई देखाउँदो रहेछ । हामी पनि विश्वासमा प¥यौं । भाई छुट्छ भने उसले भनेको किन नमान्ने ?     
    हाम्रो स्थायी घर नमोबुद्ध नगरपालिका वडा नम्वर ७ हो । हामी काम विशेषले काठमाडौको ठमेलमा बस्दै आएका छौं । कुन माध्यमबाट रमेश गिरीसँग हाम्रो सम्पर्क हुन पुग्यो । रमेश गिरीले मेरो भाई सोहि अभियोगमा जेलमा बसेको थाहा पाएको रहेछ । उसले उसको मोबाईल नम्वर ९८५६०७१८८६ नम्बरबाट मेरो मोबाईलमा फोन गर्न थाल्यो । शुरुमा भेटौं भन्यो । हामीले विश्वास नै गरेका थिएनौं । उसले अरु काम पनि गरेकाले विश्वास गर्न भन्यो । हामीले सोच्यौं भाई जेलबाट निक्लन्छ भने के भयो र भेटौं भन्यौं । उसले शुरुमा हामीलाई म मुद्दा मिलाई दिन्छु १० लाख रुपैयाँ लाग्छ के गरौं भन्यो । हामीले परिवारसँग सल्लाह गर्छाै र खबर गरांैला भन्यौं । भाईलाई जेलमै भेट्यौं उसले जेलबाट निस्कन पाईन्छ भने पैसा ठुलो कुरा भएन तर विश्वास हुनुपर्छ भन्यो । हामीले अन्य ब्यक्तिहरुसँग पनि सल्लाह ग¥यौं । पैसा धेरै भयो । भरपर्दाे मान्छे हो कि होईन भन्ने सल्लाह थिए । कुरा हुँदै थियो उसले हामीलाई सबै च्यानल मिलाई सकेको बतायो । सबै च्यानलमा कुन कुन पर्छन् ? हामीले राखेको जिज्ञासामा उसले शुरुमै राम्रो वकिल राखेर सरकारी वकिल कार्यालय देखि अदालतसम्मको च्यानल मिलाउने बतायो । अब त हामी झनै विश्वासमा प¥यौं । मुद्दाको उठान नै प्रहरीबाट हुन्थ्यो । उसले सरकारी वकिलकोमा बुझाएर अदालतले पुर्पक्षमा पु¥याई सक्यो । अब प्रमाण बुझ्ने र अदालतमा बहस गर्ने सरकारी कार्यालयलाई समेत मिलाउँछु भने पछि विश्वास त गर्नै प¥यो । हामीले उसको विश्वास ग¥यौं र उसले जे भन्यो त्यहि मान्न तयार भयौं । 
    उसले १० लाख माग्यो हामी दिन तयार भयौं । तर किस्ता किस्तामा लिन उ तयार भयो । उसले हामीलाई शुरुमा जति छ त्यति दिनुस् भन्यो । हामीले शुरुमा उसलाई ५० हजार रकम बुझायौं । पहिलो किस्ताको रकम बुझाएको केहि दिनसम्म उ सम्पर्कमा थिएन । पछि उ आफैले फोन गरेर वकिल खोजेको, मुद्दाको सबै प्रकृया सकिएको बताउन थाल्यो । हामीले सबै जिम्मा नै उसैलाई दियौं । काम सकिँदासम्म रकम भुक्तानी गर्ने शर्तमा उसले मागेको केहि रकम थप्दै गयौं । त्यहि भदौ १६ गते हामीले उसलाई ५० हजार बुझाएका थियौं । त्यो रकम पनि हामीले काठमाडौबाट आएर धुलिखेलको सरकारी वकिल कार्यालय अघि बुझाएका थियौं । दोश्रो पटक हामीले उसलाई ७० हजार बुझायौं । १ लाख २० हजार रकम बुझाई सके पछि पनि मुद्दामा केहि प्रकृया शुरु भएन । उसले फेरी रकम माग्न थाल्यो । रकम बुझाउन र मिलाउन पुगेन अरु रकम तत्काल चाहियो । फेरी उसले फोनमा रकम नपुगेको भन्दै दबाब दिन थाल्यो । तत्कालै ६० हजार रकम ल्याउन भने पछि मेरो मनमा खुल्दुली प¥यो । हामीलाई पनि शंका लाग्न थाल्यो । ६० हजार रकम ल्याउने तर काम फत्ते हुनुपर्छ भन्यौं उसले शतप्रतिशत विश्वास दिलायो । यो पटक हामी उसलाई पैसा दिनु अघि सबैतिर प्रकृया बुझ्ने योजनामा बस्यौं । ६० हजार रकम लिएर काठमाडौबाट धुलिखेल आयौं । दिउँसो ३ बजेको थियो होला । हामीलाई यसअघि बुझाएको ५० र ७० हजारको चोट त छनै । त्यो भन्दा धेरै भाई जेलमा भएको अवस्थामा थियो । अब भाई नै निस्कन्छ भने कमाएर तिर्छ लगानी गरौ भन्ने सोचले विश्वास गरेका थियौं । सरकारी वकिलको कार्यालय अघि दिउँसो भेट गर्ने उसको समय थियो । आउँदा आउँदै केहि समय ढिला भएको थियो । उ पैसा लिन तयारी अवस्थामा थियो । हामीले एक पटक प्रकृया बुझ्छौ अनि दिन्छौ भने पछि उसले झपार्न पनि खोज्यो । फेरी विग्रला नि ? सबै जिम्मा लिए पछि किन आत्तिनु ? 
    हामी प्रहरीकोमा गयौं । अदालतमा गयौं । सरकारी वकिलकोमा गयौं । मुद्दा त प्रकृयामा रहेछ । उसलाई पैसा दिएर मुद्दामा कुनै असर परेको रहेनछ । हामीले उसलाई दिन ल्याएको ६० हजार दिएनौं । तर प्रहरीलाई आफु पीडित भएको र बास्तविक घटनाका बारेमा जानकारी गरायौं । प्रहरी प्रमुख भुपेन्द्र खत्री, डिएस्पी हरि खतिवडा लगायतको टोलीले हामीलाई पूर्ण रुपमा सहयोग गर्नुभयो । हामीले बुझाएको रकम पनि फिर्ता हुने बताउनु भयो । प्रहरी, अदालत र वकिल कार्यालयलाई गुमराहमा राखेर मुद्दाको किनबेच भएको घटनाबाट उहाँहरु पनि छक्क पर्नु भयो । उसलाई तत्काल पक्राउ गरी कारवाही गर्ने बताए पछि हामीले जाहेरी दियौं । उ पक्राउ प¥यो अहिले कारवाही भोग्दै छ । उता भाईको मुद्दाको प्रकृयामा नै छ । 
    जिल्लामा यस्ता घटना भई रहने रहेछन् । हामी जस्ता सोझा ब्यक्तिहरुलाई दलालले पारेको भ्रम र हामीले खर्च गर्न खोजेको रकम सयममै हामी चनाखो भएकाले जोगिएको महसुस गरेका छौं । कुनै न कुनै कारण जेलमा पुग्ने र जेलबाट छुटन खोज्ने क्रममा हुने यस्ता घटनाबाट बच्न सबै सचेत हुने कि ? 

लक्ष्मी खनाल
धुलिखेल, काभ्रे