मुलुक यतिखेर स्थिर राजनीतिक ब्यवस्था सँगै समृद्धी तर्फ अगाडी बढ्न खोजिरहेको छ । जनताले नै खोजेको ब्यवस्था गणतन्त्रको पहिलो अभ्यास हुँदैछ । संविधान सभाले बनाएको संविधानको पूर्ण कार्यान्वयन भईसकेको छैन । त्यहि संविधान अनुसार निर्वाचित भएको सरकारले केहि महत्वपूर्ण कार्यहरु प्रारम्भ गरेको छ । जनताको आशा र भरोसा अनगिन्ति छन् । युवाहरु विदेशिन छाडेका छैनन् । अवसरको खोजीमा भौतारिनेहरुको संख्या असंख्य छ । १० वर्षे शशस्त्र युद्ध, राजाको सक्रिय शासनकालमा नेपाली जनताले थुप्रै कष्ट ब्यहोर्न पुगे । मुलुक विकासको हिसावले केहि पछि प¥यो होेला तर राजनीतिक ब्यवस्थामा नेपाल र नेपालीले ठुलो सफलता प्राप्त गरेका छन् । जनता आफैले लेखेको संविधानद्धारा निर्वाचित सरकारलाई हटाउने पनि कानुनत ब्यवस्था गरिएको छ । आफ्ना एजेण्डा जनताकै बीचमा लगेर जनताको मन जित्ने र निर्वाचनबाट सत्ताको नेतृत्व गर्ने बाटो खुल्ला छ । यस्तो अवस्थामा फेरी नेपाली जनतालाई डर, त्रास र आतंक किन फैलाईदैछ ?
सर्वसाधारणलाई आतंकित पार्न विभिन्न खालका बम तथा हातहतियारको प्रर्दशन गर्ने, चन्दा आतंकलाई तिब्र बनाउने, सुरक्षा निकायलाई अपहरणको प्रयास गर्ने र इन्काउन्टरको विज्ञप्ती निकालेर त्रसित पार्ने अभियानले जनताको पक्षमा राजनीति गरेको बुझिदैन । हिजोको द्धन्द्धको घाउमा खाटा समेत बसिसकेको छैन । अब फेरी के र कसका लागि युद्ध ? जनताले त्यसको हिसाव किताव नै विर्सिसकेका छन् । बस्न लागेको घाउको खाटा बल्झाउने गरी शुरु गरिएको हिंसात्मक आन्दोलन जनताको हितमा छैन । सरकारले पटक पटक वार्ता र संवादका लागि आब्हान गरेको छ । देशभरी झण्डै ६ सय भन्दा धेरै कार्यकर्ताहरु पक्राउ परेका छन् । केहिले स्वेच्छाले राजिनामा दिएका छन् । केहि आत्मसर्मपण गरिरहेका छन् । केहिलाई प्रहरीले निशाना बनाउँदै पक्राउको अभियान तिब्र बनाएको छ । यो स्थायी समाधानको बाटो हैन । स्थायी समाधान वार्ता र संवाद हो । अब पनि युद्धका नाममा चन्दा उठाउने, हतियार खरिद गर्ने, बेरोजगार युवाहरुलाई भर्ति गरेर राज्य विरुद्धको अभियानमा लगाउने कुरा नेपाली जनताका लागि क्षम्य हुँदैन । सरकार र विप्लब समुह दुबै जनता प्रति जिम्मेवार बन्दै स्थायी शान्ति र मुलुकको विकास तथा समृद्धीमा लाग्नु जरुरी छ ।
सरकारले पक्राउ गरेका नेताहरुको डायरी तथा अन्य तथ्याङ्कबाट पनि खुलेको छ कि उठाईएको चन्दाबाट बिस्फोटक पदार्थ तथा हातहतियार खरीद र सो सम्बन्धी तालिमका लागि खर्च गरिएको छ । सरकारले गतिविधि माथी प्रतिवन्ध लगाएको नेकपा माओवादी विप्लव समुहले चन्दा अभियानलाई तिब्र बनाएको छ । विप्लब समुहको विद्यालय, जनप्रतिनिधि, उद्योगी र ब्यवसायी चन्दाका प्रमुख श्रोत हुन् । प्रहरीले बरामद गरेको विप्लब माओवादीका नेताको डायरीमा २०७२ साल चैत्र महिना देखि २०७५ असार महिनासम्म ७ करोड ७६ लाख १४ हजार ४ सय ४४ आर्थिक संकलन गरेको तथ्याङ्क उल्लेख गरिएको छ । कुल संकलित रकम मध्येबाट ५ करोड ४१ लाख १८ लाख ४ सय ४४ खर्च गरेको तथ्य केन्द्रिय आर्थिक बिभाग ईन्चार्ज खड्ग बहादुर विश्वकर्माको डायरीमा उल्लेख गरिएको प्रकाण्डको प्रतिवेदनबाट देखिएको छ । प्रहरीले जिल्ला अदालतमा बुझाएको प्रतिवेदनमा उक्त विवरण उल्लेख गरिएको छ । २०७३ चैत्र देखि २०७५ असार महिनासम्म प्राबिधिक शिर्षक अन्तर्गत बिस्फोटक पदार्थ तथा हातहतियार खरीद र सो सम्बन्धी तालिमका लागि करीब ७८ लाख २४ हजार र पि एल ए जनसेवा तर्फ करीब ४१ लाख ३९ हजार ६० गरी सैन्य तर्फ कुल १ करोड १९ लाख ६३ हजार ६० रुपैया खर्च भएको तथ्य फेला परेको छ । यसले समग्र नेपाली जनता र मुलुकको हित गर्दैन । तसर्थ तत्काल दुबै पक्ष वार्ता र संवाद मार्फत दिगो शान्तिका लागि जुट्नु जरुरी छ ।





