2026 April 19/ 01:15: 38am

    बालबालिकाका माथी गिद्धे नजर लगाउने हावी हुन थालेका छन्। बालयौन दुरुपयोगको घटनामा संलग्न ब्यक्तिहरुलाई संरक्षण गर्ने वा स्थानीय स्तरमै मिलापत्र गर्ने गरेका घटनाहरु सार्वजनिक भएका छन्। बालिकाहरु घरबाटै असुरक्षित भएका घटनाहरु सार्वजनिक भएका बेला समाजका प्रर्वुद्ध ब्यक्तिहरुकै उपस्थितिमा फौजदारी अभियोगमा मिलापत्र भएको छ। यसले समाज अपराध नियन्त्रण गर्न भन्दा पनि अपराधलाई रकममा लेनदेन गर्छ भन्ने सन्देश गएको छ। जिल्लाको महाभारत गाउँपालिका गोकुलेमा शिक्षक र अहेवबाट घटाईएका उक्त घटनाहरुले सिङ्गो समाजलाई नै लज्जित बनाएको छ। प्रहरीले दर्ता गरेको अभियोगको मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। अपराध कर्ममा संलग्न ब्यक्तिहरुको मनोबल बढ्दा समाजमा अझै यस्ता घटनाले प्रश्रय पाउने सम्भावना बढेको छ। 
    गाडीमा यात्रा गरिरहेकी १३ बर्षीया बालिकालाई जवर्जस्ति करणीको प्रयास गरेका गोकुले स्वास्थ्य चौकी महाभारत गाउँपालिकाका अहेव मिलापत्र पछि प्रहरी कारवाहीमा परिदैन भन्ने कुरामा ढुक्क थिए र उनी मिलापत्र पछि गाउँपालिकाकै स्वास्थ्य चौकीमा कार्यरत थिए। जब बालिकालाई दिने भनेको १ लाख रकममा आनाकानी गरे तब उनी विरुद्ध जर्बजस्ति करणी गरेको भए पनि बाल यौन दुरुपयोग अभियोगमा मुद्दा दर्ता गरियो। बालिकालाई जर्बजस्ति करणी गर्ने प्रयासमा असफल भएका अहेव बुद्धिदास श्रेष्ठ घटना भएको २२ दिन पछि प्रहरी कार्यालयमा आफै हाजिर भएका थिए। स्थायी जागिरे अहेवले बालिकालाई जवर्जस्ति गर्ने प्रयास असफल भए पछि तत्काल १ लाख रुपैयाँ दिने भन्दै कागज गरेका थिए भने ५ लाख दिने शर्तमा कुरा नमिलेपछि प्रहरीले सूचना पाए लगत्तै उजुरी दर्ता भएको थियो। प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयलाई फौजदारी अभियोगमा मुद्दा दर्ता भएका बुद्धिदासलाई तत्काल निलम्बनका लागि पत्र पठाएको छ। उक्त पत्र अझै गाउँपालिका भने पुगेको छैन। 
    फौजदारी अभियोगका कुनैपनि घटनामा मिलापत्र गर्न मिल्दैन। बालिका करणी गम्भीर अपराध हो। तर गाउँकै अगुवा ब्यक्तिहरु करणी घटनालाई पैसामा मिलापत्र गर्छन्। शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले करणी घटनामा मिलापत्र गराएका छन्। शिक्षक मोहनदास श्रेष्ठ नाताले आफन्त पर्छन् अहेव बुद्धिदासका। प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल अन्तर्गतका सामुदायिक मेलमिलापकर्ताद्वय दिलदास श्रेष्ठ र सन्देश वाईवाले मिलापत्र गराए। पक्राउ परेका बुद्धिदासलाई मात्र हैन अपराध जोगाउन लाग्ने ब्यक्तिहरुलाई पनि कारवाहि गरिनु पर्छ। बालिकाले कारवाहीको माग गर्दा पैसामा मोलमोलाई गर्ने शिक्षक र मेलमिलापकर्ता अर्का अपराधी हुन्। प्रहरीले मिलापत्र गर्नेलाई कारवाही गर्ने सुरसार गरेको छैन। तत्काल दोषिहरु सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्छ। शुन्य सहिष्णुता कायम गर्ने हो भने तत्काल पक्राउ गरी कारवाहि गर।