पाठेघरको मुखको क्यान्सर संसारमा देखा पर्ने क्यान्सर मध्ये ज्यानै लिन सक्ने क्यान्सर रोग हो। लाखौं महिलाहरु प्रत्येक वर्ष विश्वमा पाठेघरको मुखको क्यान्सरबाट प्रभावित छन्। जसमध्ये ५० प्रतिशत महिलाको उक्त समस्याबाट मृत्यु भइरहेको छ। महिलामा देखापर्ने क्यान्सरमध्ये स्तन, आन्द«ा, फोक्सोपछि चौथौ नम्बरमा नै पाठेघरको क्यान्सर आउँछ । नेपालमा भने यो क्यान्सर पहिलो स्थानमा रहेको छ। विकसित देशहरुमा समयमा नै स्क्रिनिङ गरी क्यान्सर हुनु अगावै त्यसको व्यस्थापन गरिने हुँदा क्यान्सर हुने र उक्त रोगबाट हुने मृत्युदरमा निकै नै कमी आइसकेको छ। नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा अझै पनि जनचेतनाको कमीको कारणले धेरै स्क्रिनिङ विधिको उपलब्धता हुँदा हुँदै पनि पाठेघरको मुखको क्यान्सरको समयमा पत्ता नलाग्दा रोगको निदान हुन नसकी महिलाको मृत्यु हुने गरेको छ।
पाठेघरको मुखको क्यान्सर रोक्न विभिन्न स्वास्थ्य संस्थाहरुले जनचेतनामुलक कार्यक्रम र शिविर आयोजना गर्दै आएका छन्। विशेषगरी ग्रामिण भेगका महिलाहरुमा धेरैै देखिने यो समस्या समाधानका लागि महिलाहरुले गर्ने सरसफाई प्रमुख समस्या हो। सरफाईमा ध्यान दिन नसक्दा महिलाहरुलाई पाठेघरसँग सम्वन्धित विभिन्न रोगहरु तथा संक्रमण हुने गरेको छ। यो क्यान्सर हुनुका धेरै कारण छन्। जसमध्ये मुख्य कारण भनेको भाइरसको संक्रमण हो। सानै उमेरदेखि यौन सम्बन्धमा रहनु, धेरै जनासँग यौन सम्पर्कमा रहनु, धुमपान गर्नु, धेरै पटक गर्भवती हुनु आदि यस क्यान्सर जोखिमका कारक हुन्। पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरुमा अनियमित रुपमा योनीबाट रक्तश्राव हुनु, बढी मात्रामा योनीबाट फोहोर पानी बगिरहनु, महिनावारी रोकिइसकेपछि पनि बीच बीचमा रक्तश्राव हुनु, यौन सम्बन्धमा रहँदा बढी दुख्नु, कम्मर दुख्नु आदि हुन्।
स्कुल जाने प्रजनन उमेर नभएका बच्चालाई पनि पछि यस क्यान्सरबाट बचाउन खोपको प्रयोग गर्न सकिन्छ। बच्चालाई ९ देखि १३ वर्ष भित्र यौन सम्पर्कमा आउनु अगावै खोप लगाउनु पर्छ। प्रजनन उमेरका महिलालाई क्यान्सर भइसकेको भए तापनि पहिलो चरणमा नै पत्ता लगाउन सकियो भने क्यान्सरको पूरा उपचार गर्न सकिन्छ। स्क्रिनिङ लगायत उपचारका पद्धतिहरु नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुमा चलिरहेका छन्। प्रजनन उमेरका महिलाका लागि कार्यक्रहरुमा भीआइए टेस्ट, साइटोलोजी, एचपीभी टेस्टिङहरु सरकारी स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन्। पाठेघरको मुखको क्यान्सरको सही समयमा पहिचान र व्यवस्थापन गर्नको लागि सिंगल भिजिट एप्रोच कार्यक्रम शुरु गरिएको छ।
पाठेघरको क्यान्सरको समस्या र मृत्युदर बढिरहेको अवस्थामा क्यान्सरको समयमा नै पहिचान र व्यवस्थापन गरी रोग लाग्ने दर र यसबाट हुने मृत्युदर घटाउन आवश्यक छ। समयमै महिलाहरु आफू अग्रसर भई सामान्य जाँच भीआइए मात्र गरेको खण्डमा पनि पाठेघरको मुखको क्यान्सरबाट बँच्न र बचाउन सकिन्छ। नेपाल परिवार नियोजन संघले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुन नदिन र भईसकेका महिलाहरुको पहिचान गरी उपचार गर्न स्वास्थ्य क्याम्पहरु संचालन गरिरहेको छ। उपचारका लागि आएका महिलाहरुको पाठेघर परिक्षण गर्दा परालको त्यान्द्रो, हरियो घाँसका टुक्रा, कपालको गुजुल्टो, कपडाका टुक्राहरु लगायत फोहोर भेटिने गरेको छ। महिलाहरुले आफ्नो सरसफाईमा ध्यान दिन नसक्दा विभिन्न खालका संक्रमण देखा पर्नेछ। त्यसैले सरसफाईमा ध्यान दिनु जरुरी छ।





