2026 April 19/ 01:14: 08am

    नेपालको पहिलो सुरक्षित खानेपानी युक्त समुदायका रुपमा धुलिखेल नगरपालिका वडा नम्वर १ देवीटारको छाँगे समुदाय घोषित भएको छ । धुलिखेल नगरपालिकाकै अर्काे वडा नम्वर ११ को धिताल टोल पनि सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । नमुना योजनाले मुलुकले लिएको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई सहयोग पु¥याएको छ । सन् २०३० सम्ममा नेपाल मुलुकले सबै नागरिकलाई घरघर सुरक्षित खानेपानी पु¥याउने प्रतिवद्धता ब्यक्त गरेको छ । नेपालको संविधानले सुरक्षित खानेपानीको पहुँचलाई आधारभुत मानवअधिकार मानेको छ । दिगो विकासका लक्ष्यहरु अनुरुप सम्पूर्ण जनसंख्यालाई सुरक्षित खानेपानीको सेवा पु¥याउन एक घर एक धाराको नीति अवलम्वन गरेको छ । धुलिखेल नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले खानेपानी सम्मेलन आयोजना गरी त्यसको पहिचान समेत गरिसकेको छ । 
    नगरपालिकाले लिएको अभियान सफल बनाउन नगरपालिकासँग विभिन्न दातृ निकायहरुले साझेदार गरेका छन् । स्थानीय साझेदार सिविक फोरम, युनिसेफ, फिनल्याड सरकार लगायतले सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न सहयोग गरेका थिए । नेपालको पहिलो सुमदायका रुपमा घोषणा गरिएको उक्त समुदायमा सुरक्षित खानेपानी उपलब्ध भएको छ । खोला किनारबाट घण्टौ बोकेर खानेपानी खानुपर्ने बाध्यताको अन्त्य मात्रै भएको छैन सुरक्षित खानेपानीको उपलब्ध समेत भएको छ । धिताल टोलबासी र छाँगेबासीहरुले सुरक्षित खानेपानी पाउनु आधारभुत आवश्यकताको पहिलो अधिकार उपयोग हो । कुनै समुदाय सुरक्षित खानेपानी युक्त हुन सम्पूर्ण समुदायलाई सम्मिलित गरी सुरक्षित खानेपानीको योजना कार्यान्वयन गर्नुपर्छ । समुदाय खुल्ला दिसामुक्त भएको, खानेपानी संकलनका श्रोतहरु जनावर तथा मानिसको आवतजावत नहुने, सम्पूर्ण घरधुरीले सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको वा अन्य स्रोत भएपनि आवश्यक प्रशोधन गरिएको हुनुपर्छ । त्यस्तै सम्पूर्ण घरधुरी खानेपानीलाई सुरक्षित रुपमा भण्डारण गरेको हुनु पर्छ । ईकोली नामक जीवाणुको संक्रमण नभएको, आर्सेनिक र फ्लोराईड परिक्षण गरेर समुदाय आफैले गुणस्तर मापन गरेर सुरक्षित घोषणा गरे पश्चात तेश्रो बाह्य स्वतन्त्र निकायबाट प्रमाणित गर्नु पर्छ । विद्यमान नियम अनुसार मापदण्ड पुरा गरेपछि मात्रै नेपाल सरकारले सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न सक्नेछ । त्यहि मापदण्ड पुरा गरेकाले छाँगे समुदायलाई नेपालकै पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । 
    नेपालको संविधान २०७२ को धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने उल्लेख भएकाले संविधानको उक्त बुँदा कार्यान्वयन गर्ने उदेश्यले स्थानीय सरकारहरुले सुरक्षित खानेपानी युक्त बनाउने अभियानमा प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । स्थानीय तह भित्र भएका सम्पूर्ण खानेपानी आयोजना प्रणालीको अभिलेखीकरण नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल ब्यवस्थापन विभागले उपलब्ध गराएको ढाँचा अनुसार अद्यावधीक गर्न स्थानीय सरकार तयार भएका हुन् । तीन वर्षमा स्थानीय तह भित्रका सम्पूर्ण आयोजनाहरुमा सुरक्षित खानेपानी कार्यक्रम सम्पन्न गर्नु आवश्यक छ । सुरक्षित खानेपानी युक्त समुदाय घोषणाले स्थानीयहरुमा सरकार प्रति आशा जगाएको छ । धुलिखेल सरकारलाई नेपालकै पहिलो समुदायका रुपमा सुरक्षित खानेपानी उपलब्ध गराएकोमा धन्यवाद ।