2026 April 19/ 01:14: 10am

    २०७२ बैशाख १२ । नेपालीहरुका लागि कालो दिन । भुकम्पले तहस नहस पारेका संरचनाहरु अझै ठडिन सकेका छैनन् । भत्किएका, चर्किएका, भाँचिएका, मर्किएका, पुरिएका मनहरु विस्तारै तंग्रँदैछन् । पुराना संस्कृति बोकेका ऐतिहासिक संरचनाहरु निर्माण हुन सकेका छैनन् । आधुनिकतामा निर्माण हुन लागेका संरचनाले पुराना बस्तिहरु उजाड हुन थालेका छन् । समयमै निर्माण सम्पन्न हुनुपर्ने संरचनाहरु अझै निर्माण शुरु हुन सकेका छैनन् । निर्माण भएका भौतिक संरचनाहरु पनि भुकम्प प्रतिरोधी बन्न सकेका छैनन्। सरकारले दिने अनुदानका लागि मात्रै निर्माण भएका संरचनाहरु अब्यवहारिक र अपुरा छन् । स्थानीय स्तरको बस्तु स्थितिका आधारमा निर्माण हुनुपर्ने संरचनालाई भुकम्प पुनर्निर्माण प्राधिकरणका नाममा जारी गरिएका मोडलहरुले खुम्च्याएको छ । भुकम्प गएको चार वर्ष सम्म अझै बास्तविक भुकम्प पीडितहरुले राहत पाउन सकेका छैनन् । 
    भुकम्पका कारण जिल्लामा ३ सय ७२ जनाले ज्यान गुमाएका थिए । जसमध्ये ४९ जना जिल्ला बाहिरबाट बसोबास गर्नेहरु थिए । तत्कालिन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ३ सय ३४ जनाले मात्रै सरकारले उपलब्ध गराएको १ लाख रुपैयाँ किरिया खर्च प्राप्त गरेका थिए । मर्नेहरुमा महिला १ सय ३०, पुरुष ८०, बालक ४९, बालिका ५९ थिए । शनिबारको दिन भएकाले बालबालिकाहरु केहि खेल्न गएका थिए भने केहि घर भित्रै गर्मीको समय भएकाले आराम गरिरहेका थिए । खाना खाने समय भएकाले धेरै ब्यक्तिहरु घर भित्रै भएकाले धेरै क्षति भएको थियो । भुकम्पमा परी १४ हजार ८ सय ४३ जना घाईते भएका थिए । घाईतेहरु मध्ये अझै केहि अशक्त छन् । भुकम्प गएको एक वर्षसम्म २ सय जति घाईतेहरु विभिन्न अस्पतालमा उपचारार्थ थिए । विपद्का समयमा धुलिखेल अस्पतालमा मात्रै ८ सय २८ ले एक पटक उपचार पाए । शिर मेमोरियलमा ३ सय ५२, स्पाईनल इन्जुरी साँगा १ सय ५०, १४ वटा शिविर, १७ वटा उपस्वास्थ्य चौकीमा गरी १३ हजार ५ सय १३ जनाको उपचार भएको थियो । भुकम्पले विपद्मा जिल्लामा आईपर्ने समस्या र चुनौतीका बारेमा पाठ सिकाएको भए पनि त्यसपछिका ब्यवस्थापनमा अझै सरोकारवालाहरुको ध्यान जान सकेको छैन । 
    भुकम्पमा परी पुरिएकाहरु मध्ये २ सय ३७ जनाको जिवितै उद्दार गरिएका थियो । ४ सय ९६ वटा प्राणी उद्दार, ४ हजार ७६ जना विरामी उद्दार, २८ वटा अवरुद्ध सडक संचालन र ३१ वटा स्वास्थ्य केन्द्र संचालनमा आएका थिए । २०६८ सालको जनगणना भन्दा धेरै बढी भुकम्पमा क्षति भएको तथ्याङ्क सार्वजनिक भयो । भुकम्प पछि ८३ हजार २ सय २४ घर धुरीले सरकारले वितरण गरेको २५ हजार राहत बुझेका थिए । जनगणना २०६८ मा ८० हजार ७ सय २० घर धुरी कायम भएको थियो । २० हजार भन्दा धेरै घरहरु बस्न लायक थिए । पछिल्लो तथ्याङ्कले अझै केहि घरहरु थपिने छन् । अहिले जिल्लामा दोहोरो अनुदान लिनेहरुको विषयमा उजुरी परेको छ । केहिले रकम फिर्ता गरेका छन् । केहिले छानविन पछि रकम फिर्ता गर्ने बताएका छन् । निजी आवास निर्माणको काम ३७ प्रतिशत मात्रै सकिएको छ । 
    भुकम्पका कारण सरकारी भवन, सामुदायिक भवन, सहकारी भवन, गुम्बा, रेडक्रस भवन, लघु जलविद्युत, मन्दिर, दुध चिस्यान केन्द्र, सामुदायिक विद्यालय, स्वास्थ्य भवन, प्रहरी चौकी, कृषि, खानेपानी, सरसफाई, पुश सेवा केन्द, पशुपंक्षी लगायतका क्षेत्रमा क्षति पुगेको थियो । केहि क्षेत्रहरुको पुनर्निर्माण शुरु भए पनि अझै थुप्रै क्षेत्रमा निर्माण शुरु नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपालीहरुले उक्त दिनलाई कालो दिनका रुपमा सम्झिएका छन् । १९९० साल, २०४५ साल तथा २०७२ साल नेपालका लागि ठुलो भुकम्प र धेरै क्षति गराएका वर्षका रुपमा लिईन्छ ।