2026 April 19/ 01:14: 09am

    साविकको नेकपा एमालेले दशक अघि काभ्रेपलाञ्चोक जिल्लालाई एकीकृत विकास मार्फत बैकल्पिक राजधानीका रुपमा विकास गर्ने विशेष प्रस्ताव अधिबेशनबाट पारित गरेको थियो । जतिबेला हालका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा एमाले काभ्रेको अध्यक्ष पदमा निर्वाचित हुँदै थिए । एमाले काभ्रेले बोकेको एउटा सपना पूरा गर्न बास्कोटा अध्यक्ष हुँदै केन्द्रिय सदस्य सहित मन्त्री भएका छन् । जिल्लाको एकीकृत विकासले गति लिदै छ । प्रधानमन्त्री पछि दोश्रो धेरै मत ल्याई विजयी भएका मन्त्री बास्कोटाकै कार्यकालमा जिल्लामा ठुला लगानीका योजनाहरुले प्रवेश पाएका छन् । मन्त्रीसँगै धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष सहित अन्र्तराष्ट्रिय स्तरमा समेत उपाध्यक्ष निर्वाचित भएका छन् । बास्कोटा, ब्याञ्जु, एमालेका साविकका अध्यक्ष टोकबहादुर वाईवा सहितको टिमले तयार पारेको काभ्रे समृद्धि योजनालाई दुई तिहाईकोे संघ, प्रदेश र स्थानीय सरकारले साकार बनाउनु पर्ने दायित्व छ । 
    पछिल्लो समय जिल्लाको एकीकृत खानेपानीको कार्य अन्तिम चरणमा पुगेको छ । साविक धुलिखेल, बनेपा र पनौतीका नागरिकलाई गुणस्तरीय खानेपानी खुवाउने योजनालाई अन्तिम रुप दिन लाग्दा स्मार्ट शहर र ठुला परियोजना संचालन गर्न काभ्रे भ्याली निर्देशक समिति गठन भएको छ । पुर्वाधार निर्माणमा ९८ प्रतिशत काम सम्पन्न भएको एकीकृत खानेपानीको बाँकी कार्य अन्तिम चरणमा पुगेको छ । खानेपानीको कार्य सम्पन्न भए लगत्तै तीनवटा नगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यक कार्य प्रारम्भ गरिएको छ । संघीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाका तीन नगरमा एकीकृत विकासका लागि भएको प्रयास सार्थक बन्दै जान थालेको छ । एकीकृत विकाससँगै उप–महानगरपालिका गठनको पूर्व तयारी शुरु भएको छ । पछिल्लो समय स्मार्ट सिटीसँगै राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिकासँगै बेथाञ्चोक गाउँपालिकाको सबै सिमाना भित्र रहेका क्षेत्रमा रणनीतिक शहरी पूर्वाधार विकास योजना परियोजना संचालन गर्न काभ्रे भ्याली निर्देशक समिति गठन भएको छ । एकीकृत विकास मार्फत तीन नगरपालिका र एक गाउँपालिका समेतकोे सिमानालाई उप महानगरपालिकाको अभ्यासका रुपमा लिईएको छ । शहरी विकास तथा भवन निर्माण विभागको आर्थिक सहयोग तथा सहजिकरणमा धुलिखेल नगरपालिकामा आयोजित परिचयात्मक कार्यशाला गोष्ठीबाट नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु निर्देशक समितिको संयोजक चयन भएका छन् । निर्देशक समितिमा तीनवटा नगरपालिका र एउटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, प्रत्येक स्थानीय तहका दुई÷दुई जना वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघका प्रतिनिधि, गैसस प्रतिनिधि, होटल ब्यवसायी लगायतका क्षेत्रबाट प्रतिनिधित्व हुने छ । 
    निर्देशक समितिले काभ्रे भ्यालीको शहरी पूर्वाधार विकास योजना परियोजना संचालनमा आवश्यक तथ्यांक प्राप्तिमा समन्वय, सहजिकरण तथा निर्माणधिन र निर्माण गर्नु पर्ने पूर्वाधारहरुको सुचना उपलव्ध गराउने छ । त्यस्तै कार्यक्रमको नतिजा तथा उपलव्धीहरुको अनुमोदन र अन्य आवश्यक समन्वय तथा सहजीकरण गर्ने छ । काभ्रे भ्यालीलाई स्मार्ट बनाउने उदेश्यले ‘काभ्रे उपत्यकाको समृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ब्यापार र पूर्वाधार’ भन्ने भिजन राख्ने निर्णय भएको छ । स्मार्ट काभ्रे भ्यालीका लागि पनौतीको त्रिवेणीघाट देखि धुलिखेल श्रीखण्डपुर हुँदै बनेपाको शेरा र पाण्डे गाउँसम्मको करिव १६ किलोमिटर करिडोर बाटोलाई पक्कीकरण गर्ने निर्णय गरेको छ । साथै ट्रिटमेन्ट प्लान्ट सहितको फोहोरमैला ब्यवस्थापनका लागि तीनवटै नगरपालिकाको संयुक्त सहमतिमा उपयुक्त स्थानमा निर्माण गर्ने र नगरकोट टनचोक धुलिखेल नमोबुद्ध बल्थली नागिडाँडा गुर्दुम खानीडाँडा लाकुरी भन्ज्याङ्गलाई पर्यटकिय पूर्वाधार सहितको पदमार्ग निर्माण गर्ने निर्णय गरेको छ । काभ्रे भ्याली मार्फत गठन हुने दुई ठुला परियोजनाको छनौट र कार्यान्वयनसँगै काभ्रे भ्यालीमा रहेका तीन नगरपालिका र एउटा गाउँपालिकाको समृद्धिको यात्रा शुरु भएको छ ।