2026 April 19/ 01:14: 23am

    नयाँ वर्ष २०७६ साल नयाँ उमंग र जोश सहित भित्रिएको छ। २०७५ साल हरेक हिसाबले संक्रमणको ब्यवस्थापन, हावाहुरी लगायतका प्रकोपहरुको दोष र नयाँ कानून निर्माणको वर्षका रुपमा चिनिन पुग्यो। कर्मचारी समायोजन हुन नसक्दा स्थानीय सरकार तथा प्रदेश तहको बजेट कार्यान्वयन हुन सकेको छैन। समायोजन भएका कर्मचारीहरुका कारण स्थानीय सरकार खाली हुन पुगेको छ। विशेषगरी गाउँपालिकाका दुर्गम स्थानमा कर्मचारी समायोजन हुन सकेनन्। निजामती बाहेक स्वास्थ्य एवं अन्य प्राविधिक क्षेत्रका कर्मचारीहरुको समायोजन हुन नसक्दा मुलुकको राजनीतिक संक्रमण सकिए पनि कर्मचारी ब्यवस्थापन तथा अन्य क्षेत्रको संक्रमण हट्न सकेको छैन। 
    २०७५ साल निर्वाचन वर्षका रुपमा रह्यो। स्थानीय तहको निर्वाचन पटक पटक गरी सम्पन्न भयो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भयो। राष्ट्रिय सभाको निर्वाचन पछि गठन भएको सरकारले मुलुकको समृृद्धका लागि गति समात्यो। संविधानले ब्यवस्था गरे अनुसारका कानुन पहिल्यै निर्माण गरिसक्नु पर्ने थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसो गर्न सकेन। केवल उ सत्ता प्राप्तीका लागि निरन्तर लागि रह्यो। केपी ओली सरकारलाई हटाउँदै प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिएर ९ महिना पछि देउवा नेतृत्वको सरकार बनाउँदा पनि संविधानले ब्यवस्था गरे अनुसारको कानून निर्माण गर्न सकेको थिएन। ओली नेतृत्वको सरकारको प्रमुख उपलब्धी छोटो समयमा कानून निर्माणको कार्य सम्पन्न गर्नु होे। 
    अर्काे महत्वपूर्ण कार्य राष्ट्रिय गौरवका योजनाहरुको दीर्घकालीन ब्यवस्थापन शुरु भएको छ। रेल होेस् वा पानी जहाज। श्रमिकहरुको सेवा सुविधा होस् वा लगानी सम्मेलन। थुप्रै विषयमा सरकारले गति बढाएको छ। बर्षाै देखि रोकिएका अधुरा कार्य सम्पन्न गर्न भने सरकारले ध्यान दिन सकेको छैन। निर्वाचित जनप्रतिनिधिहरुले ऐन, कानुन र कर्मचारी अभावकै कारण जनताको आवश्यकता पूरा हुन सकेको छैन। आशा गरौं मुलुकलाई सम्वृद्ध बनाउने अभियानमा नयाँ सरकारले योजना सार्वजनिक भएको छ। सरकारका योजनाहरुलाई प्रदेश र स्थानीय सरकारले साथ दिनु पर्छ। संघ सरकारले निर्माण गर्ने कानुन तयार भए लगत्तै प्रदेश र स्थानीय सरकारले तयार गर्ने कानुनहरु निर्माण गरी मुलुकको विकासका लागि तीन तहकै सरकार कृयाशिल हुनु जरुरी छ। मुलुकमा नयाँ युगको उदय भएको छ। लाखौं युवाहरु विदेशिएका छन्। विदेशिएका युवाहरुलाई नेपाल फर्काउने अभियान वा कार्यक्रम तत्काल सरकारले सार्वजनिक गर्नुपर्छ। मुलुक भ्रष्टाचारको दलदलमा फसेको छ। सरकारको पहिलो काम भ्रष्टाचार रोक्नु हो। पार्टीको कार्यकर्ताका नाममा हुने संस्थागत भ्रष्टाचारको अन्त्य हुनु जरुरी छ। 
    खुशी नेपाली सम्वृद्ध नेपालको अभियानलाई सरकारले प्रत्येक पाईलामा अगाडी बढाउनु पर्छ। नयाँ वर्षले बेरोजगारको अन्त्य गर्दै नेपालीहरुले खोजेजस्तो सम्वृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीहरुलाई सद्बुद्धि प्रदान गरोस्। आम पाठक, विक्रेता, विज्ञापनदाता, शुभचिन्तक र समस्त नेपालीहरुमा नयाँ वर्ष २०७६ को शुभकामना ब्यक्त गर्दछौं।