2026 October 18/ 02:15: 03pm

    देशभर सहकारी सम्बन्धि देखिएका समस्या समाधान गर्न गठित संसदिय छानविन समितिले नेपालको सहकारीको इतिहास पनि खोतलिरहेको छ । इतिहास खोतल्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा विक्रम् सम्वत २ हजार सालमा सहकारीको स्थापना गर्ने बनेपाका राजदास बादे भएको पुष्टी गर्ने कागजात फेला पारेको छ । सरकारी तथ्यांकहरुले २०१३ सालमा चितवनमा खुलेको सहकारीलाई पहिलो मानेको छ । बनेपा नगरपालिका र काभ्रेपलाञ्चोक जिल्लाबाट इतिहास जोगाउन संस्थागत पहल हुन सकेको छैन । बनेपाका केहि ब्यक्तिहरु र काभ्रेपलाञ्चोक जिल्लामा लामो समय देखि सहकारी क्षेत्रमा निरन्तर सक्रिय ब्यक्तिहरुले गरेको प्रयास पनि सार्थक हुन सकेको थिएन । संसदीय समितिले शुरु गरेको खोज, अनुसन्धानले सार्थकता पाउँदा काभ्रेको बनेपामा सहकारी स्थापना गर्ने उद्गमस्थलका रुपमा चिनिएको छ । 
    चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्था स्थापना भई संचालनमा आएको संस्था नै नेपालको पहिलो सहकारी संस्था भएको उल्लेख छ । सरकारी तथ्यांकमा पहिलो पटक साहुहरुको ऋणबाट मुक्त हुन २ हजार सालमा पुर्व १ नम्वर बनेपामा बैंक र को–अपरेटिभ सेसाईटीका नाममा जनतालाई ऋण मुक्त गराउने अभियान सरकारले नै शुरु गरेको तथ्यहरु फेला परेका छन् । सहकारी सम्बन्धी अध्ययन गरिरहेको समितिले उक्त विषयमा थप सूचना र तथ्याङ्कहरु संकलन गरिरहेको छ । ‘त्यस बखतको नेपाल पुस्तक’को भाग २ मा (१९८६–१९९७) साल भाग ३ (१९९७–२००२ साल) मा काभ्रेपलाञ्चोक जिल्लामा तत्कालिन सरकारले को–अपरेटिभ संस्था खोलेको उल्लेख छ । बनेपामा ती संस्थाहरु खोल्नपर्ने अनेक कारणहरु मध्ये ठोस कारण थियो–बनेपाका अति लोकप्रिय राजदास बादे श्रेष्ठको सहयोगमा बनेपामा ऋषिदेखि कुटीर उद्योगको केन्द्र, यातायातको सुविधा, पूर्व पहाडको ढोका जस्तो र बनेपालीहरुको औद्योगिक मनोबृत्ति । नागरिकहरुलाई ऋण मुक्त गराउन सहकारीको सोच राख्ने त्यतिबेलाका नेताहरु बास्तवमै क्रान्तिकारी विचारका हुन् । 
    सहकारीलाई यतिखेर बदनाम गरिएको छ । सहकारीलाई ब्यवसाय बनाईएको छ । सहकारीलाई किनबेच गरिएको छ । दुःखी, श्रमिक, मजदुरहरुको खाई नखाई गरी जम्मा गरेको रकम सहकारीका नाममा अनियमित गरिएको छ । केहि सहकारीका संचालकहरु जेलमा छन् । तर पनि नागरिकहरुको मन र आत्मा खुशी हुन सकेको छैन । उनीहरु जेलमा बसे पनि रकम फिर्ता हुन सकेको छैन । बनेपामा तत्कालीन अवस्थामा खोलिएको सहकारी साहुहरुको ऋणबाट मुक्त गराउने उद्देश्यका साथ थियो । सरकारी तवरबाट रकम उपलब्ध गराईकन खोलिएको सहकारीले केहि वर्ष काम पनि गरेको थियो । नव गठित लाएण्ड भोर्गेज बंैक (साहुको ऋण चुक्ता गरी हलुका ब्याज लिने गरी जमीन साहुबाट निखनी किसानलाई फिर्ता दिने) र को अपरेटिभ सोसाईटी भन्ने नयाँ अड्डाका हाकिममा गोविन्दप्रसाद गोर्खाली, उनको मातहतमा श्री हरिबहादुर प्रधान, अजिरमान श्रेष्ठ, मुखियामा रामकृष्ण श्रेष्ठ, कारिन्दा हरिकृष्ण मल्ल र पालेहरु तुरुन्त नियुक्ति भएका थिए । विरगञ्जका भक्तबहादुर श्रेष्ठ बनेपामा खुलेको बैक र को–अपरेटिभ सोसाईटीका मेनेजेर थिए । खेतबारी बन्धकी राखी अति चर्काे ब्याजमा काढेका जनताको ऋण सरकारका तर्फबाट तिरी, साहुको हात परेका जमीन उनिहरुलाई फकाई दिने र कृषि, घरेलु इलमीलाई आवश्यक बीज अथवा औद्योगिक कोरा जिनिस सुपथ मोलमा किन्ने र उनिहरुले तयारी गरेको सामान उचित भाउमा बेच्ने प्रबन्ध मिलाई दिने यी संस्थाका मुख्य काम थिए । विक्रम् सम्वत् २ हजार सालमा गठित ती दुई संस्था २०१६ सालको भूमिसुधार ऐन भन्दा क्रान्तिकारी भएको उक्त पुस्तकको पृष्ठ संख्या २४२ मा उल्लेख गरिएको छ । सहकारी सम्बन्धि अध्ययन गर्न गठित समितिले सहकारीको यो इतिहासलाई पक्कै पनि पुर्नलेखन गर्नेछ ।