2026 April 19/ 10:46: 31am

    नेपाल सरकारले नेपाली नागरिकहरुका लागि धेरै परिचयपत्र कठिन भएको भन्दै नागरिकता समेतलाई परिमार्जन गर्ने गरी शुरु गरेको राष्ट्रिय परिचयपत्रका कारण नागरिकहरुले थप सास्ति ब्यहोर्न थालेका छन् । सरकारले अनुसन्धान तथा अन्य सूचनाका लागि सहयोगी बनाएको भए पनि राष्ट्रिय परिचयपत्र लगायतका विभिन्न कागजातहरु अनिवार्य गरे पछि नागरिकहरुलाई छिटो र छरितो सेवा भन्दा झन्झटिलो सेवाका रुपमा चिनिन थालेको छ । सरकारको ढिलासुस्तिका कारण हरेक नागरिकहरु यसबाट सेवा लिन भन्दा तर्कनु पर्ने परिस्थिति ब्यहोरिरहेका छन् । परिचयपत्रमा सहभागी भएकाहरुले पनि फोटो खिचाएको तीन वर्ष पुरा हुँदासम्म परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । नेपालमा प्रिन्ट गर्ने मेशिन नै छैन भने खिच्न चाँहि किन खिच्नु परेको ? सरकार नाजवाफ हुन्छ । कोहि कर्मचारीहरुलाई चित्त बुझाउन र कसैलाई कमिसनको प्रलोभनमा शुरु गरिएको जस्तो देखिने गरी नागरिकहरुलाई दुःख र हैरानी बाहेक अन्य केहि नहुने दोहोरो, तेहोरो परिचयपत्र बोकेर हिड्नु पर्ने कस्तो बाध्यता ? 
    काभ्रेपलाञ्चोक जिल्लाका २ लाख ७२ हजार ६ सय ८४ जनाले मंसीर मसान्तसम्म फोटो खिचाई सकेका छन् । तर परिचयपत्र प्राप्त भएका २ हजार ५ सय ३६ जनामध्ये ६ सय ८० जनाले मात्रै परिचयपत्र लगेका छन् । जिल्लामा पौने ४ लाख नागरिक छन् । एक त परिचयपत्रका लागि नागरिकहरुको रुची नै छैन । अर्काेतर्फ अनिवार्य गरिएका परिचयपत्र चार वर्ष वितिसक्दा समेत प्राप्त हुन सकेका छैनन् । २०७७ साल साउन देखि नेपाल सरकारले हरेक नागरिकहरुको विवरण संकलन गर्ने गरी फोटो सहितको परिचयपत्र अनिवार्य गरेको थियो । तर अहिलेसम्म सरकारले फोटो खिचेका नागरिकहरुको परिचयपत्र उपलब्ध गराउन सकेको छैन । काभ्रेपलाञ्चोक जिल्लाबाट अभियानका क्रममा २ लाख ८ हजारले फोटो खिचाएका थिए । प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने क्रममा वा सरकारले अनिवार्य गरे सँगै प्रशासन कार्यालयमा पुगेर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेहरुको संख्या ६४ हजार ६ सय ८४ छ । पुष मसान्तसम्म यो संख्यामा दुई हजार भन्दा धेरै थपिएको छ । जसमा महिला २८ हजार ५ सय ७१ र पुरुष ३६ हजार १ सय १३ छन् । परिचयत्र नम्वर राहदानीमा अनिवार्य गरिसँगै नागरिकहरुले त्यसका लागि समेत सास्ति ब्यहोरिरहेका छन् । एउटै ब्यक्तिका लागि शुरुमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, लाईसेन्स तथा अन्य आवश्यक प्रमाणपत्रहरु बोक्नु पर्ने गरी सरकारले बनाएका झन्झटिला नीतिहरुबाट नागरिकहरु अवाक्क भएका छन् । डेढ वर्ष देखि लाईसेन्सको नवीकरण गरेर कार्ड प्रिन्ट हुने सकेको छैन । नयाँ लाईसेन्स लिनेहरुले पनि रसिदका भरमा हिंडिरहेका छन् । एकदिन नविकरणका लागि ढिला हुँदा दोब्बर जरिवाना लिने सरकारले समयमै नागरिकहरुलाई परिचयपत्र उपलब्ध गराउन सकेको छैन । 
    राष्ट्रिय परिचयपत्र लिन आउन जिल्ला प्रशासन कार्यालय काभ्रेले पटक–पटक नागरिकहरुलाई  मोबाईल फोन मार्फत म्यासेज गरेको छ । २०७७ साउन देखि पौष मसान्त सम्म फोटो खिचाएका २५ सय ३६ जनाको प्राप्त परिचयपत्र मध्ये ६ सय ८० जनाले मात्रै लिएका छन् । कतिपय विदेशमा छन् । कतिपयको फोन नम्वर परिवर्तन भईसकेको छ । कतिपयको निधन भएको छ । कतिपय अन्यत्र बसोबास गरिरहेका कारण नागरिकहरु जिल्ला प्रशासन कार्यालय आउन सकेका छैनन् । नागरिकहरुले विवरण बदल्न चाहँदा ५ सय शुल्क तिर्नु पर्छ तर रिजेक्ट भएका नागरिकहरुको हकमा भने शुल्क तिर्नु पर्दैन । तर पनि नागरिकहरु सोध्छन् कहिले आउँछ राष्ट्रिय परिचयपत्र ??