2026 April 19/ 10:48: 05am

    राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाबाट लामो समय देखि नागरिकता विक्री वितरण हुँदै आएको खुलासा भए पनि कारवाहीको प्रकृया शुरु हुन सकेको थिएन । सुन तस्करीमा संलग्न विदेशी नागरिक पक्राउ परेसँगै काभ्रेपलाञ्चोक जिल्लाबाट हरेक वर्ष नागरिकता विक्री हुने गरेको तथ्य सार्वजनिक भएको थियो । त्यसअघि भएका छानविनलाई भने सरकारी निकायका उच्च पदस्थ कर्मचारीहरुले पन्छाउँदै आएका थिए । नागरिकता विक्री प्रकरणमा माथिल्लो निकायका ब्यक्तिहरुको संलग्नता हुने गरेको पुष्टी उक्त घटनाले पनि गरेको छ । राजनीतिक संरक्षणका आधारमा मात्रै गिरोहका सदस्यहरुले अपराधमा संलग्न गर्ने मनोबल बढाउने पुष्टी हुँदा सुन तस्करीमा पक्राउ परेकाहरुको नागरिकता नेपाली र त्यसमा पनि काभ्रेपलाञ्चोक जिल्लाबाट विक्री भएको पुष्टी भएको छ । पक्राउ परेकाहरुलाई हदैसम्मको कारवाही, संलग्नको खोजविन र फरार रहेकाहरुलाई तत्काल पक्राउ गर्ने कार्यमा नेपाल प्रहरीले फेरी पनि खुट्टा नकमाओस् । 
    नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालाको परिक्षण प्रतिवेदन अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका निमा तामाङ भन्ने ब्यक्तिको नेपालको राहदानी प्राप्त गर्ने प्रयोजनार्थ राहदानी विभागमा रहेको आंैठाछाप र बेल्जियमका राहदानीबाहक दावा छिरिङ्गको औंठाछाप मेल खानुले निमा तामाङ र दावा छिरिङ्ग दुई फरक ब्यक्ति नभई एकै ब्यक्ति भएको पुष्टि भएको साथै निजले झुठा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्राप्त गरेको कुरामा दुविधा रहेन भन्ने निश्कर्ष निकालेको थियो । अतः निजलाई नेपालको प्रचलित कानुन बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारवाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्बन्धमा समेत प्रचलित कानुन बमोजिम आवश्यक कारवाही अगाडी बढाउन उपयुक्त हुने देखिन्छ । साथै निमा तामाङ लगायतलाई नागरिकता उपलब्ध गराउने कार्यमा संलग्न कर्मचारीलाई कानून अनुसार र निमा तामाङलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । एकैदिन नागरिकता प्राप्त गरेका पासाङ तामाङलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न पनि समितिले निर्देशन दिएको छ । 
    नागरिकता जस्तो विषयमा गहिरो अनुसन्धान तथा छानविन नगरी पर्याप्त प्रमाण एवं अनुसुची १ रहेको वा नरहेको यकिन नगरी नागरिकता प्रदान गर्न सनाखत गर्ने नासु रामचन्द्र अर्याल, नागरिकता हस्ताक्षर गरिदिने तत्कालिन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेललाई आवश्यक कारवाहीका लागि निर्देशन दिएको छ । सोहि प्रतिवेदन कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रहरी कार्यालयलाई पत्र पठाएकी छिन् । उक्त प्रकरणका लागि गृह मन्त्रालयले उपसचिव स्तरीय छानविन समिति गठन गरेको थियो । प्रहरीले छानविन गरिरहेको उक्त घटनामा संलग्न नेपाली वा विदेशी सबैलाई हदैसम्मको कारवाही हुनुपर्छ । नागरिकता र राहादानी विक्री प्रकरणमा संलग्न हुने कर्मचारीहरुको मनोबल किन बढिरहेको छ ? सुन तस्करीमा संलग्न भएको अभियोगमा अनुसन्धान गरी पुर्पक्ष गरिएका मध्ये चार जनाले काभ्रेबाट नागरिकता खरिद गरेको बयान दिएका थिए । पाँच वर्ष अघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गरेको छानविनका क्रममा निमा लगायत ३ सय ५० जना विदेशी नागरिकले नागरिकता लिएको तथ्य सहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउँदा पनि उनिहरु माथी कारवाही भएको थिएन । कारवाही नभएकै कारण निमा लगायतका नागरिकहरुले नेपालबाट विभिन्न समयमा विभिन्न स्थानबाट नागरिकता, राहदानी बनाई अपराधका श्रृंखला शुरु गरेका थिए । यो श्रृंखला रोक्न पनि गहिरो अनुसन्धान आवश्यक छ ।