काभ्रेपलान्चोक जिल्लाबाट आर्थिक वर्षको चार महिनामा ३ हजार १ सय ५३ जनाले वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि श्रम स्वीकृति लिएका छन् । दैनिक रुपमा बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुको संख्या थपिएको छ । वैदेशिक रोजगारमा जाने ब्यक्तिहरुले सिक्नु पर्ने भाषा, सिप तथा अन्य कानूनी विषयका बारेमा सचेत नहुँदा ठगिनु पर्ने समस्याबाट गुज्रनु परेको छ । पछिल्लो चार महिनामा वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि ५ हजार ३ सय ३३ जनाले परामर्श लिएका छन । ३ हजार १ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् भने ६ हजार ६ सय ६४ जनाले राहदानी बनाएका छन् । विभिन्न मुलुकमा जाने चाहने ब्यक्तिहरुले अपनाउनु पर्ने कानूनी विषय, भाषा तथा सिपका बारेमा सचेत गराउँदै आएको भए पनि ब्यक्तिहरु त्यसमा जान अनिच्छुक छन् । वैदेशिक रोजगारमा गएर फर्किएकाहरु पुनः विदेश जान बाध्य हुने गरेका छन् । ठगिएका पनि छन् । ठगिका उजुरी धमाधम दर्ता भएका छन् ।
बैदेशिक रोजगार विभागमा कसुरदार पक्राउ गरी अनुसन्धान सहित कारवाहीको माग गरिएको निवेदन उपर तीन वर्षसम्म कारवाही हुन सकेको छैन । २०७७ चैत्र २४ गते काभ्रे लगायतका विभिन्न जिल्लाका युवाहरुले आफुहरु बैदेशिक रोजगारीका नममा ठगिएको ब्यहोराको प्रमाण सहितको उजुरी गरेका थिए । तृुल्सीरामको ठगी धन्दाबाट सयौ युवाहरु ठगिएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ठगी गर्ने ब्यक्ति उपर पक्राउ गर्न माग गर्दै निवेदन समेत दर्ता भएको थियो । बैदेशिक रोजगार विभागले समेत प्रहरीलाई पत्र लेख्दै अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्वर ६ घर भई काठमाडौमा डेरा गरी बस्ने तुल्सीराम भुषाललाई पक्राउका लागि अनुरोध गरेको थियो । विभागको पत्रका बारेमा समेत प्रहरीले ब्यक्ति फेला नपरेको जानकारी पठाएको भए पनि थप खोजविन र अनुसन्धान भएको छैन । तुल्सीरामले काभ्रेपलाञ्चोक जिल्लाका मात्रै नौ जना युवाहरुबाट ६ लाख ५२ हजार ठगी गरेका छन् । अन्य सयौ युवाहरुबाट रकम असुल्दै फरार भएका थिए । २०७८ साल भदौ १६ गते महानगरीय प्रहरी परिसर टेकु काठमाडौमा कार्यालयमा अर्काे जाहेरी पनि दर्ता भएको छ । नक्कली विज्ञापन प्रकाशन गरी दुबई स्थित कम्पनीमा रोजगारमा जानका लागि धमाधम वर्किङ्ग भिसा प्रकृया भई रहेको भन्दै युवाहरुलाई सम्र्पकमा ल्याएका थिए । सम्पर्कमा आएका युवाहरुलाई रोजगारमा जानेलाई सहजीकरण गरी दिए बापत लाग्ने शुल्क मात्रै लिने उद्देश्य भन्दै एक जना बापत ८० हजार लिने प्रस्ताव गरेका थिए । ८० हजार दिने युवाहरुलाई मात्रै विदेश पठाउने प्रकृया शुरु हुने भन्दै तुल्सीरामले कामका बारेमा ब्याख्या गरेका थिए । दैनिक ८ घण्टा काम, साताको ६ दिन खान र बस्न दिएर मासिक ६० हजार तलब पाउने लोभमा युवाहरुले तुल्सीरामले भने जस्तै रकम जम्मा गरेर बुझाए । रकम जम्मा गरेर भिसा ल्याउन सकेन र अलपत्र पारें भने रकम फिर्ता गरी कानूनी कारवाही भोग्छु भन्दै पनौती ९ का युद्धप्रसाद दाहाल, कविन्द्र थोकर, खड्गबहादुर थोकर, कृष्णबहादुर सिंतान, रामबहादुर थोकर, अनिल थोकर, कान्छालाल भोलोन, रेशमलाल सिंथान, अम्बर थोकर र शान्तबहादुर वाईवा समेतलाई प्रलोभनमा पारेर राहदानी लगेका थिए । सबै युवाहरुले ग्लोबल आईएमई बैंक मार्फत उसको खातामा रकम जम्मा गरिदिएका थिए । ठगिएका युवाहरुले पटक पटक न्यायको माग गरेका छन् । अहिले पनि अधिकांश युवाहरु बैदेशिक रोजगारमा नै छन् । तर पनि ठगहरुलाई राज्यका निकायले खोजविन गरी कारवाहीको दायरामा ल्याउने र पीडितहरुको पक्षमा न्याय दिने चासो दिएको छैन । बैदेशिक रोजगारबाट उत्पन्न समस्याले समाज र परिवारमा समेत विग्रह निम्त्याउन थालेको छ । राज्यका हरेक निकाय सक्रिय हुनु आवश्यक छ ।





