अरनिको र विपी राजमार्ग सँगै सहायक मार्गका रुपमा रहेको लाँकुरी भञ्ज्याङ–पनौती–नमोबुद्ध–रोशी कटुञ्जे मार्ग पछि रोशी–महाभारत–खानीखोला जोडने जनमुक्ति मार्ग ७५ किमी र बनेपा–पनौती–बेथान्चोकको ढुंखर्क–च्याम्राङबेशी–ललितपुरको सुकुमफेदी हुँदै मकवानपुरको झुरझुरे सडक ३८ किमी सहायक मार्गका रुपमा प्रस्तावित भएको छ । प्रस्तावित मार्गले जिल्लाको विकटतालाई सुगमता बनाउँदैछ । दशक अघि पैदल हिड्नु पर्ने अवस्थालाई अन्त्य गर्दै विकट पालिकाहरुमा सडक सञ्जाल जोडिने खुशीमा नागरिकहरुको आय आर्जन, स्थानीय स्तरमा रोजगार र समृद्धिको सपना पूरा हुने भएको छ । विशेषगरी संघीयताको महत्वपूर्ण उपलब्धी तल्लो तहको सरकारको निरन्तरको कृयाशीलता प्रमुख कारण हो । तीन तहकै सरकारले विकासलाई महत्वपूर्ण ठाने पनि तल्लो तहको सरकार यसको प्रमुख कारण हो । संघ र प्रदेश सरकारले राखेको प्राथमिकतामा स्थानीय सरकार समृद्ध हुने प्रयासमा छन् ।
महाभारत हुँदै खानीखोलाबाट मकवानपुरसम्म जोड्ने जनमुक्ति मार्गका धेरै स्थानमा ट्रयाक खोलिएको छ । त्यसको दिगोपना तथा चौडाई विस्तारसँगै राजमार्गका रुपमा प्रस्तावित सडकको द्रुत गतिको निर्माण आजको आवश्यकता हो । जनमुक्ति मार्गले विपी राजमार्ग देखि मदनभण्डारी राजमार्गलाई जोड्ने काम गर्छ भने बनेपाबाट शुरु भएको झुरझुरे सम्मको सडकले अरनिको राजमार्ग देखि मदन भण्डारी राजमार्ग जोड्छ । यी दुबै मार्ग नागरिकहरुलाई पहुँच पु¥याउन सहज हुनेछ । जनमुक्ति मार्गको पहिलो खण्ड तीनखुट्टे देवीटार सडक खण्ड, देवीटार घर्तीछाप गोकुले ताल्ढुगा भोर्लेनी झुरझुरे खण्ड (मदन भण्डारी राजमार्ग जोडिन्छ), विपी राजमार्ग देखि पिन्थली रजबास खण्ड र रजबास देवीटारसम्मको खण्ड रहेको छ । दुईवटा खण्डको कार्य प्रारम्भ भएसँगै थप दुई खण्डको बोलपत्र गर्ने मन्त्री युवराज दुलालले प्रतिबद्धता ब्यक्त गरेका छन् । अरनिको राजमार्गको निर्माणसँगै काभ्रेपलाञ्चोक जिल्लाको सुगमता, पहुँच तथा उपलब्ध स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार लगायतका सुचकांकहरुमा फड्को मारेको थियो । विकासको पहिलो सूचक सडकबाट पछि परेका जिल्लाका महाभारत, खानीखोला लगायतका पालिकाहरु त्यसबाट प्रभावित छन् । सडक पहुँच नभएका नागरिकहरु सडक निर्माण कार्यको प्रारम्भसँगै खुशी हुन थालेका छन् । उत्पादनलाई सहज बजार पु¥याउन सकिएको छ भने नागरिकहरु बिरामी हुँदा अस्पताल पु¥याउन सहज हुने भएको छ ।
डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा एकैदिन तीन आयोजना शिलान्यास भए । आधा दर्शन आयोजनाको निरीक्षण भयो । खानीखोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल, जनमुक्ति मार्गको देवीटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०+००० किमि देखि ९+३८० किमि देवीटार देखि गोकुले लवडाँडा सम्म कालोपत्रे सहित) र देवीटारमा रहेको वनखुखोला सडक पुलको शिलान्यास भएको छ । विकास निर्माणले गति लिएको महाभारत र खानीखोला गाउँपालिकामा निर्माण ब्यवसायीहरुको असहयोग र ढिलासुस्तिका कारण विनियोजित बजेट कार्यान्वयन हुन नसकेको मात्रै होईन नागरिकहरुले पनि सास्ति ब्यहोरेका छन् । बेथान्चोक गाउँपालिकाको ढुंखर्क–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–सालघारी–हुचिटार–अँघेरी–झुरझुरेसम्मको सडकलाई सहायक राजमार्गका रुपमा प्रस्तावित गरिएको छ । प्रदेशको राजधानी जोड्ने उक्त सडकलाई बैकल्पिक राजमार्गका रुपमा मन्त्रालयले प्रस्ताव गरेको छ । ‘अरनिको राजमार्ग देखि मदन भण्डारी राजमार्ग जोड्ने सडक बनेपा–पनौती–बेथान्चोक हुँदै मकवानपुरको झुरझुरे जोड्ने सडक प्रस्तावित बैकल्पिक राजमार्गका रुपमा राख्ने निर्णय भएको छ । बेथान्चोकबाट उक्त स्थानसम्म सडकको एकहोरो ट्रयाक खोलिसकिएको छ । प्रस्तावित मार्गले रोशी, महाभारत, खानीखोला, बेथान्चोक र छिमेकी जिल्लाका नागरिकहरु समेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।





