2026 April 19/ 10:48: 07am

    आफंैबाट रोकौ हिंसा । भाषण, नारा, अभियान, कार्यक्रम । कानून, ऐन, नियम, संविधान । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता । नेपालमा पनि तीन तहका सरकार । स्थानीय तहमा हुने न्यायिक समिति र त्यहाँ पर्ने उजुरी तथा उजुरी सम्बन्धी कार्यान्वयन । हरेक क्षेत्रमा हुने गरेका हिंसा न्यूनिकरणमा ब्यक्ति स्वयम् जुट्नु आवश्यक छ । सतर्क हुनु जरुरी छ । कानूनी निकायहरुले पनि त्यस्ता घटनालाई प्राथमिकतामा दिदै पीडकहरुलाई सजायँ, सचेत र सतर्क गराउनु आवश्यक छ । तबमात्रै लैङ्गिक हिंसा न्यूनिकरणका घटनामा कमी आउन सक्छ । लैङ्गिकतामा महिला धेरै पीडामा छन् । अहिले पनि अंश र बंशका नाममा, अधिकार दिनुपर्ने विषयमा दिने र लिने जस्तै गरी गरिएका ब्यवहार पनि हिंसालाई बढावा दिने खालका छन् । हिंसालाई तत्काल रोक्न आवाज उठाउनु आवश्यक छ । त्यसका लागि राजनीतिक संरक्षण कम गर्दै कानून कार्यान्वयन र उचित वातावरण महत्वपूर्ण विषय हो । 
    लैङ्गिक हिंसा विरुद्धको दिवस मनाईरहँदा १६ दिनको अभियानमा काभ्रेपलाञ्चोक जिल्लामा १२ वटा घटना भएका छन् । जसमध्ये ६ वटा घरेलु हिंसाका छन् । श्रीमान्बाट पीडित भएको उजुरी बोकेर ६ जना महिलाहरु प्रहरी कार्यालय आएका छन् । त्यस्तै जर्बजस्ति करणी सम्बन्धी ३ वटा घटना भए भने आत्महत्या सम्बन्धी तीनवटा घटना भएका छन् । १६ बर्षीय बालिका बलात्कृत भएकी छिन् । प्रहरीमा दर्ता नभएका मध्ये केहि घटनाहरु स्थानीय तहमा मिलापत्र भएका छन् । आत्महत्यामा पनि बृद्धि भएको छ । जिल्लाको पछिल्लो चुनौती भनेकै जर्बजस्ति करणी, उद्योग र आत्महत्या सम्बन्धी न्यूनिकरण हो । प्रहरी कार्यालय र अन्य संघ संस्थाहरुको समन्वयमा जिल्लाका विभिन्न स्थानमा लैङ्गिक हिंसा विरुद्धका सचेतना अभियान संचालन भए । पहिले पहिले अधिकांश घटना श्रीमान्हरुबाट मात्रै हुने गरेका थिए भने पछिल्ला दिनहरुमा श्रीमतीहरुबाट पनि श्रीमान् र घरका सदस्यहरु पीडित बन्नु परेको उजुरी पनि आउन थालेको छ । काभ्रेपलाञ्चोकमा ४९ वटा उजुरी श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीकोमा दर्ता भएका छन् भने श्रीमान्हरुले श्रीमतीसँगै सँगै बस्न नसकेको भन्दै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको छ । प्रहरीको तथ्याङ्कमा तीन वर्ष ५ महिनाको अवधीमा ७ सय १ वटा उजुरी दर्ता भएको देखिन्छ । त्यसमध्ये ६ सय ७६ वटा उजुरीमा मिलापत्र भएको छ । बाँकी २५ वटा उजुरी कार्यान्वयनको चरणमा रहेका छन् । 
    शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा र सामाजिक हिंसा, प्रथा+परम्पराजनित हिंसा छन् । हिंसाका कारण शारिरीक तथा स्वास्थ्य सम्बन्धी असर पर्नुका साथै घाउ तथा चोटपटक, स्त्रीजन्य समस्याहरु, गर्भ तुहिनु, अशक्तता, अस्वाभाविक व्यवहार, आफैलाई हानी हुने व्यवहार देखाउँछन् । डर, चिन्ता, कमजोर आत्मबल, हीनताबोध, अरुमाथि अविश्वास, आत्महत्याको सोच विकास हुने, डिप्रेसन तथा ट्रमा हुनेछ । आत्माहत्या, हत्या, मृत्युुुसम्म हुने गरेको छ । जिल्लामा पछिल्लो ४० महिनाको अवधीमा १ सय ४१ जना महिलाले आत्महत्या गरेका छन् । बालक ७ जना, बालिका १२ गरी १ सय ६० जनाले यो अवधीमा आत्महत्या गरे । आत्महत्यासँगै हरेक दिन ब्यक्तिहरु हराउने गरेका छन् । अझै २ जना जेष्ठ नागरिक फेला पर्न सकेका छैनन् । हराएका मध्ये २ महिलाले सुसाईड नोट लेखेर मरेको फेला परेको छ भने २ बालिका पनि अझै फेला परेका छैनन् । ४० महिनामा २ सय ५४ महिला हराएका छन् । २७ जना बालक, १ सय ३२ बालिका र १८ जना जेष्ठ नागरिक हराए । हिंसाका परेका ब्यक्तिहरुलाई तत्काल उपचार, पुनस्र्थापना र दीर्घकालीन रुपमा रोजगार तथा सीपमुलक तालिम उपलब्ध हुन नसके हिंसा न्यूनीकरणमा कमी नआउने सरोकारवालाहरुले बताएका छन् । प्रहरीले हराएका मध्ये १ सय ३० जनाको उद्दार गरेको बताएको छ । हिंसामा पर्ने थुप्रै कारणहरु मध्ये बेरोजगार पनि भएकाले राज्यका तीनै निकायको ध्यान त्यसतर्फ केन्द्रित हुनु जरुरी छ ।