नेकपा एमालेले शुरु गरेको महाकाली मेची अभियान शानदार रुपमा सकिएको छ । निरन्तरको यात्रामा जनताको लहर, कार्यकर्तामा भरिएको उत्साह र पार्टी नेतृत्वले गरेको अनुभूति मुलुक निर्माणको प्रमुख आधार हो । संसद्मा दोश्रो ठुलो दल, पटक–पटक सत्ताको नेतृत्व गरेको, अरुको नेतृत्वमा पनि सरकारमा सहभागि भएको नेकपा एमालेले मुलुक निर्माणमा भएका कमीकमजोरी, नागरिकहरुको चाहना र समृद्धिको आधार तल्लो तहमा पुगेरै खोज्ने हिम्मत गरेको छ । गठबन्धनका नाममा मुलुकलाई बन्धक बनाउने, आर्थिक रुपले धरासयी बनाउने, आयात खोलेर निर्यात गराउने मिसनमा लागेका सत्तासीन दलहरुका लागि नेकपा एमालेको अभियान एउटा धक्का बन्न पुगेको छ । यो पुँजीलाई नेकपा एमालेले आगामी दिनमा पार्टीका नीति तथा कार्यक्रमहरु मार्फत जनतामा स्थापित गराउँदै जानुपर्छ ।
यात्राका क्रममा पहिचानवादीका नाममा हुन थालेको अवरोध पनि जनताकै उत्साहले सफल हुन सकेन । मध्यपहाडी लोकमार्गको विशाल यात्रामा भेटिएका अनगिन्ती सुझाव नेकपा एमालेको इतिहासमा महत्वपूर्ण दस्तावेजका रुपमा रहन्छ । एमाले नेतृत्वको सरकारले शुरु गरेको उक्त सडकले मुलुक निर्माणमा कायापलट गर्नेछ । अझै केहि जिल्लामा उक्त सडकले ट्रयाक समेत खोल्न सकेको छैन । जसका कारण नियमित आवागमनमा उक्त सडक प्रयोगमा आउन सकेको छैन । काभ्रेपलाञ्चोक जिल्ला पनि मध्यपहाडी सडकबाट लाभान्वित भएको जिल्ला हो । जसका कारण जिल्लाको भुम्लु र चौरीदेउराली गाउँपालिका भित्र पक्की सडक, पक्की सडकको सहजता र त्यसबाट नागरिकहरुले प्राप्त गर्ने सुविधामा सहज भएको छ । तर पनि उक्त सडक निर्माणमा सत्तासिन दलहरुले प्राथमिकतामा पारेका छैनन । सत्ता बाहिर हुने वित्तिक्कै उक्त मार्गका लागि विनियोजन भएका रकमहरुको कटौतीले पनि मुलुक निर्माणमा एमाले बाहेक अन्य दलको चासो छैन भन्ने कुरा पुष्टी गर्छ । राम्रो कामको शुरुवात जुन दल वा सरकारले गरोस त्यसलाई निरन्तरता दिन सकेको भए सायद आज मुलुक हरेक क्षेत्रमा संकटमा पर्ने अवस्थामा जाँदैन थियो कि ?
एमाले अभियानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले किसानलाई भेटेको छ । कृषि वैज्ञानिक भेटेको छ । स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, युवा, कालिगढ, डाक्टर, व्यवसायी, मजदुर, उद्यमी लगायत सम्पूर्ण क्षेत्रका व्यक्ति र संस्थासँग छलफल गरेको छ । यो यात्रा यात्राको भोलिपल्टै सकिने यात्रा होइन, यसले मध्यपहाडी जीवनमा राजमार्गले ल्याएको परिवर्तन बुझ्न र जनजीवनलाई अझ सजिलो बनाउने उपाय खोज्छ । राणा शासन विरोधी संघर्षका योद्धाहरुको जन्मस्थान देखि सामाजिक क्रान्तिका अगुवाहरुको जन्मस्थान र उनिहरुको योगदानको समेत स्मरण भएको छ । त्यहि अभियानका क्रममा काभ्रेपलाञ्चोक जिल्लामा विशाल प्रर्दशन भएको छ । जिल्लाबासीहरुका तर्फबाट काभ्रेमा शुरु भएको विकासको मुहान बन्द गर्ने हर्कतका बारेमा खुलेर बहस भएको छ । मण्डनदेउपुर लगायत काभ्रेको समृद्धिको यात्राका अवरोधहरु हटाउन अभियानको टोलीलाई एमाले काभ्रेले अनुरोध गरेको छ । विकासको अवरोध, समृद्धिको अवरोध र नागरिकहरुको भविश्यलाई पछाडी धकेल्ने प्रयत्नको चिरफार समेत एमाले काभ्रेले प्रर्दशन मार्फत गरेको छ । यहि संसदबाट सकेको सम्बोधनका लागि दबाब दिने र आगामी निर्वाचनमा मुलुकभरबाट जनताको अभिमत अनुसार सत्ताको नेतृत्व गरेर मुलुक निर्माण गर्ने दायित्वका लागि एमालेले सम्पन्न गरेको अभियानले सन्देश दिएको छ । सन्देश कार्यान्वयन गर्ने अर्काे यात्रामा समेत ध्यान दिन भएको खबरदारीलाई मनन गर्नु जरुरी छ । अभियानबाट आत्तिएकाहरुलाई समेत संयम भएर मुलुक निर्माणको खाका प्रस्तुत गर्ने दायित्वमा एमालेलाई थप जिम्मेवारी प्राप्त भएको छ । अक्षरसः पालना गरी मुलुक निर्माणमा एमालेको शक्ति खर्च होस् शुभकामना ।





