2026 April 19/ 10:46: 33am

    सरकारले गठन गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० गुमनाम छ । किलोका किलो सुन अबैद्य ओसारपसार भईरहकै छ । कहिले पसलबाट, कहिले एयरपोर्टबाट त कहिले घरबाट सुन बरामद हुन थालेको छ । खुलेआम सहज रुपमा एयरपोर्टबाट सुन ल्याउने साहस कसरी प्राप्त भयो ? त्यो पनि विना तयारी ? विना झन्झट ? शक्ति केन्द्रहरुको मिलेमत्तोमा भएका यस्ता तस्करी कसरी भईरहेका छन् ? कसका आडमा भईरहेका छन् ? मुलुक खोक्रो बनाउँदै भएको अबैद्य सुन तस्करी प्रकरणमा किन सत्ता पक्ष मौन हुन्छ ? सत्ताकै नेताहरुको संलग्नताका कुरा किन आईरहन्छ ? विपक्षी दल नेकपा एमाले लगायतका राजनीतिक दलहरुले संसद अवरुद्ध गरी दबाबमा गठन गरेको आयोग के गर्दैछ ? गुमना आयोगले केहि जिल्लाको भ्रमण गरे पनि तथ्यमा पुग्ने साहस गरेको छैन । हरेक तस्करीमा कुनै न कुनै शक्ति केन्द्रको संलग्नता स्वभाविक छ । तर पनि आयोगले खुट्टा कमाउन थालेको आभाष नागरिकहरुले गर्न थालेका छन् । 
    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन पछि ८ वटा निर्णय भएका छन् । २२ जना विज्ञहरु र ४ वटा संघ संस्थाका प्रतिनिधिहरुसँग भेटभाट गरिएको छ । स्थलगत अध्ययन,अवलोकन तथा सुझाव लिने क्रममा भन्सार नाकाहरु र ती नाकासँग सम्बन्धित भन्सार कार्यालय, अध्यागमन कार्यालय, सुरक्षा निकाय, त्रिभुवन विमानस्थल स्थित अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, भन्सार कार्यालय, नेपाल एयरलाईन्स, नेपाल पारवहन तथा गोदाम ब्यवस्था कम्पनी लिमिटेड, सुरक्षा निकायहरुको स्थलगत अध्ययन एवं अवलोकन गर्ने कार्य सम्पन्न गरेको छ । यसअघि कार्तिक १६ गते सम्मको उजुरी गर्ने अवधीलाई बढाएर मंसिर मसान्तसम्म पु¥याएको छ । तर पनि नागरिकहरुले सहज रुपमा सूचना दिने, उजुरी गर्ने अवस्था छैन । त्यो सम्भव छैन । उजुरी आउला र अनुसन्धान गरौंला भन्ने भन्दा पनि आफै श्रोतसम्म पुगेर तथ्य पत्ता लगाउनु आयोगको चुनौती र दायित्व दुबै छ । सरकारले बनाउने हरेक आयोग भन्दा यो फरक छ । फरक भएकै कारण पनि यसको चुनौती धेरै छ । 
    आयोग गठन हुनु अघि विभिन्न स्थानबाट तस्करी भएका सुनका विषयमा अनुसन्धान गर्न आयोगले अधिकार पाएको छ । विदेशबाट इलेकट्रोनिक सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, साउन २ गते ब्रेकशुमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, भदौ २५ गते मलद्वारमा लुकाएर ल्याएको, दोलखामा विभिन्न माध्यमबाट सुन तस्करी गरी ल्याएको लगायत पटक पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाव, सूचना तथा जानकारी लिईरहेको छ । तस्करहरु प्रमाण नष्ट गराउन कृयाशिल छन् । सुनको अवैध पैठारी सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नु पर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यस अघि पटक–पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचनाका बारेमा पनि समितिले अध्ययन गर्ने छ । सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिने गरी कार्य योजना बनाएको छ । परिणाम नआउँदासम्म आयोगका बारेमा विश्वास गरिहाल्न सकिने अवस्था भने छैन । त्यसैले आयोगलाई तथ्य र सत्यमा पुग्नै चुनौती थपिएको छ ।