2026 April 19/ 10:48: 06am

    घर दैलोमा भेटिने गाउँका दरवार भाडामा छन् । भाडामा भएका दरबार अस्तब्यस्त छन् । नागरिकका घरलाई दरवार बनाउने सपथ खाएका स्थानीय सरकारका प्रतिनिधिहरु चुपचाप छन् । स्थानीय सरकार भएको करिव ७ वर्षसम्म स्थानीय तहका दरबार भाडा तिरिरहेका छन् । नागरिकहरुले आफ्नै घर बनाउन नसक्ने सिंहदरवार भनिएका गाउँका सरकारले आफ्नै घर बनाउन नसक्दा नागरिकहरुले समेत प्रश्न उठाउन थालेका छन् । गाउँगाउँमा सिंहदरबार बनाउने नारा सहित निर्वाचन भएको साँढे ६ वर्ष बितिसक्दा पनि जिल्लाका आधा स्थानीय तहहरु भने भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन । जनप्रतिनिधिहरुले ५ वर्षे कार्यकाल पूरा गरेर दोस्रो निर्वाचन सम्पन्न भएको पनि १८ महिना पूरा भइसकेको छ । तर पनि स्थानीय सरकारले त्यसको पहल गरिएको देखिएको छैन । 
    जिल्लाका १३ वटा पालिका मध्ये ६ वटाले अस्थायी प्रशासनिक भवनबाट सेवा दिए पनि दूई वटा पालिका भाडाको घरबाट सञ्चालन भएका छन् । विकट क्षेत्रमा पर्ने खानीखोला र बेथानचोक गाउँपालिकाले भाडाको घरबाट नागरिकलाई सेवा दिइरहेका छन । जिल्लाको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिका, चौरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अस्थायी रुपमा खडा गरिएका कार्यालयबाट सेवा दिइरहेका छन भने भुम्लु गाउँपालिकाले वडा कार्यालयको भवनबाट सेवा दिइरहेको छ । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले मात्रै आफ्नै स्थायी प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन । १३ स्थानीय तहका १ सय ३५ वडा मध्ये ११ वटा वडा कार्यालय अझैसम्म पनि भाडाका घरबाट सञ्चालनमा छन । राज्य पुनर्संरचनापछि ८२ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न÷निर्माणाधीन छन । ४२ वटा वडा कार्यालय भने साविकका भवनलाई व्यवस्थापन गरेर सेवा दिँदै आइरहेका छन । काभ्रेको विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन । खानीखोला पुग्न जति सकस छ भवन अभावले सेवा प्रवाह पनि त्यति नै कठिन बनेको छ । गाउँपालिकाले वर्षमा १० लाखभन्दा बढी भाडा तिरेर कार्यालय सञ्चालन भईरहेको छ । सामुदायिक भवनबाट केहि सेवा प्रवाह गरिरहे पनि सबै शाखाहरु भाडाकै घरबाट सञ्चालन भइरहेको छ । वडा नम्बर १, २, ६ र ७ को कार्यालय पनि भाडा तिरेर सञ्चालन भइरहेको छ । वडा नम्बर ३,४,र ५ मा भने नयाँ भवन निर्माण भइसकेको छ । भाडाको भवनबाट सेवा उपलब्ध गराउँदा नागरिकले ब्यहोर्नु पर्ने सास्ति ज्यादा छ । 
    महाभारतले भने पालिकाको अस्थायी भवन मार्फत सेवा दिएको छ । तर ब्यवस्थित छ । पालिकाको स्थायी भवन निर्माणको क्रममा छ । पालिकाका ८ वटै वडाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ । विकट भएर पनि महाभारत गाउँपालिका पूर्वाधार सम्पन्न हुँदै गएको छ । बेथानचोक गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै वडा कार्यालय भवन सुविधा सम्पन्न बनाईसक्दा पनि पालिकाको स्थायी प्रशासनिक भवनको भने अझै टुंगो लगाउन सकेको छैन । गाउँपालिका कार्यालय भाडाको घरबाट सञ्चालन भएको छ । पालिकाको स्थायी प्रशासनिक भवन निर्माणका लागि प्रकृयामै रहेको वर्षाै वितिसकेको छ । पालिकाको आफ्नै भवन नहुँदा वार्षिक ५ लाखभन्दा बढी घर भाडामा खर्च गर्दै आएको छ । तर पनि भवनको सुरसार हुन सकेको छैन । चौरीदेउराली गाउँपालिकाले पनि प्रशासनिक भवन निर्माण गरेको छैन । यसअघि निर्माण भएको भवनलाई व्यवस्थापन गरेर अस्थायी रुपमा कार्यालय सञ्चालन गरिएको छ । प्रशासनिक भवन सञ्चालनका लागि भाडा भने तिर्नु परेको छैन । केहि पालिकाका वडाहरु पनि भाडामा छन् । भाडाका घरलाई पक्की बनाउन तर्फ स्थानीय सरकारले चासो कम दिएका छन् । सडक पूर्वाधारलाई मात्रै महत्व दिएका पालिकाहरुले आफ्नै सेवा प्रवाहलाई महत्व कम दिएका छन् ।