करोडांैको कारोवार गर्ने संस्थाहरुमा मुनाफा हुँदैन? मुनाफा नै नहुने संस्थाहरु शानका साथ दर्जनौं कर्मचारीहरु राखेर कसरी काम गरिरहेका छन्? कार्यालयको डेकोरेसनमा मात्रै करोड भन्दा धेरै खर्च गर्ने वित्तिय संस्थाहरु घाटामै चलिरहेका होलान् त? चासोको विषय बन्न थालेको छ। करदाता सेवा कार्यालयबाट आन्तरिक राजश्व कार्यालय भए पछि धुलिखेलमा १० लाख भन्दा धेरै आय कर बुझाउने करदाताहरुको संख्या खोज्दै जाने क्रममा जिल्लामा रहेका थुप्रै संस्थाहरु आयकर बुझाउन नगएको पाईएको छ। यसले के पुष्टि गर्छ भने कि सबै संस्थाहरु नोक्सानीमा छन् कि उनिहरुले गरेको मुनाफा लुकाईरहेका छन्। आयकर सम्वन्धी ब्यवस्थालाई उनीहरुले किन आलटाल गरिरहेका छन्?
आन्तरिक राजश्व कार्यालय धुलिखेलको तथ्याङ्कले भन्छ –‘पहिलो किस्तामा सबैभन्दा धेरै आयकर बनेपा नगरपालिका १३ साँगामा रहेको रोयल काठमाडौ वेभरेज प्रालिले बुझाएको छ। प्रालिले पहिलो किस्ता मात्रै १ करोड १२ लाख बुझाएको छ। त्यस्तै स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड, बनेपा ५ ले ९१ लाख ११ हजार राजश्व बुझाएको छ। जिल्लाकै नमुना सामुदायिक अस्पताल धुलिखेलले पहिलो किस्ता बापत ८९ लाख रुपैयाँ आयकर बुझाएको छ । नेपालकै नमुना विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७६ लाख ८२ हजार रुपैयाँ पहिलो किस्ता बापतको आय कर बुझाएको छ।’ पौष मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने ५ लाख भन्दा माथी पहिलो किस्ताको आयकर बुझाउने करदाताहरु ९९ जना मात्रै छन्। आयकर तीन किस्तामा बुझाउन सकिने ब्यवस्था छ। पहिलो किस्ता आयकर बुझाउनेहरु करदाताहरुमा जति उत्साह हुनुपर्ने हो त्यति हुन सकेको छैन। आर्थिक वर्ष २०७५÷०७६ देखि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको कर हटाएको छ भने घर बहालकर स्थानीय तहमा तिर्नुपर्ने बनाएको छ। स्थानीय तहको आम्दानीको प्रमुख श्रोत मध्ये घर बहालकरलाई पनि राखेको छ। तर स्थानीय सरकारहरुले त्यसको असुली शुरु गरेका छैनन्।
कारोवारको हिसाबले काभ्रेपलाञ्चोक र अन्य बाँकी तीन जिल्लामा सहकारीका नाममा भएका कारोवारका हिसाबले आय कर बुझाउने करदाताहरुको सख्या न्यून हो। बनेपा र आसपासकै क्षेत्रमा रहेका दर्जनौं सहकारीहरुले बुझाएको आयकरको दर हेर्ने हो भने पनि सहकारी कर बुझाउन भन्दा छल्न उद्यत छन्। बार्षिक प्रतिवेदनका आधारमा मात्रै पनि थुप्रै सहकारी तथा वित्तिय क्षेत्रमा काम गर्ने करदाताहरुले पहिलो किस्ताको आयकरमा बुझाएको रकम न्युन छ। आन्तरिक राजश्व कार्यालयको पौष मसान्तसम्मको तथ्याङ्कमा ४० हजार ३ सय ४२ करदाताहरु समावेश भएका छन्। जसमध्ये भ्याटमा ४ हजार ९ सय ७५ करदाता छन् भने प्यानमा ३० हजार ५ सय ८९ करदाता समावेश भएका छन्। त्यस्तै ब्यक्तिगत करदाता ३ हजार ४ सय ८५ जना छन् भने अन्त शुल्कमा १ हजार १ सय ५२ जना रहेका छन् । शिक्षामा ९४ र स्वास्थ्यमा ४५ जना करदाता रहेका छन्। करदाताहरुले करमा होईन रहर र उत्साहमा कर बुझाउनु पर्छ। मुनाफा आर्जन गर्ने संस्थाहरुले स्वघोषित कर तिर्ने सुविधा उपयोग गर्नुपर्छ। कर छल्ने संस्थाहरुलाई कालो सूचीमा राखि कारवाही गर्नु पर्छ। केहि संस्थाको बदमासीले करमा करकर भएको देखिन्छ। किन लुकाउनु प¥यो आयकर ? आन्तरिक राजश्व कार्यालयलाई यस्ता संस्थाहरुका बारेमा अनुसन्धान गर्ने थप जिम्मेवारी थपिएको छ।





