काभ्रेपलाञ्चोकमा गाई प्रजाती तथा भैंसी लगायतका १ हजार ३ सय १५ वटा पशुको ज्यान लम्पी स्किनले लिएको छ । देशभर ५० हजार भन्दा धेरै पशुहरु मरेका छन् । जिल्लामा मात्रै २८ हजार ६ सय ५६ सक्रिय संक्रमित छन् । ४५ हजार ३ सय ६९ लाई खोप लगाईएको छ । भुम्लु गाउँपालिकामा एउटा पशुलाई पनि खोप लगाईएको छैन । केहि पालिकाले भने निःशुल्क भ्याक्सिन र औषधोउपचार गराएका छन् । तर कृषकहरुका मरेका पशुको राहत दिने विषयमा बीमा कम्पनी समेत पछि हच्कन थालेका छन् । राज्यले कृषकहरुका लागि उपलब्ध गराएको अनुदान बीमा बापतको रकम समेत कृषकले भुक्तानी पाउन सकेका छैनन् । यस्तो अवस्थामा कृषकहरुले मरेका पशुको राहत कहाँबाट पाउन सक्छन् ? पशुपालन र कृषिमा आत्मनिर्भर हुनु पर्ने अवस्थामा देशभरका कृषकहरुले भोग्नु परेका समस्यासँग सरकार किन भागिरहेको छ ?
एकातिर युवाहरु विदेश पलायन भएका छन् । अर्काेतिर ब्यवसायिक पशुपालनमा आएका समस्या समाधान गर्न राज्य तत्पर छैन । देशभर मरेका ५० हजार भन्दा धेरै पशुका सन्दर्भमा सरकार अविवेकी बन्यो, समयमा खोप र औषधी उपचार नभएका कारण लाखौ पशु संक्रमित बने । मरिसकेका पशुका कारण सडकमा पुग्न बाध्य भएका कृषकहरुलाई राहतका बारेमा सरकार चुँ समेत गर्दैन । कृषकहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई पठाएको ज्ञापनपत्रका सन्दर्भमा समेत सरकार अनुदार बन्यो । देशभरका कृषकहरुको आवाजमा सरकार निरीह बनेको छ । लाखौं कृषकहरु लम्पी स्किन रोगबाट पीडित बनिरहँदा सरकार अनुदार, लाचार र अविवेकी बनेको छ । लम्पी स्किन रोगका कारण पशुहरुको वंश विस्तारमा समेत संकट देखिएको छ । रोगबाट बचेका पशुहरुले पनि पहिलाकै अवस्थामा दुध र सन्तान उत्पादन गर्न नसक्ने पशु स्वास्थ्य चिकित्सकहरुको भनाई छ ।
जिल्लामा २०८० बैशाख महिनाबाट देखिएको लम्पी स्किन रोगबाट भदौको पहिलो सातासम्म १ हजार ३ सय १५ वटा पशु परेका छन् । जसमध्ये ९ सय ४० वटा गाई मरेका छन् भने १ सय ७५ वटा गोरु र २ सय वटा बाच्छा बाच्छी मरेका छन् । जनसंख्याका हिसाबले पनि जिल्लाको सबैभन्दा ठुलो बनेपा नगरपालिकामा सबैभन्दा धेरै पशु मरेका छन् भने सबैभन्दा कम महाभारतमा मरेका छन् । हावाका कारण फैलिएको उक्त रोग कृषकहरुले दुग्ध संकलन केन्द्रसम्म ल्याउने दुधको भाडा मार्फत गोठसम्म पुगेको थियो । स्थानीय सरकारले केहि राहत उपलब्ध गराउने निर्णय गरे पनि संघ र प्रदेश सरकारले यस विषयमा मुख खोल्न सकेको छैन । संघ सरकारका मन्त्री बेदुराम भुसालले कृषकहरुलाई लम्पी स्किनबाट मरेका पशुहरुको राहात दिन नसक्ने बताएका छन् । बीमा गरिएका पशुहरुको भुक्तानी हुन सकेको छैन भने थप बीमा शुरु हुन सकेको छैन । बीमा नविकरण नगरेका कारण सयौं पशुहरुको भुक्तानी दावी गर्न कृषकहरुलाई असहज भयो । खेती गर्ने बेला रासायनिक मल उपलब्ध नगराउने, उत्पादन भए पनि बजार मुल्य सहज नबनाउने अहिले पशुहरु भटाभट मरिरहँदा वेवास्ता गर्ने निकम्मा सरकारका कारण मुलुकबाट युवाहरु पलायन हुन बाध्य भएका छन् । सरकारले ब्यवसायीक रुपमा काम गरिरहेका युवा कृषकहरुका पक्षमा समेत जनमुखी कार्यक्रम ल्याउन सकेन । जसका कारण नेपालमा भविश्य नदेखेर युवाहरु विदेशिन बाध्य भएका छन् । तत्काल कृषकहरुका लागि राहत उपलब्ध गराउन सरकार पछि हट्नु हुँदैन ।





