जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणमा कडाई गर्न थालेसँगै बास्तविक नागरिकहरु विवरण अभावका कारण अलमलमा पर्न थालेका छन् । नागरिकता विधेयकले धेरै कुरा सम्बोधन गरेको भए पनि कानून बनिनसकेका कारण अझै त्यस्ता नागरिकहरुले नागरिकता पाउन सकेका छैनन् । धेरै पहिले जागिर खाने प्रयोजनमा नागरिकताको विवरण फरक पारेर नागरिकता लिने चलन कम हुँदै गए पनि अहिले फरक फरक खालको प्रयोजन देखाउँदै आफ्नै नागरिकताको विवरण सच्याउने, दोहोरो नागरिकता लिने र झुटो विवरण पेश गर्ने क्रम बढेको छ । झुटो विवरण पेश गरी नागरिकता लिनेहरुलाई कानूनले कैद र जरिवानाको ब्यवस्था गरेको छ । सिफारिस गर्ने देखि नागरिकता लिनेसम्मले झुटो विवरण पेश गरे पछि प्रशासनले दुबै पक्षलाई कारवाहीका लागि प्रहरीलाई अनुसन्धान सहित पठाउन थालेको छ । साउन महिनामा मात्रै प्रशासनले १० वटा नागरिकता सम्बन्धी मुद्दालाई अनुसन्धान गर्न प्रहरीलाई पठाएको छ । एक वर्षमा २३ वटा नागरिकता रद्द भएका छन् ।
नागरिकता विक्री गर्ने गिरोहले एक वर्षको अवधीमा ३ सय ५० वटा नागरिकताको अनुसुची गायब बनाउने गिरोहको अनुसन्धान जारी रहेका बेला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला दिनमा नागरिकता वितरणमा कडाई गर्न थालेको हो । तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले अनुसन्धान गरेर पत्ता लगाएका ३ सय ५० वटा नागरिकतामा सुन तस्करका नाईके दावा छिरिङ्ग भनिने निमा तामाङ लगायत छन् । नागरिकताको अनुसुची गायव पार्ने कर्मचारी उपर अझै कारवाही भएको छैन । नागरिकता लिँदा प्रयोग गरिएका नक्कली कागजात तयार बनाउने गिरोहका बारेमा पनि अनुसन्धान जारी छ । गृह मन्त्रालयले उप सचिव कृष्ण कटुवालको संयोजकत्वमा छानविन समिति गठन गरेको भए पनि अझै दावाको नागरिकता रद्द गरिएको छैन । दावा लगायत चिनियाँ मुलका ४ जनाको नागरिकता फेला परेको छ । उनिहरुको पनि रद्द गरिएको छैन ।
आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा २३ वटा नागरिकता रद्द भएका छन् । आर्थिक वर्ष अवधीमा प्रजिअ पाण्डेले ९ वटा नागरिकता रद्द गरेकी थिईन् । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले २०७९ माघ २५ देखि २०८० असार मसान्तसम्म १४ वटा नागरिकता रद्द गरेका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले साउन महिनामा रद्द गरिएका १० वटा नागरिकताको थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाएका छन् । नागरिकताको विवरण सच्याउने, थप्ने, हुँदै नभएको विवरण राख्ने, जिउँदा ब्यक्तिलाई मरेको बनाएर नागरिकता लिने, फरक फरक जन्म मिति राख्ने, नाम अलग अलग राख्ने प्रकृतिका दर्जनौ नागरिकताहरु रद्द गर्ने अभियान शुरु गरिएको छ । प्रशासनले कडाई गरेसँगै झुटो विवरण पेश गर्ने सचेत भए पनि कारवाहीमा अझै कडाई नहुँदा मनोबल बढिरहेको छ । राज्यले तोकेको कानून अनुसार कारवाही हुने हो भने यो क्रममा कमी हुने निश्चित छ । दावा लामा सहित ३ सय ५० जनाका बारेमा अझै छानविन सकिएको छैन । त्यसले पनि नागरिकताका लागि जे गर्दा पनि हुने रहेछ भन्ने सोच र अपराध गर्न साहस बढेको छ ।





