2026 April 19/ 10:48: 07am

केहि सेवा सहज र सरल हुँदा ब्यक्तिको स्वास्थ्यमा खतरा उत्पन्न हुने रहेछ । कानूनले गरेको असहज परिस्थितिको सहज सेवालाई पछिल्लो समय युवा पुस्ताले दुरुपयोग गरिरहेका छन् । परिवार नियोजनको अस्थायी सेवाका रुपमा गर्भपतन सेवालाई लिन थालेका युवा पुस्ताले भविश्यमा आईपर्ने स्वास्थ्य समस्याका बारेमा चिन्तित भएका छन् । विशेषज्ञहरुले कम उमेरमै पटक पटक गर्भपतन गराउनु भनेको भविश्यमा कुनै पनि खालका संकटलाई निम्ता दिनु बताएका छन् । तर पनि पछिल्लो पुस्ता सुरक्षित यौन सम्पर्क राख्ने र अनिच्छा भएका गर्भलाई मात्रै पतन गराउने भन्दा पनि सहज रुपमा सम्वन्ध राख्ने अनि जर्बजस्ति पतन गराउने अभियानमा सक्रिय भएका छन् । यस्तो परिस्थितिको उपज सहज रुपमा गर्भपतन गराउन पाउने कानूनी ब्यवस्थाका कारण हो । नीजि र सरकारी स्तरमा रहेका सेवा प्रदायक संस्थाहरुको तथ्याङ्कले युवा पुस्ताको डरलाग्दो गतिविधि देख्न सकिन्छ । 
    जिल्लामा तीन वर्षको अवधीमा ४ हजार १ सय ९० वटा गर्भ सुरक्षित रुपमा पतन गराएको रेकर्ड छ । तथ्याङ्कमा जिल्लामा २० वर्ष भन्दा कम उमेर समुहका ३ सय ३० जनाको गर्भपतन भएको छ । त्यसमा बालिकाहरुको संख्या पनि अत्याधिक छ । विद्यालय उमेरमा आफै विवाह गरेर गएका तथा आफुखुशी असुरक्षित सम्बन्ध राखेका बालिकाहरुले घर परिवारको जानकारी विना पटक पटक गर्भपतन गराउँदै आएका छन् । केहिले सुरक्षित रुपमा गर्भपतन गराएका छन् भने केहिले असुरक्षित रुपमा समय भन्दा धेरै अवधीमा पनि गर्भपतन गराउने गरेका छन् । त्यस्तो अवस्थामा समाज तथा आफन्तको डरका कारण धेरै रकम खर्च गरेर भए पनि गर्भपतन गराउन चाहने र त्यहि संकटमा नीजि संस्थाहरुले गर्भपतन गराईदिने गरेका छन् । त्यसरी गर्भपतन गराएका बालिकाहरुमा पछि समस्या हुन सक्ने चिकित्सकहरुको सुझाव भए पनि कार्यान्वयनमा ध्यान कसैको छैन । तथ्याङ्कमा नभएका गर्भहरु त्यतिकै संख्यामा पतन हुने गरेका छन् । विशेषगरी नीजि क्षेत्रबाट संचालन भएका केहि संस्थाहरुमा अबैद्यानिक रुपमा गर्भपतन हुने गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ३ सय १७ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् भने अघिल्लो आर्थिक वर्ष २०७८÷२०७९ मा १ हजार ६ सय १२ जनाले गर्भपतन गराए । यो तुलनामा पछिल्लो वर्ष गर्भपतन गराउनेहरुको संख्या ३ सयले कम हो । आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या १ हजार २ सय ६१ थियो । तीन वर्षको तुलनामा गर्भपतन गराउनेहरुको संख्यामा कमि नभई बृद्धि भएको हो । 
    जिल्लामा सबैभन्दा धेरै गर्भपतन शहरी क्षेत्रमा रहेका संस्थाहरुमा हुने गरेको छ । ग्रामिण भेगमा एकातिर सेवा छैन । अर्काेतिर जनशक्ति छै्रन । भएको जनशक्ति र सेवामा नागरिकहरु गोपनीयता भङ्ग हुने डरले शहरी क्षेत्रमा आउने गरेका छन् । बनेपामा रहेको सत्य साई अस्पतालमा एक वर्षमै २ सय ७२ जनाले गर्भपतन गराएका छन् । उक्त अस्पतालमा सोहि वर्षमा २० वर्ष भन्दा कम उमेर समुहका छैनन् । सत्यसाई पछि धेरै गर्भपतन धुलिखेलमा प्राथमिक स्वास्थ्य केन्द्रमा भएको छ । एक वर्षमा १ सय ७७ जनाले गर्भपतन गरेका छन् । जसमा ५ जना २० वर्ष भन्दा कम उमेर समुहका छन् । बनेपामा रहेको परिवार नियोजन संघमा पनि एक वर्षको अवधीमा १ सय ५० जनाले गर्भपनत गराएका छन् । जसमा ५ जना २० वर्ष भन्दा कम उमेर समुहका छन् । स्वास्थ्य संस्थामा २० वर्ष भन्दा कम उमेरमा तीन पटकसम्म गर्भपतन गराउन आउनेहरु पनि छन् । परिवार नियोजनका अस्थायी साधनहरु प्रयोग नगर्ने अनि गर्भ रहेको थाहा पाए लगत्तै आउनेहरुको संख्या पनि धेरै छ । सुरक्षित गर्भपतन गराउँदा पनि महिलाहरुको स्वास्थ्यमा समस्या देखिएको छ भने असुरक्षित गर्भपनत गराउनेहरुको झनै समस्या देखिने गरेको छ । सरोकारवालाहरुको चासो र चिन्ता भविश्यमा आई पर्ने स्वास्थ्य प्रति हुनु आवश्यक छ ।