2026 April 19/ 10:48: 05am

आर्थिक वर्ष अन्त्यका क्रममा प्रहरीले तयार गरेको अपराध अनुसन्धान सम्बन्धी तथ्याङ्कका आधारमा समाजमा अराजकता मौलाउँदै गएको देखाएको छ । प्रहरीको तथ्याङ्कका अनुसार मौलाउँदै गएको अपराध सँस्कृतिको अन्त्यका लागि प्रविधिमैत्री अनुसन्धान र जनशक्तिलाई प्राथमिकतामा राख्नु पर्ने निश्कर्ष छ । प्रविधिको विकास र प्रयोगसँगै अपराधमा देखिएका नयाँ घटनाक्रमले नागरिकहरुलाई थप शान्ति सुरक्षा प्रदान गर्न बदलिएको प्रविधि र प्रहरी जनशक्ति आवश्यक भएको देखाएको छ । हरेक वर्ष अपराधका घटनामा बृद्धि हुनु, मुद्दा दर्ता हुने क्रम बढ्नु र ब्यक्ति हत्या तथा आत्महत्या, जर्बजस्ति करणी र बलात्कार जस्ता घटनामा पारिवारीक संलग्नता देखिनु शान्ति सुरक्षाको अर्काे चुनौतीका रुपमा देखिएको छ । भएको जनशक्ति र प्रविधि अपराध अनुसन्धानका लागि पूर्ण छैनन् । आवश्यक जनशक्तिलाई पूर्ण तालिम र त्यसको प्रयोग तथा विश्वासिला माध्यम र विधिलाई अवलम्बन गर्नु अर्काे चुनौती हो । यति हुँदाहुँदै पनि उपलब्ध जनशक्ति र प्रविधिका आधारमा प्रहरीले नागरिकहरुलाई दिएको शान्ति सुरक्षाको प्रत्याभूति महत्वपूर्ण छ । यसको गरिमा र विश्वासलाई अझै बढाउँदै लैजानु पर्ने आवश्यकता त छ नै भएको विश्वास र गरिमालाई जोगाई राख्नु अर्काे चुनौती छ । 
    काभ्रेपलाञ्चोक जिल्लाको मात्रै तथ्याङ्क हेर्ने हो भने पनि तीन वर्षको अवधीमा १ हजार ४ सय ८ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ५ सय ३० वटा मुद्दा दर्ता गरेको प्रहरीले २०७८÷०७९ मा ४ सय ३६ थान मुद्दा दर्ता गरेको थियो भने २०७७÷०७८ मा ४ सय ४२ थान मुद्दा दर्ता गरेको थियो । आर्थिक वर्षको तुलनामा अघिल्लो वर्ष भन्दा पछिल्लो वर्ष ९४ थान मुद्दा थप भएका छन् । चेक अनादार तथा सहकारी सम्वन्धी मुद्दाको संख्या थपिँदा प्रहरीको तथ्याङ्कमा मुद्दा दर्ताको संख्या बढेको देखिएको छ । तथ्याङ्कका आधारमा केहि अपराध घटेका छन् । आत्महत्याको दर घटेको देखिएको छ भने बालविवाहका मुद्दा दर्ता भएका छैनन् । बोक्सीको आरोप, अपहरण तथा शरीर बन्धक, अहपरण तथा जर्बजस्तिकरणी लगायतका घटना यो वर्ष भएनन् । ३९ प्रकृतिका अपराधका शिर्षकमा दर्ता भएका मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीले दर्ता भएका मुद्दाहरुका बारेमा अनुसन्धान गरिरहेको छ । आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न प्रकृतिका ५ सय ३० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये २ सय ९२ वटा फछ्र्याैट भएका छन् भने २ सय ३८ वटा चालु वर्षका लागि जिम्मेवारी सरेका छन् । 
    प्रहरीले फरार अपराधी पक्राउ गर्न प्रहरी निरिक्षककै नेतृत्वमा टोली खटाएको छ । आर्थिक वर्ष २०७९÷०८० मा प्रहरीले मात्रै १ सय ५६ जना फरार अपराधी पक्राउ गरेको छ । दुई वर्षको अवधीमा प्रहरीले ५ सय २५ जना फरार अपराधीहरु पक्राउ गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा ८५ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७/०७९ मा झुण्डिएर ९३ जना र विष सेवनबाट ४२ जना र हाम फालेर १ जना गरी १ सय ३८ जनाले ज्यान गुमाएका थिए । तीन वर्षको तुलनामा क्रमशः आत्महत्या गर्नेको संख्या कम भए पनि भुम्लुमा १० वर्षका र बनेपा १२ महेन्द्रज्योती बाँस्डोलमा १२ वर्षिय बालकले आत्महत्या गरेका छन् । यो संख्यामा न्यूनीकरण गर्नु प्रहरी र समुदायको चुनौतीको विषय बनेको छ । फस्टाउँदै गएको अराजकतालाई न्यूनीकरण गर्न प्रहरीले देखाएको सक्रियतालाई तीन तहकै सरकार र समुदायको सक्रियता आवश्यक छ ।