नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक घटनाक्रममा बाहेक अन्य समयमा पनि नियमित ब्यक्तिहरु बेपत्ता हुने क्रम रोकिएको छैन । राजनीतिक आन्दोलनका समयमा राजनीतिक दलहरुले उदेश्य प्राप्तिका लागि प्रयोग हुने नागरिकहरु लामो समयसम्म बेपत्ता भएका इतिहास छन् । तर आन्दोलन बाहेकका घटना वा ब्यक्तिका निहित स्वार्थ पुरा नहुँदा, लहै लहैमा अर्थात होडबाजीका क्रममा बेपत्ता हुने क्रम पनि छ । पहिले पहिले रोजगारका लागि छिमेकी देश भारत पुग्ने र उतै लामो समयसम्म बस्ने क्रम अहिले कम भएको छ । अहिले घरबाट निस्कने तर नफर्कने गरी हराउने अर्थात बेपत्ता हुन रोजगारका लागि भन्दा पनि पारिवारीक वा ब्यक्तिगत समस्या प्रमुख कारण देखिएको छ । यस्तो अवस्थामा परिवारले उपलब्ध गराउनु पर्ने माया ममताको जरुरत पर्छ । सशस्त्र द्वन्द्वका क्रममा भएका बेपत्ताहरुको पनि कानून अनुसार मृत्यु घोषणा हुन थालेको छ । सरकारले बेपत्ता नागरिकको खोजविनका लागि गठन गरिएका आयोगका पदाधिकारीहरुले सरकारी तलब खाएर बस्ने बाहेक अन्यत्र केहि काम गरेका छैनन । यता परिवारका सदस्यहरुका आफ्नै समस्या छन् । बेपत्ता भएर मृत्यु घोषणा गरेका ब्यक्तिहरु पनि फर्कन थालेका छन् । नागरिकहरुले समयमै सहि सूचना उपलब्ध नगराउँदा आफ्नै परिवारका सदस्यहरु बेसहारा बनेका छन् ।
जिल्ला अदालतले मृत्यु घोषणा गरेका तीनजना नागरिक पछिल्लो समय फेला परेका छन् । मृत्यु घोषणा नहुँदासम्म परिवार र आफन्तको सम्पर्कमा समेत नआउने अनि मृत्यु घोषणा भएको थाहा पाए लगत्तै आईपुग्ने गरेका घटना देखिन थालेका छन् । सम्पतिका लागि भए पनि ४० वर्षसम्म बेपत्ता भएका ब्यक्तिहरु पनि फर्कन थालेका छन् । त्यतिबेलासम्म उनिहरुले परिवार प्रति निभाउनु पर्ने दायित्व समेत विर्सिएका छन् । नमोबुद्ध नगरपालिका वडा नम्वर ८ मा त्यस्तै घटना भएको छ । ३६ वर्ष अर्थात २०४३ साल मंसिर १६ गते देखि बेपत्ता भए पछि अदालतबाट न्यायिक मृत्यु घोषणा गरिएका नमोबुद्ध नगरपालिका वडा नम्वर ८ का ६४ वर्षिय रामबहादुर सार्की एक वर्ष पछि टुप्लुक्क देखा परेका छन् । ३६ वर्ष देखि निरन्तर सम्पर्क विहिन रहेका रामबहादुर सार्की एक्कासी घर फर्किए पछि आफन्तहरु नै चकित भएका थिए । लामो समयसम्म बेपत्ता भए पछि कानून अनुसार नै उहाँको अदालतबाट न्यायिक मृत्यु घोषणा गरिएको थियो । मृत्यु घोषणा गरेको एक वर्ष पछि उनि फर्किए । कानून र ब्यवहार अनुसार फेरी न्यायिक मृत्यु बदर गरिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०८० बैशाख ३१ गते रामबहादुर सार्कीको न्यायीक मृत्यु घोषणा बदर गरेको थियो । ६४ बर्षिय रामबहादुर ३६ वर्ष पछि स्वदेश फर्किएका भए पनि पुनः छिमेकी देश भारतको कलकत्ता फर्किएका छन् । रामबहादुर श्रीमती मिठु सर्किनी अस्पतालमा छट्टपटाउँदा समेत कहिल्यै सम्पर्कमा आएनन् । बाबु आमाको निधनमा समेत किरिया गर्न आएनन् । आफु जानु अघि जन्मिएकी उनकी एक्ली छोरीको पनि रेखदेख कहिल्यै गरेनन् । घर परिवार र आफन्तको समेत सम्पर्कमा नआएका रामबहादुरले कलकत्तामा काम गरेको रकम पनि घरमा पठाएनन् । बाबु आमाको उपचारमा लागेको ऋण पनि भाई सानुकान्छा सार्कीले तिर्न सकेका थिएनन् । भाउजुको उपचारमा लागेको खर्च पनि तिर्न सकेका थिएनन् । छोरी कल्पना नेपालीको लालनपालन र विवाह गर्ने कुरा पनि उनकै थाप्लोमा थियो । बुबाबाट अंश पनि लिएका थिएनन् । बुबा आमाकै निधन भए पछि उहाँको नाममा भएको थोरै जमिन आफ्नो नाममा ल्याउने प्रकृयाका लागि उनले ३६ वर्ष देखि वेपत्ता भएका दाजुको कानून अनुसार न्यायीक मृत्यु घोषणाका लागि वडा कार्यालय मार्फत जिल्ला अदालतमा भाई सानुकान्छा र छोरी कल्पनाले निवेदन दिएका थिए । मृत्यु घोषणा भएका रामबहादुर सार्कीलाई घर फर्काउने अभियानमा अर्काे एउटा समुह सक्रिय भएको थियो ।
आफ्नो दायित्वबाट विमुख तर अधिकारका लागि टुप्लुक्क आईपुग्ने रामबहादुर जस्ता ब्यक्तिहरुका लागि परिवार र आफन्तले पनि दायित्व सम्झाउनु आवश्यक छ । आफ्नो नममा जमिन राखेर उतै फर्किएका रामबहादुरको मानवता हराएको कि ? उनलाई फर्काएर ल्याउनेहरुको ? परिवारका सदस्य फर्कनु आफैमा राम्रो भए पनि सुखका लागि भन्दा दुःख दिने नियतले कसलाई राम्रो गर्ला र ?





