नेपालको न्याय महङ्गो हुँदै गएको छ । ‘सानालाई ऐन ठुलालाई चैन’ भन्ने उखान सर्वत्र चरितार्थ भएको छ । सरकारले छानविन गरेर कारवाहीका लागि तयार गरेका कयांै घटनाहरुमा त्यस्तै देखिएको छ । प्रहरीले राजनीतिक दल र दलका नेताहरुलाई अनुसन्धान गर्न हिच्किचाउने र पक्राउ गर्न पनि आलटाल गर्ने प्रवृत्ति देखाएको छ । काभ्रेपलाञ्चोक जिल्लाका केहि घटनामा प्रहरीले अनुसन्धानमा देखाएको उदासिनता र अपराधीहरु पक्राउ नपर्ने घटनाले प्रहरी प्रति नागरिकको शंका र अविश्वास जन्माएको छ । पाँचखाल नगरपालिका पलाञ्चोकको चोरी घटना, जेष्ठ दम्पती हत्या, कानपुरमा जेष्ठ नागरिकको हत्या, बनेपामा देखिएका केहि वेवारिशे शवको पहिचान जस्ता चर्चित घटनामा प्रहरीले अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउन सकेको छैन । अहिले भुम्लु १ सापिङ्गको घटनामा पनि प्रहरीले पीडितहरुलाई न्याय दिन सकेको छैन । अस्पतालमा शव राखेर पीडितहरुले न्यायको भिख मागिरहेका छन् । प्रहरी भन्छ अनुसन्धान जारी छ ।
भुम्लु १ सापिङ्ग उर्लेनीका ६८ बर्षीय ठडेन्द्रप्रसाद पन्तको शबको पोस्टमार्टममा आनाकानी भएको लामो समय भयो । आत्महत्याको सात दिन पछि जाहेरी लिएको प्रहरीले अभियुक्तहरुलाई पक्राउ पुर्जी लिएको छैन । शवको पोस्टमार्टम नहुँदा परिवारले नुन समेत खाएका थिएनन् । आत्महत्या वा हत्या के हो ? अनुसन्धानका लागि जाहेरी दिए पनि प्रहरी त्यसका लागि तयार भएन । छोरा शेरबहादुर पन्त राजनीतिक दबाबका कारण न्याय पाउन नसकेको बताउँदै प्रहरी कार्यालय परिसरमा भौतारिरहनु भएको छ । पहिले प्रहरीले जाहेरी लिएन । जाहेरी लियो अभियुक्तहरुलाई पक्राउ गरेन । अहिले पोस्टमार्टम गर्न पैसा छैन । बाबुको जुठो बार्नु पर्ने भएकाले नुन पनि नखाएको आफन्तको पीडामा प्रहरीले मल्हम लगाउन सकेको छैन । प्रहरी मेरो साथी भन्ने नारामा मात्रै सिमित भएको पीडितहरुलाई झन पीडा प्रहरीले दिएको उनिहरुको बुझाई छ । जाहेरी लिए पछि प्रहरीले किन ब्यक्ति पक्राउ गरेर अनुसन्धान गरेन ? त्यहि जाहेरी सर्वसाधारणका हकमा भए प्रहरी चुप लागेर बस्थ्यो होला ? प्रधानमन्त्री, गृहमन्त्री र पालिका अध्यक्ष सहितको पार्टीका नेता वडा अध्यक्ष जोडिएको घटनामा प्रहरीलाई अनुसन्धान नै गर्न यत्रो कठिन किन ? जाहेरी दर्ता हुँदैमा ब्यक्ति दोषि हुन सक्दैन । तर अनुसन्धान गर्न त प्रहरीले झुलाउने कुरा न्याय र प्राकृतिक सिद्धान्तका आधारमा क्षम्य हुने कुरा होईन ।
भुम्लु १ सापिङ्गका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले २०८० असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सिको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेकै पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुण्डिएको अवस्थामा ठडेन्द्रको शव फेला परेको थियो । वडा अध्यक्ष र सदस्यको धम्की पछि आत्महत्या गरेका भुम्लु १ सापिङ्ग उर्लेनीका ठडेन्द्रप्रसाद पन्तका छोरा र भतिजाले दिएको आत्महत्या दुरुत्सहान गर्न बाध्य बनाएको अभियोगको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले २०८० असार १८ गते दिउँसो दर्ता गरेको थियो । असार ९ गते साँझ घरबाट निस्किएका पन्तको शव असार १० गते विहान झुण्डिएको अवस्थामा फेला परेको थियो । विवाद जे भए पनि उनले आत्महत्या गर्न बाध्य पार्ने वा हत्या नै पो हो कि ? भन्ने परिवारको आंशका प्रहरीको निष्पक्ष छानविनबाट मात्रै सम्भव छ । त्यसकारण पनि प्रहरीले न्यायलाई लम्ब्याउन खोज्नु न्याय नदिनु सरह हो भन्ने उक्तिलाई आत्मसात गर्दै प्रहरीले सत्यतथ्य छानविन गर्न ढिलाई नगरोस् ।





