2026 April 19/ 10:46: 29am

    पछिल्लो समय सहकारीहरुप्रतिको विश्वास खस्कँदै गएको छ । शहरी क्षेत्रका सहकारीहरुले बचतकर्ताहरुबाट विश्वास गुमाउँदै जाँदा ग्रामीण भेग अर्थात सामुहिक र समुदाय क्षेत्रबाट संचालित सहकारीहरुले अझै विश्वास बढाएका छन् । ब्यक्तिगत र पारिवारीक रुपमा संचालन भएका सहकारीहरुले बचतकर्ताहरुको बचत जोखिममा मात्रै पारेका छैनन् ऋण लगानीमा समेत चर्काे ब्याज असुलेका छन् । सहकारी आफै मिटरब्याजीका रुपमा चिनिएका छन् । यस्तो अवस्था रोक्न संघ, प्रदेश र स्थानीय सरकारको सक्रियता पर्याप्त छैन र देखिदैन । जसले सहकारीका नाममा रकम असुल ग¥यो, उहि बचतकर्ताहरु विरुद्ध मुद्दा लिएर जान थालेका छन् । ऋण लिनेहरुले तिर्ने परिस्थिति बन्न सकेको छैन । बचत फिर्ता लिने, लिएको ऋण नतिर्ने अवस्था कम गर्ने अवस्था श्रृजना गर्नतर्फ सहकारी सक्रिय हुन सकेनन् भने सहकारी आन्दोलन संकटतर्फ उन्मुख हुन सक्छ । समयमै त्यसतर्फ सचेत हुन आवश्यक छ ।  
    सहकारीले बचत फिर्ता नदिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएको छ । प्रहरीले पहिलो पटक बनेपाको पुण्यश्वर सहकारीले गरेको ठगीका बारेमा अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले पहिलो पटक आर्थिक अपराध अनुसन्धान सेल गठन गरेको छ । प्रहरी निरीक्षककै संयोजकत्वमा अनुसन्धान अधिकृत तोकेर आर्थिक अपराधका घटनामा अनुसन्धान शुरु गरिएको छ । जिल्लामा सहकारी मार्फत अर्थात सहकारीका आर्थिक गतिविधिमा हुने अनियमितता र मिटर ब्याजका सम्बन्धमा अनुसन्धान गर्न अलग्गै सेल बनाएको हो । नागरिकहरुले जुनसुकै अवस्थामा पनि आर्थिक गतिविधिबाट आफु ठगिएको महसुस गरेको अवस्थामा उजुरी दिन सक्ने ब्यवस्था मिलाएका छौं । पुण्यश्वर सहकारीका २७ जनाले सहकारीले रकम फिर्ता दिन नसकेको र संचालकहरु फरार भएको बताउँदै रकम फिर्ता माग गर्दै संचालक विरुद्ध ठगी अभियोगमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयमा अर्काे एउटा सहकारीको पनि उजुरी दर्ता भएको छ । सहकारीले धेरै ब्याज लिएको भन्दै प्रहरीकोमा उजुरी गर्नेहरु पनि छन् । धितो लिएर लिलामी गरेको ऋण तिर्दा फिर्ता नदिएको भन्दै उजुरी पनि परेको छ । 
    जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजी विरुद्ध परेका २० वटा र लेनदेन सम्बन्धीका ११ वटा उजुरीका बारेमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा भने ६७ वटा सहकारीका मुद्दा दर्ता भएका छन् । एक आर्थिक वर्षमा कर्जा असुली (लेनदेन) अभियोगमा ५७ थान मुद्दा दर्ता भएका छन् भने चेक अनादरमा १० वटा मुद्दा दर्ता भएका छन् । कर्जा असुलीमा बादी ५४ जना र प्रतिवादी ३ जना छन् भने चेक अनादारमा ७ जना बादी र ३ जना प्रतिवादी छन् । यस्ता मुद्दा दर्ता हुने क्रम बढिरहेको छ । सहकारीबाट लिएको ऋण बचतकर्ताको सम्पत्ति हो । लिनेहरुले समयमै तिर्ने र सहकारीहरुले पनि समयमै बचतकर्ताहरुको रकम फिर्ता गरी सहकारी आन्दोलन बलियो बनाउनु पर्छ । बचतकर्ताहरुको रकम सुरक्षित गर्नु पछिल्लो आवश्यकता छ ।