छिमेकी देश भारतमा मानसिक रोगीहरुका लागि बनाईएको औषधी नेपालमा प्रतिवन्ध छ। मन्द विष जस्तै लठ्ठ बनाउने र लागु औषधको नशामा फसाउने नाईट्राभेट १० ले नेपाली युवाहरु दिन प्रतिदिन गलत बाटोमा जान थालेका छन्। विपी राजमार्ग भारतबाट नेपाल आउन सहज नाकाका रुपमा प्रयोग हुन थालेको छ। प्रहरीले आकस्मिक चेकजाँच तथा नियमित गस्तिका क्रममा प्राप्त सूचनाका आधारमा लागु औषध ओसारपसारको कारोवार गरेको जानकारी पाउँदा मात्रै ब्यक्तिहरु पक्राउ पर्ने गरेका छन्। विशेषगरी काभ्रेको भकु्ण्डे, साँगा र बनेपा क्षेत्रलाई ओसारपसारकर्ता र प्रयोगकर्ताहरुले केन्द्र बनाउँदै आएका छन्। युवाहरुको गलत बाटोलाई समयमै रोक्न सकिएन भने नेपाल लागु औषध प्रयोग र ओसारपसारको मुख्य केन्द्र बन्न सक्छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्क अनुसार ३३ महिनामा लागु औषध ओसारपसार सम्वन्धी २५ वटा मुद्दा दर्ता भएका छन्। उक्त मुद्दामा ४८ जना पक्राउ परेका छन्। यसले पनि जिल्लामा पछिल्लो समयमा लागु औषध प्रयोग र ओसारपसार गर्ने समुह सक्रिय छ भन्ने पुष्टि गरेको छ। बेरोजगार युवा, विद्यालय तहका बालबालिकाहरु र सडक बालबालिकाहरुले लागु औषध प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ। चालु वर्षको साँढे ५ महिनामा १० वटा घटनामा १४ जना पक्राउ परिसकेका छन्। २०७२ चैत्र १९ गते ३ किलो गाँजा र २० ग्राम चरेश सहित एक जना साविक कुशादेवी गाविसबाट पक्राउ परेका थिए। २०७३ साउन २३ गते आधा किलो गाँजा सहित १ जना साविक बनेपा नगरपालिका ११ बुडोलबाट पक्राउ परे। लागु औषध डिजेबल ऐम्बल २४ थान, पेनरग्रेन ऐम्पल थान २२ र नोफेन थान २२ सहित साँगाबाट १ जना पक्राउ परेका थिए। नाईट्राभेट १० लागु औषध सहित चारजना बनेपा १० घरबाटै पक्राउ परे।
विपी राजमार्ग र अरनिको राजमार्ग हुँदै निरन्तर लागु औषध र गाँजा ओसारपसार गरिरहेको केन्द्र बनेपा बनाउने गरेको घटनाहरुले पुष्टि गरेको छ। युवाहरु कुलतमा फस्दै गएको, लागु औषधकै कारण भविष्य अन्धकार बनाउँदै लगेको अभिभावकहरुको गुनासोसँगै प्रहरीको अभियान तिब्र भए पनि अझै सशक्त बनाउनु जरुरी छ। मोटरसाईकल तथा भाडाका सवारी साधन प्रयोग गर्दै होटल, ब्यक्तिगत घर, डेरा, पोल्ट्रिफार्म, मोटर पार्टस् भएका स्थान प्रयोग गरी लागु औषधको कारोवार गरिएको छ। विद्यालय तथा भर्खर क्याम्पस जान थालेका युवायुवतीहरु यसको शिकार भएका छन्। यसको रोकथाम र न्युनीकरणका लागि प्रहरीले विद्यालय तथा अभिभावक स्तरीय जनचेतनामुलक कार्यक्रम संचालन गर्नु आवश्यक छ। बढ्दो सुविधा र प्रविधिका कारण युवाहरु गलत बाटोमा फसिरहेका छन्। नागरिक समाज, स्थानीय सरकार तथा प्रहरीको अभियान लागु औषध नियन्त्रणतर्फ सोझिनु आवश्यक छ।





