पाँच वर्ष अघिसम्म जिल्लाका १० वटा गाविस हालका दुई पालिका खानीखोला र महाभारत गाउँपालिका सडक सञ्जालसँग जोडिएका थिएनन्। सडक सञ्जालसँग नजोडिएका पालिकाका वडाहरुमा पुग्न झनै कठिन थियो। महाभारत गाउँपालिका जान सिन्धुली जिल्ला र खानीखोला गाउँपालिका पुग्न मकवानपुर जिल्लाको सडक प्रयोगमा आउँथ्यो। जनप्रतिनिधि निर्वाचित भए लगत्तै सडक निर्माणको कामले प्राथमिकता प्राप्त ग¥यो। सडकको ट्रयाक खोलियो। हिउँदका केहि महिना सवारी साधन संचालन हुन थाले तर जोखिमपूर्ण। जोखिमपूर्ण सडकमा सवारी चालकहरु धुपबत्ति गरेर सवारी साधन चलाउन बाध्य छन्। सडक निर्माणका लागि विनियोजन भएको रकम सदुपयोग हुन नसक्दा महाभारतबासीहरुका पीडा उस्तै छन्।
संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट सडक तथा अन्य पूर्वाधारका लागि अरबांैको रकम विनियोजन हुन्छ, निर्माण ब्यवसायीहरुले करोडमा ठेक्का पार्छन् अनि समयमै काम सम्पन्न नगर्दा लाखमा भुक्तानी हुने गरेको छ। निर्माण ब्यवसायीहरुका कारण जनप्रतिनिधिको बदनाम त भएको छ नै बजेटको सदुपयोग नभएका कारण स्थानीयहरु विकासबाट बञ्चित भएका छन्। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि महाभारत गाउँपालिका केन्द्र पुग्ने सडक देखि वडा र टोल टोलमा पुग्ने गरी ३ सय ५ किलोमिटर ट्रयाक खोलिएको छ। २०७४ अघि महाभारत पुग्न सिन्धुली जिल्लाको सडक प्रयोग गर्नु पर्दथ्यो। ५ वर्ष भित्र महाभारत गाउँपालिकाको केन्द्र पुग्ने मुख्य दुई सडकको ट्रयाक खोलिएको छ भने गाउँपालिका केन्द्रबाट वडा केन्द्र र टोल टोल पुग्ने गरी ३ सय ५ किलोमिटर ट्रयाक खोलिएको छ। अबको योजना भएका सडकलाई स्तरोन्नती गर्ने हो।
निर्माण ब्यवसायीको लार्पवाहीका कारण महाभारत गाउँपालिका हुँदै विभिन्न स्थान पुग्ने सडकको निर्माण कार्य अलपत्र परेको छ। अवधी सकिएको सडक अलपत्र कारण स्थानीय थप जोखिममा परेका छन्। गाउँपालिकाले पटक–पटक समयमै निर्माण कार्य सम्पन्न गर्न ताकेता गरे पनि पहुँचका आधारमा निर्माण कार्य अघि बढ्न सकेको छैन। सर्वसाधारण विरामी भएको अवस्थामा सडक नभएकै कारण दुई दिन बोकेर सडक पुहँचमा पु¥याउनु पर्छ। मुख्यमन्त्री, मन्त्री, दलका नेता, सांसद् धेरै आए, सडक समयमै निर्माण हुन्छ भन्ने आश्वासन दिएका छन्। अवधी सकिँदासम्म सडक निर्माण कार्य १० प्रतिशत पनि भएको छैन। सडक निर्माण सम्पन्न हुँदा हिउँद र वर्षात् दुवै समय सडकबाट ओहोरदोहोर गर्न कठिन हुँदैन। महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकहरुमा आशाको सञ्चार जगाएको थियो। निर्माण ब्यवसायीका कारण जनप्रतिनिधि बदनाम भएका छन्। विनियोजित बजेटको सहि सदुपयोग हुन सक्यो भने महाभारत जाने सडक स्थायी मात्रै हुँदैन जोखिमयुक्त पनि हुन्छ। तीन तहकै सरकारको ध्यान र निर्देशन गुणस्तरीय पूर्वाधार निर्माणमा हुन आवश्यक छ।





