2026 April 19/ 08:53: 41am

    पुराना राजनीतिक दलहरु प्रति विश्वास घट्दै गएको छ । दलका पुराना नेताहरु प्रति पनि विश्वास खस्कँदो छ । युवाहरुको जमातले परिवर्तन खोजेको छ । परिवर्तन दिर्घकालीन, तत्काल र ब्यक्ति केन्द्रित पनि छ । जसले २/४ रुपैयाँ कमाउन विदेशिनु नपरोस् । घर परिवार छाडेर विकसित देशमा भासिनु नपरोस् । त्यस्ता युवाहरुको जमातले नेपालमै केहि गर्न सकिन्छ, सम्भव छ भन्ने सपना बाँडेका युवाहरुलाई विश्वास बढाएका छन् । त्यो विश्वास भोलि निराशामा पैदा हुने सम्भावना त्यतिकै छ । तर जनमतका हिसाबले नयाँ दल र उम्मेदवारलाई अधिक रुचाएको तथ्याङ्कले देखाएको छ । काभ्रेको दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभामा सहभागि भएका दल र उम्मेदवारहरुको दाँजोमा पुराना दलहरु अग्र भागमा देखिए पनि २०५२ मा ब्यक्ति हत्याबाट आन्दोलन शुरु गरी शान्ति प्रकृयामा आएको नेकपा माओवादी केन्द्र क्रमशः ओरोलो लागेको छ । जिल्लामा उसको हैसियत समानुपातिक मतका हिसाबले चौथो हुन पुगेको छ । 
    मतका आधारमा नेकपा एमाले जिल्लामा पहिलो पार्टी बनेको छ । ५८ हजार ७ सय ८४ मत ल्याएर समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनिरहँदा नेपाली काँग्रेस ४८ हजार ३ सय ११ ल्याएर दोश्रो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २६ हजार ३ सय १८ मत ल्याएर तेश्रो दल बनेको छ । चौथोमा पुगेको माओवादीले २५ हजार २ सय ६१ मत प्राप्त गरेको छ । पाँचौमा नेकपा समाजवादी पुगेको छ । जिल्लाभरबाट ८ हजार ९८ मत प्राप्त गरेको छ । छैटौ नम्बरमा राप्रपा परेको छ । राप्रपाले ६ हजार २ सय २१ मत प्राप्त गरेको छ । सिट संख्याका आधारमा भने नेकपा एमालेले प्रतिनिधि सभामा एक सिटमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधि सभामा एक र प्रदेश सभामा एक सिटमा विजयी हासिल गरेको छ । नेपाली काँग्रेसले प्रदेश सभाका दुई सिट र नेकपा समाजवादीले प्रदेश सभामा एक सिट विजय हासिल गरेको छ । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीको प्रत्यक्षमा सिट हासिल भए सँगै समानुपातिक तर्फ को–को पर्ने अड्कल शुरु भएको छ । सत्तामा रहेका राजनीतिक दलहरुको गठवन्धनमा जिल्लामा ५ वटा दल एकातिर थिए भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहित अन्य केहि दल एक्लो प्रतिस्पर्धामा थिए । नेकपा एमालेको बलियो संगठन, उर्जाशिल कार्यकर्ता, राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, स्वाधिनता, राष्ट्रियताका सवाल तथा जिल्लाको विकासको रोडम्याप समेत प्रष्ट भएकाले सिट संख्यामा गठवन्धनको दबदबाका बाबजुद संघीय संसदमा एक क्षेत्रमा मात्रै विजय हासिल गर्न सफल भयो । एमालेका उम्मेदवार प्रत्यक्षतर्फ ३ मत देखि १० हजारको मतान्तरमा पराजय भईरहँदा समानुपातिक मतले एमालेलाई जिल्लाको पहिलो दल बनाएको छ । काभ्रेली जनताका बीचमा नेकपा एमाले लोकप्रिय पार्टी रहेको जनमतले पुष्टि गराएको छ । पार्टीले प्राप्त गरेको मत देशभर, प्रदेशमा र जिल्लामा पनि एमाले लोकप्रिय देखिएको छ । 
    निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मतगणनाको अन्तिम परिणामले पनि एमाले लोकप्रिय मतका साथ पहिलो पार्टी भएको पुष्टि गरेको छ । काँग्रेस दोश्रो, भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी तेश्रो र माओवादी चौथोमा पुगेको छ । सशस्त्र युद्ध गरेर शान्ति प्रकृयामा आए पछि निरन्तर ओरोलो लागिरहेको पार्टी माओवादी यो निर्वाचनबाट झनै खस्किएको छ ।