२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेले लोकप्रिय मत प्राप्त गरेको छ । प्रदेशका हरेक निर्वाचन क्षेत्रमा तथा प्रतिनिधि सभाका अधिकांश निर्वाचन क्षेत्रमा नेकपा एमालेले लोकप्रिय मत प्राप्त गरेको छ । नेकपा एमालेलाई कमजोर बनाउन गठबन्धन गरेका राजनीतिक दलहरु आफै कमजोर भएका छन् । कमजोर भएका राजनीतिक दलहरुको पुनः गठबन्धन हुने संकेतहरु देखिएका छन् । गठबन्धन गरेकै कारण मुलुकले १८ महिना देखि भोगेको महङ्गी, अभाव र विकासको अवरोध पुनः रोकिने सम्भावना छन् । जनताका अत्यावश्यक आवश्यकताहरुलाई समेत वेवास्ता गरेकै कारण जनतामा निराशा पैदा भएका छन् । फेरी तिनै राजनीतिक दल र तिनकै नेतृत्वमा सरकार बनाउने कुराले फेरी मुलुक अस्थिरता तर्फ जाने सम्भावना छ ।
समानुपातिक तर्फको मतगणना सकिदै छ । प्रत्यक्ष तर्फका केहि जिल्लामा विवादका कारण रोकिएको मतगणना अझै हुन सकेको छैन । सत्तामा रहेका दलहरुले धाँधलीपूर्ण रुपमा बुथ कब्जा गरी मृत्यु भएका ब्यक्तिका नाममा मतदान गरेर निर्वाचनमा जसरी पनि विजय हुन गरिएका तानाबुना विरुद्ध केहि दलहरुले आन्दोलन गरे पछि रोकिएको निर्वाचन र मतगणना हुन सकेको छैन । सत्तामा रहेर जे पनि गर्न सकिन्छ ? गर्न मिल्छ भन्ने दम्भ बोकेका गठबन्धनमा रहेका दलहरुले सर्वाेच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्ध लगाएको महाअभियोगको टुङ्गो लगाउन सकेका छैनन् । उनै चोलेन्द्रले परमादेश मार्फत सरकार बनाईदिएको गुणको बदला चोलेन्द्रलाई महाअभियोग लगाउने दलहरुलाई जनताले साईजमा राखिदिएका छन् । नेकपा एमालेलाई सबैभन्दा कमजोर बनाउन दलहरुले गठबन्धन गरेका थिए । तर नेकपा एमाले प्रत्यक्षतर्फ पनि नेपाली काँग्रेस भन्दा केहि कम सिटमा मात्रै सिमित रहन पुग्यो । राष्ट्रिय राजनीतिमा नेकपा एमालेको अडान, राष्ट्रियताका सवालमा नेकपा एमालेको निर्णय र विकासको संवाहकका रुपमा नेकपा एमालेले अघि सारेका योजनाहरु जनताको बीचमा लोकप्रिय भए । एमालेले शुरु गरेका कयन योजनाहरुलाई रोकेर मुलुकलाई गतिहीन बनाउने राजनीतिक दलहरु केवल सत्ताकै लागि मात्रै गठबन्धन गरिरहेका छन् ।
केपी शर्मा ओलीले संसद्मा देखिएका समस्यालाई ताजा जनादेश मार्फत सहज बनाउन संसद् विघटन गरेको विषय प्रतिगमन भन्ने राजनीतिक दलहरु नै मध्यावधी निर्वाचनको प्रस्ताव गर्न थालिसकेका छन् । अहिलेको संसद्मा देखिएका राजनीतिक दल र विजयी उम्मेदवारहरुको नामावली सार्वजनिक हुँदै गर्दा मुलुक सरकारकै कारण अस्थिरतातर्फ धकेलिने संकेत देखिन थालेको हो । उदयीमान नयाँ राजनीतिक दल र तिनले बोकेको उद्देश्य अहिलेको संसद् र सरकारले दिन सक्ने देखिदैन । मतदाताहरुको आवश्यकता पूरा गर्न गतिशिल सरकार र त्यसले गर्ने निर्णयले प्रभाव पार्दछ । गठवन्धनको ठुलो दल बनेको नेपाली काँग्रेस र त्यसका सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने कुराले मुलुकको गति नभई अधोगति हुने सम्भावना छ । त्यसैले सरकार गठनमा राजनीतिक दलहरु सचेत हुनु जरुरी छ । मुलुकले अब निकासका साथै विकास र समृद्धि खोजेको छ । यतिबेला लोकप्रिय मत प्राप्त गरेर जनताको मनमा बसेको पार्टी नेकपा एमालेले पनि सुझबुझ पूर्ण निर्णय गर्न जरुरी छ ।





