2026 April 19/ 08:53: 41am

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरु चुनावी मैदानमा छन् । दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उम्मेदवारहरु सबैले आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा ६४ उम्मेदवार प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् । १९ वटा राजनीतिक दल तथा अन्य केहि स्वतन्त्र पनि छन् । १ सय भन्दा धेरै समानुपातिक तर्फका उम्मेदवार छन् । विकट देखि सुगमसम्म रहेको काभ्रेपलाञ्चोक जिल्ला २०७४ को निर्वाचन अघि बत्ति मुनीको अँध्यारो अवस्थामा थियो । राजधानीसँग जोडिएको तर राजनीतिक रुपमा पहुँच नभएको जिल्लाका रुपमा काभ्रेपलाञ्चोकलाई लिइन्थ्यो । पञ्चायत देखि गणतन्त्रसम्म थुप्रै ब्यक्ति सांसद्, मन्त्री, राज्यमन्त्री तथा विभिन्न पदमा पुगेको भए पनि जिल्लाको गौरव र गौरवका आयोजनाका लागि भूमिका खेल्न सकेका थिएनन् । २०७४ मा निर्वाचित सांसद् गोकुल बास्कोटाल सरकारको प्रवत्ता भएसँगै जिल्लामा शुरु भएका गौरवका आयोजनाले काभ्रेको गौरव बढाएको छ । राजनीतिक, आर्थिक, सामाजिक तथा दिर्घकालीन रुपमा गौरवका आयोजनाले पार्ने प्रभाव विस्तारै देखिने छ । आगामी निर्वाचनमा मतदाताहरुले पुनः एक पटक जिल्लाको गौरवका लागि गौरवका आयोजना थप गर्न सक्ने पहुँच राख्न सक्ने उम्मेदवार चयन गर्न सक्नु पर्छ । जसका लागि नीति, कार्यक्रम र योजनासँगै बजेटको विनियोजन सँगै सुनिश्चितता जरुरी छ । 
    काभ्रेको गौरवको आयोजना मध्ये सुरक्षण मुद्रण एक हो । तत्कालिन आईटी पार्कमा निर्माण शुरु भएको सुरक्षण मुद्रण प्रेसको निर्माण कार्य भईरहेको छ । ओली नेतृत्वको सरकारमा मन्त्री रहेका गोकुल बास्कोटाले उक्त निर्णय गराउँदै काभ्रेमा मुद्रण प्रेस निर्माण शुरु गरेका थिए । सुरक्षण मुद्रणका लागि आवश्यक पूर्वाधार तयार भईरहेको छ । मुद्रण प्रेसको पूर्वाधार निर्माण सम्पन्न भएपछि राहदानी, हुलाक टिकट, बैँक नोट, प्रश्नपत्रजस्ता महत्वपूर्ण कागजात छाप्न विदेश जानुपर्ने छैन । यसबाट एकातिर सुरक्षित मुद्रणका लागि पूँजी बाहिरिनुपर्ने बाध्यता समाप्त हुनेछ भने अर्कातिर घरमै अत्यावश्यक सुरक्षण मुद्रण सेवा उपलब्ध हुनेछ । केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा महत्वपूर्ण कागजातको सुरक्षण मुद्रण गर्ने उल्लेख गरी बजेट विनियोजन गरेको थियो । पच्चीस वर्ष अघि देखि बहसमा रहेको सुरक्षण मुद्रण स्थापनाका लागि पहल शुरु भएको थियो । काठमाडौँबाट २८ किलोमिटरको दूरीमा पर्ने २ सय ३५ रोपनी जग्गामा रहेको काभ्रेपलाञ्चोकको बनेपास्थित सूचना प्रविधि पार्क केन्द्रका लागि हस्तान्तरण भएर निर्माण कार्य प्रारम्भ भएको हो । सुरक्षण मुद्रणको कामका लागि हरेक वर्ष विभिन्न निकायबाट करीब चार अर्ब रुपैयाँ विदेश गइरहेको छ । नेपाललाई आत्मनिर्भर बनाई अन्तर्राष्ट्रिय बजारमा आकर्षण विन्दुका रुपमा सुरक्षण मुद्रण केन्द्रलाई विकास गर्ने सरकारको दूरदृष्टिअनुरुप संयन्त्रले काम शुरु गरेको हो । सुरक्षण मुद्रणलाई राष्ट्रिय गौरवको विषयका रुपमा समेत लिइन्छ । सुरक्षण मुद्रणसम्बन्धी नीति योजना, बजेट तथा कार्यक्रम स्वीकृत र भौतिक पूर्वाधार निर्माणका साथै राहदानी र स्मार्ट कार्डको पर्सनलाइजेसन तथा सुरक्षण मुद्रणसम्बन्धी आवश्यक अध्ययन र तालिम प्रशिक्षण पनि सञ्चालन गरिएको छ ।
    अर्काे महत्वपूर्ण आयोजना भनेको मदनभण्डारी विश्वविद्यालय हो । ७ अर्ब बजेट विनियोजन भई पाँचखालमा कार्य प्रारम्भ भएको छ । प्रतिरक्षा विश्व विद्यालय बनेपामा ४ अर्ब लगानीमा निर्माण भईरहेको छ । पनौतीमा प्राविधिक विश्वविद्यालय ३ अर्बमा निर्माण कार्य प्रारम्भ भएको छ । सुनकोसी तेस्रो’ जलाशययुक्त ५३६ मेगावाट  ५८ अर्ब लगानी तिमालवेसीमा कार्य प्रारम्भ गरिएको छ । भक्तपुर पाँचखाल सुरुङमार्गको योजना गठबन्धन सरकारले हटाई दिएको छ । यो गौरवको आयोजना सूचारु हुन सकेको अवस्थामा जिल्लाको अवस्था फेरिनेछ । काभ्रेपलान्चोक जिल्लाका सबै विद्यालय पुनःनिर्माण र आइटी ल्याबको व्यवस्थापन, पाँचखालमा विशेष आर्थिक क्षेत्र सेजको निर्माण, पाँचखाल सुनकोसी खानेपानी परियोजना, इन्द्रावती मण्डन खानेपानी, नाला पनौती पुण्यमाता करिडोर लगायतका योजनाहरु जिल्लाका गौरव हुन् । आगामी निर्वाचनबाट यस्ता योजनाहरुको निरन्तरता र नयाँ योजनाको छनौट गर्ने उम्मेदवारको पक्षमा जनमत बनाउन आवश्यक छ । जसले जिल्लाको समृद्धी र नागरिकहरुको जीवन स्तर उकास्न सम्भव बनोस् ।