2026 April 19/ 06:55: 16am

    काभ्रेपलाञ्चोक जिल्लामा रहेका विद्यालयहरुको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भुकम्पले ध्वस्त बनाएका पूर्वाधार निर्माणको कार्य सम्पन्न भए सँगै शैक्षिक गुणस्तरको दबाब बढेको छ । विद्यालय भवन निर्माण सम्पन्न भए पनि विद्यार्थी अभावका कारण भवनहरु प्रयोग विहिन हुन थालेका छन् । भएका विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर कायम गर्न विद्यालयहरु जिम्मेवार हुनु जरुरी छ । शहरी क्षेत्रमा निजी विद्यालयको दबाबले सामुदायिक विद्यालयमा गुणस्तर बढाउन चाप बढेको छ भने ग्रामिण भेगमा विद्यार्थी अभावसँगै गुणस्तर बृद्धि गर्नु पर्ने दबाब छ । पूर्वाधारहरुको संरचना तेश्रो चुनौती बन्न थालेको छ ।
    भुकम्प पछि काभ्रेपलाञ्चोक जिल्लामा निर्माण भएका विद्यालयहरुका लागि ७ अर्ब ६६ करोड २० लाख खर्च भएको छ । खर्च भएको सबै रकम अनुदानमा उपलब्ध भएको हो । जिल्लाको १३ पालिकामा ५ सय २७ वटा सामुदायिक विद्यालय छन् । जसमा ४ सय ९० वटा बालविकास केन्द्र, ३ सय ७८ वटा आधारभूत, १ सय ४९ वटा माध्यमिक तहका विद्यालय छन् । निजी क्षेत्रका विद्यालयहरुको संख्या १ सय २ रहेको छ । जिल्लामा कुल विद्यालयको संख्या ६ सय २९ रहेको । विद्यालयको अलावा ३४ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन् भने बहुप्राविधिक शिक्षालय, विश्वविद्यालय र १९ वटा क्याम्पस संचालनमा छन् । शैक्षिक क्षेत्रको हब बन्दै गएको राजधानी नजिकको काभ्रेपलाञ्चोक जिल्लामा नमुना विद्यालय पनि छन् । पार्वती मावि, बेथान्चोक, प्रभा मावि चौरीदेउराली, सञ्जीवनी मावि धुलिखेल, जनक मावि नमोबुद्ध, भालेश्वर मावि पनौती नमुना विद्यालयका रुपमा विकास भएका छन् । विद्यार्थी संख्या, शिक्षाको गुणस्तरमा कमी हुन नदिन शिक्षक, अभिभावक र स्थानीय सरकारको चासो पनि त्यतिक्कै छ ।
    जिल्लाका सामुदायिक विद्यालयको पुनर्निर्माणका लागि एडिबी मार्फत ईईएपी २ अर्ब ७० करोड ४८ लाख ९३ हजार, डिआरएसपी पहिलो चरणमा ६२ करोड ८८ लाख २८ हजार, दोश्रो चरणमा ५९ करोड ७३ लाख ६० हजार, तेश्रो चरणमा २८ करोड ७१ लाख र रेट्रोफिट ७ करोड ३७ लाख ७५ हजार रुपैयाँ अनुदानका रुपमा प्राप्त भई खर्च भएको छ । भारत सरकारले ६० करोड ७० लाख ९९ हजार र आएनजिओ र एनजिओबाट १ अर्ब २३ करोड २४ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ । विद्यालय ब्यवस्थापन समिति मार्फत २ सय ७० वटा विद्यालय निर्माण सम्पन्न भएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३१ वटा विद्यालय निर्माण सम्पन्न हुने चरणमा छन् । ईईएपी मार्फत २८ वठा विद्यालय सम्पन्न भएका छन् । डिआरएसपीको पहिलो चरणमा १० वटा, दोश्रो चरणमा ९ वटा विद्यालय र तेश्रो चरणमा ३ वटा विद्यालय निर्माण भएका छन् । रेट्रोफिटमा १८ वटा विद्यालयहरुमा काम सम्पन्न भएको छ । पुनर्निर्माण अन्तिम चरणमा पुगेका विद्यालयहरुमा शौचालय र खानेपानीको कार्य पनि सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६÷०७७ सम्म १ सय ४६ मध्ये १ सय ५ वटा विद्यालयमा काम सम्पन्न भएको थियो । चालु वर्षको अन्त्यसम्ममा बाँकी विद्यालयमा शौचालय निर्माणको कार्य सम्पन्न हुनेछ । ८८ वटा खानेपानी आयोजनामा ६३ वटा विद्यालयमा सम्पन्न भईसकेको थियो । २५ वटा विद्यालयमा शुरु भएको खानेपानी निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ ।
    विद्यालय भवन निर्माणका लागि २ कोठे भवनमा २५ लाख ५० हजार खर्च भएको छ भने ४ कोठे भवनका लागि ६८ लाख ५० हजार खर्च भएको छ । ६ कोठे भवनका लागि ८६ लाख र ८ कोठे भवनका लागि १ करोड ९० लाख रुपैयाँ खर्च भएको छ । शौचालय सानोमा १३ लाख ५० हजार र ठुलो शौचालयका लागि १५ लाख ५० हजार खर्च भएको छ । खानेपानीका लागि ६ लाख रुपैयाँ खर्च भएको छ । खर्च भए अनुरुप स्थानीय सरकारले विद्यालयहरुको गुणस्तरमा ध्यान दिनुपर्छ । शिक्षक दरबन्दी अपुग भएका विद्यालयहरुमा दरबन्दी ब्यवस्थापन गर्ने, दरबन्दी धेरै भएका स्थानबाट दरबन्दी हटाउने अभियानमा स्थानीय सरकार सक्रिय भएको अवस्थामा शैक्षिक गुणस्तरलाई कायम गर्न सम्भव छ । सामुदायिक विद्यालय भन्ने वित्तिक्कै नाक खुम्च्याउनु पर्ने अवस्थाको अन्त्य गर्न सबै क्षेत्रको सक्रिय सहभागिता जरुरी छ ।