2026 April 19/ 06:56: 13am

    सरकारले मिटर ब्याज लिन नपाउने गरी कानून निर्माण गरेको छ। कानून कार्यान्वयनका लागि पटक–पटक आवाज उठिरहेका छन्। कानून कार्यान्वयन त कता हो कता कानून कार्यान्वयन गर्ने निकायका अधिकांश ब्यक्तिहरु आफूले कमाएको रकम मिटर ब्याजमा लगाएका खबरहरु सार्वजनिक भईरहेका छन्। ब्यक्तिलाई पर्ने संकट टार्न दिईने रकममा लिइने चर्काे ब्याजले ब्यक्तिको उठिबाससँगै आत्महत्याका घटना हुन थालेका छन्। पछिल्लो समय देखिएका केहि घटनाहरुमा मिटर ब्याज प्रमुख कारण देखिएको छ। मिटर ब्याजका कारण ब्यक्ति विस्थापित मात्रै भएको छैन समाजको चरित्र पनि उदांगो बनाएको छ। सहकारी वा अन्य वित्तिय संस्था होस् वा ब्यक्ति राज्यको नियमन निकाय सक्रिय नहुँदा यस्ता घटनाहरु दैनिकजसो भईरहेका छन्। पछिल्लो समय बनेपामा विस्थापित भएका ब्यापारीले सार्वजनिक गरेका मिटर ब्याज लिनेहरुको सूचीले धेरैलाई सोच्न बाध्य बनाएको छ। 
    बनेपा धेरै आर्थिक कारोवार हुने शहरका रुपमा चिनिन्छ। जिल्लाका हकमा त यो महत्वपूर्ण शहर हो। होलसेल पसल देखि वित्तिय संस्थाहरु बनेपामा धेरै छन्। बसोबासका हिसावले पनि धेरै जनसंख्या भएको पालिका बनेपा हो। अस्थायी बसोबास गर्नेहरुको संख्या पनि धेरै छ। यसकारण यहाँ हुने हरेक गतिविधिसँग जिल्लाका मात्रै होईन अन्य जिल्लाका नागरिकहरु पनि संलग्न हुने गरेका छन्। काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानामा मिटर ब्याजले संस्थागत रुप लिएको छ। सहकारीहरुले मिटर ब्याज लिने गरेको तथ्य खुलेको छ भने सहकारीका संचालकहरु स्वयम् सहकारीबाट सस्तो ब्याजमा ऋण लिएर सर्वसाधारणलाई मिटर ब्याजमा लगाउने गरेको तथ्य बाहिरिएको छ। तर पनि ब्यक्तिहरुले मिटर ब्याजका विरुद्ध कानूनी उपचारमा जाने साहस गरेको छैन। उसै त उ आर्थिक रुपमा कमजोर हुन्छ। त्यसमाथि उसमा कानूनी लडाई लड्ने नैतिक साहस हुँदैन। त्यसकारण पनि नागरिकहरु कमजोर माथि कमजोर भईरहन्छन्। बनेपाको चारदोबाटो चोकमा रहेको शोभ साडी पसलका सञ्जय चौधरीले कारोवार गरेका मिटर ब्याजीहरुको नामावली उनैले सार्वजनिक गरेका छन्। उनले लिएको ऋणमा मिटर ब्याज तिर्न नसकेका कारण विस्थापित भएका छन्। 
    चारवर्षसम्म उनले तिरेको रकमले भारतमा भएको घर आईसी १ करोड २५ लाखमा विक्री गर्दा समेत तिर्न सकेनन्। पछिल्लो समय कोरोना महामारीका कारण ब्यापार भएन। ब्यापार नभएकै कारण मिटर ब्याज तिर्न नसकेको उनले बताएका छन्। पैसा तिर्न नसकेका कारण उनलाई सहकारीका संचालक, ब्यक्तिहरुले पटक पटक धम्की दिने, पसलमा ताल्चा लगाउने गरेका थिए। देशका विभिन्न स्थानमा मिटर ब्याजीहरुलाई कारवाही गर्न शुरु गरिएको भए पनि काभ्रेमा त्यसका विरुद्ध उजुरी गर्न कोहि अघि सरेको छैन। ठूला ठूला घरानाका ब्यवसायी तथा उच्च पदस्थ ब्यक्तिहरु मिटर ब्याजको लगानीकर्ता र संरक्षक छन्। मिटर ब्याजसँगै बनेपा र आसपासका क्षेत्रमा ढुकुटी नामको लुटतन्त्र सहकारी र ब्यक्तिमा फैलिएको छ। मुलुक विस्तारै आर्थिक मन्दीमा गईरहेका बेला सार्वजनिक हुन थालेका यस्ता आर्थिक विकृति रोक्न सबै पक्ष सक्रिय हुनु आवश्यक छ।