2026 April 19/ 06:56: 14am

गतवर्ष कोरोनाका कारण धेरैले ज्यान गुमाउनु प¥यो । २०७२ सालमा भुकम्पका कारण धेरैले ज्यान गुमाए । भुकम्प, कोरोना जस्ता विपत्तिमा ज्यान गुमाउनेहरुको तथ्याङ्कका आधारमा सरकारले रोकथाम, नियन्त्रण र उपचार गरेको छ । ज्यान जोगाउन बीमा समेत गरिएको छ । विभिन्न कारण ज्यान फाल्ने र ज्यान लिनेहरुलाई रोक्न सरकार उदासिन छ । वर्षेनि हुने यस्ता खालका घटना नियन्त्रण गर्न तीन तहकै सरकारले चासो दिन जरुरी छ । काभ्रेपलाञ्चोक जिल्लामा मात्रै रोगका कारण नभई शोक र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या बर्षेनि थपिदै गएको छ ।
    जिल्लामा चालु आर्थिक वर्षको १० महिना १ सय ८८ जनाले विभिन्न कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बालबालिका देखि जेष्ठ नागरिकसम्म छन् । विभिन्न अभियोगमा प्रहरीले २ सय ७० जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले मातहतका निकायबाट समेत ३ सय ४८ वटा घटना दर्ता गरेको छ । दर्ता भएका घटनामा संलग्न २ सय ७० अभियुक्त पक्राउ परेका छन् भने १ सय ८८ जनाको निधन भएको छ । दर्ता भएका मुद्दाहरु मध्ये १ सय ८६ वटा प्रहरीले फछर्याैट गरेको छ भने १ सय ६२ वटा प्रकृयामा छन् । प्रहरीले निर्वाचनका समयमा भएका घटनालाई विशेष प्राथमिकतामा राखेको थियो । निर्वाचन पूर्व र निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटनालाई प्रहरीले फरक–फरक कोणबाट प्राथमिकतामा राखेर सुरक्षा ब्यवस्था मिलाएको थियो । निर्वाचनकै दिनमा पनि एक जनाले मतदान सकेर आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या र जर्बजस्ति करणीका घटनाको संख्यामा उल्लेख्य बृद्धि भएको छ भने दुर्घटना पनि बढिरहेको छ ।  जिल्लामा भएका विभिन्न घटनामा मृत्यु हुने मध्ये १ सय २५ जना पुरुष छन् । ४९ जना महिला छन् भने ८ जना बालक र ६ जना बालिका गरी १ सय ८८ जना रहेका छन् । सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाउने मध्ये ३ बालक र एक बालिका छन् । यो अवधिमा ९२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालबालिका देखि जेष्ठ नागरिकसम्म छन् । तीन बालिका र एक बालकले अभिभावकलाई दोष देखाउँदै आत्महत्या गरेका छन् । ९ बर्ष, १२ वर्ष, १४ वर्षका बालबालिकाहरु देखासिखीका आधारमा ज्यान गुमाउने अवस्थामा पुगेका हुन् । आत्महत्या गर्नेहरु मध्ये ७६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । ७६ मध्ये ४५ जना पुरुष र २७ जना महिला छन् । ३ बालिका र १ बालकले पनि झुण्डिएर आत्महत्या गरेका छन् । विष सेवनबाट आत्महत्या गर्नेहरु १६ जना छन् । १२ पुरुष र ४ महिलाले विष सेवनबाट आत्महत्या गरेका छन् । मृत्यु हुनेमा जिल्लामा पहिलो आत्महत्या, दोश्रो सवारी दुर्घटना र तेश्रो डुबेर र लडेर रहेको छ । जिल्लामा चालु वर्षको १० महिनामा डुबेर मर्नेहरुको संख्या ११ रहेको छ । लडेर ज्यान गुमाउनेहरुमा १४ जना छन् ।
    जिल्लामा ज्यान सम्बन्धी कसुरमा ४ जनाले ज्यान गुमाएका छन् । ज्यान सम्बन्धी कसुरमा २ पुरुष, १ महिला र १ बालक पक्राउ परेका छन् । कारण नखुलेका कारण ज्यान गुमाउनेको संख्या २४ रहेको छ । जसको मृत्युको कारण पनि पत्ता लाग्न सकेको छैन । जसमध्ये १८ पुरुष, ६ महिला छन् । ज्यान मार्ने उद्योग, जुवा, चोरी तथा डाँका सम्बन्धी कसुर चोरी, साधारण र सवारी चोरी, बुहविवाह, अभद्र ब्यवहार, सवारी दुर्घटना अंगभगं, सवारी ज्यान, सवारी ज्यान भवितब्य, लागु औषध, आत्महत्या गर्न दुरुत्साहन गरेको, लिखत सम्बन्धी कसुर किर्ते, बैकिङ्ग कसुर ठगी, अपराधिक उबद्र, कुटपिट अगंभंग र झुट्टा विवरण पेश गरी नागरिकता लिने, जन्म दर्ता तथा अन्य ब्यक्तिगत घटना दर्ता अन्र्तगत कसुर गरेको अभियोगमा अपहरण तथा शरीर बन्धक लगायतका घटनामा प्रहरीले मुद्दा दर्ता गरी अभियुक्तहरुलाई पक्राउ गरेको छ । मानव बेचविखन मुद्दामा एक जना फरार छन् । चोरी तथा डाँका अभियोग र ज्यान सम्बन्धी अभियोगकै अभियुक्त अझै फरार छन् ।