आम नागरिकहरुको स्वास्थ्य हितका लागि सरकारले शुरु गरेको स्वास्थ्य बीमा प्रभावकारी भए पनि अस्तब्यस्त ब्यवस्थापनका कारण सेवाग्राहिहरु हैरानीमा परेका छन् । विरामी भएको ब्यक्ति वा उसका आफन्तहरुलाई एक लाख रुपैयासम्म पैसा नपर्ने सहज, सरल र प्रभावकारी सेवालाई सरकारकै कारण अस्तब्यस्त बनाईएको छ । भुकम्प पछि नागरिकहरुलाई जनमैत्री सेवा प्रभाव गर्ने उदेश्यले तत्कालीन केपी ओली नेतृत्वको सरकारले यो कार्यक्रम संचालन गरेको थियो । देशभर शुरु भएको यो सेवा धेरै अस्पतालले बन्द गरिसकेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा धेरै नागरिकहरुले सेवा प्राप्त गरिरहँदा सेवा प्रदायक संस्थाहरु भने संकटमा परेका छन् । अस्तब्यस्त ब्यवस्थापनलाई सहज बनाउँदै बीमा कार्यक्रम अझै प्रभावकारी बनाउनु नागरिकको हितमा छ ।
राष्ट्रिय बीमा बोर्डले नागरिकहरुको बीमा गराएको रकम भुक्तानी समयमै नगरेका कारण धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेका खबर सार्वजनिक भएका छन् । अस्पतालको फार्मेसी विभागमा आधारभुत औषधीहरु सकिएको छ । सर्वसाधारण दुई घण्टा लाईन बसेर औषधी नभएको खवर पछि असन्तुष्टी पोख्दै फर्कने गरेका छन् । स्वास्थ्य बीमा बोर्डले अस्पतालले दिएको सेवा अनुसारको भुत्तानी समयमै नहुँदा अस्पतालको सेवा प्रभावित बन्न थालेको छ अस्पताल प्रशासनले भन्न थालेको छ । चैत्र मसान्तसम्म अस्पतालको रेकर्डमा २५ करोड भन्दा धेरै रकम भुक्तानी लिन बाँकी छ । २५ करोड भन्दा धेरै तिर्न बाँकी छ । अस्पतालले भुक्तानी दिन नसक्दा औषधी सप्लायर्सले सुगर, प्रेसर, दम तथा अन्य रोगका औषधीहरु सप्लाई गर्न छाडेको छ । एक महिना देखि सुगरको औषधी प्राप्त भएको छैन । दुई घण्टा देखि लाईन बसें, पालो आयो तर औषधी आएन । कार्ड लिन, दिन, औषधी, जचाउँन लाईनको बिकल्प छैन, बीमा भन्छ पैसा तिर्नु पर्छ । विरामीहरुका दुख र ब्यथा अथाहा बन्न थालेका छन् । धुलिखेल अस्पतालले बीमा बापत २५ करोड, कोभिडको दोश्रो भेरियन्टमा उपचार गराए बापत ४ करोड ५३ लाख, तेश्रो चरणको २५ लाख रकम सरकारसँग लिन बाँकी छ । दैनिक एक हजार भन्दा धेरैलाई सेवा दिँदा अस्पतालले ब्यवस्थापन गर्न सकेको छैन । एक्सरे, एमआरआई जस्ता अत्यावश्यक सेवामा पनि महिनौ पालो आउँदैन । चार महिना देखि बीमा बोर्डले रकम भुक्तानी नगरेका कारण सेवा प्रभावमा अहसजता हुन थालेको ब्यवस्थापनले बताएको छ । बीमामा १ हजार ३ सय ३३ प्रकारका औषधी समावेश गरिएको छ । समावेश गरिएको औषधी बजार मुल्य भन्दा धेरै कम छ । धेरै मुल्यमा खरिद गरेर कम मुल्यमा औषधी विक्री गरिरहँदा अस्पताल थप आर्थिक संकटमा पर्न थालेको छ ।
विरामीको चाप बढेकाले अस्पतालको इमरजेन्सी विभागमा १५ दिन देखि शैया उपलब्ध छैन । इमरजेन्सी विभागमा मात्रै नभई अन्य विभागमा पनि अस्पतालले विरामी भर्ना गर्ने शैया उपलब्ध नभएको विरामीहरुले बताउन थालेका छन । क्षमता भन्दा धेरै विरामी आउन थाले पछि अस्पतालले जनशक्ति ब्यवस्थापन गर्न सकेको छैन । काभ्रेपलाञ्चोक जिल्लामा १ लाख १५ हजार ९ सय ६३ जना विमित भएका छन् । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक, भक्तपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका जिल्लाबाट समेत नागरिकहरु बीमाको सेवा लिन आउने गरेका छन् । अन्य जिल्लाबाट समेत विरामीहरु सेवाका लागि आएका कारण अस्पतालमा भिड बढेको हो । सरकारले तत्कालै यसको ब्यवस्थापन गर्नु आवश्यक छ ।





