कोरोना भाईरसको तेश्रो चरणको संक्रमण फैलन थालेको छ। संक्रमण नियन्त्रण गर्न भएका प्रयास फित्तलो देखिएका छन्। विशेषतः सरकारका तीनै तह संक्रमण रोक्न सक्रिय हुन सकिरहेका छैनन्। दुई वर्षको लगातारको संक्रमणका कारण नागरिकहरु सचेत रहनु पर्ने, नागरिकहरुको सचेतिकरणका कारण मात्रै संक्रमण रोक्न सकिन्छ भन्ने बुझेका सरकारका तीनै निकाय नागरिकहरुलाई दूरी कायम राख्न, साबुन पानीले नियमित हात धुन, मास्क लगाउन तथा भिडभाड नगर्न र भिडभाडमा नजान अनुरोध गरिरहेका छन्। तर पनि संक्रमण दर दैनिक बढिरहेको छ। घरमै विरामी भएर बस्नेहरुले पनि परिक्षण गरिरहेका छैनन्। परिक्षण गर्नेहरु आफै विरामी भएर अस्पताल जानुपर्ने अवस्थाका छन्। धुलिखेल नगरपालिका लगायतका केहि स्थानीय तहले भने नागरिकहरुको नियमित परिक्षण शुरु गरेका छन्।
सरकारले सबै नागरिकहरुलाई खोप लगाउन भने पनि सुई अभावले खोप कार्यक्रम प्रभावित भएको छ। केपी ओली नेतृत्वको सरकारले ब्यवस्थापन गरिदिएको खोप समेत यो सरकारले ब्यवस्थित गर्न सकेको छैन। खोप भए पनि खोप लगाउने सिरिन्ज ल्याउन नसक्दा केहि साता देखि खोप प्रभावित बनेको छ। खोप प्रभावित हुँदा १२ देखि १८ वर्षसम्मका बालबालिकाहरु प्रभावित त बनेकै छैन त्यो भन्दा धेरै खोप पाउनबाट बञ्चित भएका नागरिकहरु संक्रमणको जोखिममा परेका छन्। संक्रमणबाट बचाउन र बच्न नागरिक स्वंयम सचेत हुनु जरुरी छ। यतिखेर संक्रमणको दर फैलिए पनि नागरिकहरु गम्भिर प्रकृतिका विरामी भएका छैनन्। अस्पतालमा विरामीको चाप बढेको छैन। घर घरमा अक्सिजन उत्पादन गर्ने मेशिनहरु तयारी अवस्थामा राखिएका छन्। पालिकाहरु आफैंले नागरिकहरुको ज्यान बचाउने गरी अक्सिजन र अन्य स्वास्थ्य सामाग्री तयारी अवस्थामा राखेका छन्। केहि पालिकाहरुले त अक्सिजनको प्लान्ट स्थापना गर्ने निर्णय समेत गरेका थिए। जे भए पनि नागरिकहरुलाई संक्रमणबाट जोगाउन स्थानीय तह सक्रिय छन् भने नागरिकहरु सचेत भएका छन्। तर पनि केहि कार्यालय तथा बस र अन्य स्थानहरुमा भएको भिडभाड नियन्त्रण हुन सकेको छैन।
पनौतीमा मकर मेला शुरु भएको छ। मकर मेला भर्न आउनेहरुको घुँईचो छ। जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी जस्ता कार्यालयहरुमा बढेको भिडलाई नियन्त्रण नगर्ने हो भने संक्रमण दर अझै फैलने छ। अस्पतालमा उपचारका लागि तयारी अवस्थामा शैयाहरु तयार भएका छैनन्। नागरिकहरुले सचेत हुन नसके उपचार नपाउने अवस्था आउन सक्छ। पहिलो चरणमा भन्दा दोश्रो चरणमा नागरिकहरुको ज्यान गयो भने तेश्रो चरणमा मृत्यु दर नदेखिए पनि हेलचेक्राई धेरै भयो भने धेरै नागरिकले ज्यान गुमाउनु पर्ने हुन सक्छ। समयमै सचेत हुनुको विकल्प छैन।





