नेकपा एमाले काभ्रेले दशौं जिल्ला अधिवेशन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सदरमुकाम धुलिखेलको रंगशालामा उद्घाटन सत्र र धुलिखेल नगरपालिकाको सभाहलमा बन्द सत्र सम्पन्न भएको छ। अधिबेशनले नयाँ नेतृत्व मात्रै चयन गरेको छैन काभ्रे जिल्लाको समग्र विकासको खाका कोरेको छ। विगतका अधिबेशनहरुले उठाएका सवालहरु कार्यान्वयनको चरणमा रहेको र आगामी योजनालाई तत् स्थानमा कार्यान्वयनका लागि पहलकदमी गर्ने निर्णय गरेको छ। नयाँ नेतृत्वको दायित्व र जिम्मेवारी पनि त्यहि हो कि समृद्ध काभ्रे निर्माणको अभियानमा नेकपा एमालेले विगतमा जस्तै नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस्। अधिबेशनको बन्द सत्रबाट चुनिएको नेतृत्व, सबल, सक्षम र कार्यकर्तामैत्री तथा विकास र समृद्धीको मियो बन्न जरुरी छ।
अधिबेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित, मुलुक र नागरिकहरुको आवश्यकता पहिचान गर्न सक्ने, पहिचान भएका आवश्यकतालाई नीति निर्माण गरी कार्यान्वयन गर्ने तहको नेतृत्व चयन भएको छ। यो कमिटीको दायित्व त्यतिमा मात्रै सीमित छैन। आसन्न तीन तहका निर्वाचन, जिल्लामा हुने विभिन्न संघ संस्थाहरुको निर्वाचन तथा जिल्लाको मियो बन्ने गरी योजनाहरु कार्यान्वयन गर्न तीन तहमै एमालेका उम्मेदवारहरुलाई विजयी गराउनु छ। विगतको निर्वाचनमा पनि नेपाली काँग्रेस, नेकपा माओवादी सहितका केहि साना दलहरुले स्थानीय तहको निर्वाचनमा कार्यगत एकता गरेका थिए। अहिले पनि त्यो सम्भावनालाई बलियो बनाउन कमजोर राजनीतिक दलहरुको सक्रियता बढेको छ। नेकपा एमाले अहिले पनि देशभर बलियो र पहिलो पार्टी हो। सबै दलहरुले एक्ला एक्लै अस्तित्व जोगाउन पहलकदमी गर्ने हो भने एमाले फेरी पनि पहिलो शक्ति हुने कुरामा दुई मत छैन। तर नेतृत्वको सहि दृष्टिकोण, कार्यकर्ताको संरक्षण र एमाले प्रतिको आर्कषणलाई ब्यवस्थित गर्नुपर्ने महत्वपूर्ण दायित्व छ।
अधिवेशनले धेरै सन्देश दिएको छ। एमालेले धुलिखेलमा गरेको अधिबेशन एमालेको नेतृत्व निर्माण आफ्नो स्थानमा छ त्यो भन्दा धेरै आम काभ्रेली र जिल्लाबासीहरुको अधिबेशन बन्न सफल भयो। धुलिखेलका होटल ब्यवसायीहरु, सामाजिक संघ संस्थाहरु, विभिन्न ब्यक्ति तथा समुदायको सक्रिय सहभागिता रह्यो। सबै क्षेत्रले आफ्नो घरमै भएको पर्व जस्तो उत्सवका रुपमा लिएकाले पनि यो अधिबेशन जिल्लाकै उत्कृष्ट, भब्य र सभ्य रहन पुग्यो। दोश्रो एमालेले प्रविधिको विकाससँगै प्रयोग गर्न ग¥यो। मुलुक निर्माण गर्छु भन्ने राजनीतिक दलहरुको रटान प्रविधिमा विश्वास भन्दा पनि पुरानै शैलीलाई पछ्याई मात्रै रहेको अवस्थामा नेकपा एमालेले हाईटेक शैली भित्र्याएको छ। यो शैलीले मुलुकलाई थप प्रविधि तर्फ उन्मुख मात्रै गराएको छैन समय, प्रविधि र अवसरलाई उपयोग पनि गरेको छ। अधिबेशन भन्ने वित्तिक्कै राजनीतिक दलहरुले चन्दा माग्छन, दुख र हैरानी दिन्छन भन्ने सन्देश पनि एमाले काभ्रेले तोडेको छ। विना चन्दा झण्डै ५० लाख आन्तरिक रुपमा कार्यकर्ताहरुको ब्यवस्थापनबाट सम्पन्न गरेको अधिबेशनले दिएका अनेक सन्देश मध्येको यो पनि महत्वपूर्ण हो। समग्र उपलब्धीका बाबजुद भावी चुनौती सम्हाल्ने जोशिलो एमाले नेतृत्वलाई हार्दिक बधाई।





