सरकारले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि र पशुपालन क्षेत्रमा गरेको लगानी दुरुपयोग हुने चिन्ता थपिएको छ। सहुलियत कर्जा होस् वा सहुलियत मूल्यमा उपलब्ध गराईएका प्रविधिहरुको दुरुपयोग रोक्न स्थानीय सरकार सक्रिय हुनु आवश्यक छ। स्थानीय तहले पनि त्यस्ता सामाग्री वा अनुदानको दुरुपयोग रोक्नु भन्दा पनि बेवास्ता गरेको अवस्था छ। मतदाता भाँडिने डरमा स्थानीय तहमा जनप्रतिनिधिहरुले दुरुपयोग रोक्न पहल गरेका छैनन्। राज्यले प्रदान गरेको लगानीलाई केहि वर्ष सम्म प्रयोग गर्ने र उदेश्य पुरा भए पछि दीर्घकालिन रुपमा अघि नबढाउने गरेको पाईन्छ। यसलाई रोक्न अनुदान उपलब्ध गराईएका क्षेत्र वा ब्यक्तिहरुको निरन्तर अनुगमन र दुरुपयोग गर्नेलाई कारवाही गर्नु पर्छ। त्यसो हुन सके मात्रै राज्यको लगानी सहि स्थानमा सदुपयोग हुन सक्छ।
काभ्रेपलाञ्चोक जिल्लामा मात्रै एक वर्षमा राज्यको सहुलियत दरको ऋण झण्डै ६ करोड प्राप्त गरेका छन्। पशुपालनका लागि मात्रै लिएको उक्त ऋणको अनुपात धेरै हो। कृषिका लागि लिएको अनुदानको रकमको अंक अझ धेरै छ। पशुपालनका लागि ९१ पशुपालक कृषकहरुले सहुलियत व्याज दरमा ६ करोड ९६ लाख ऋण प्राप्त गरेका छन्। उक्त ऋणमा १७ वटा गाई, ३५ वटा भैंसी, ५ सय ८ बाख्रा, २८ हजार २ वटा कुखुरा र १ सय ७८ बंगुर खरिद गरी पशुपालक कृषकहरु लाभान्वित भएका छन्। जिल्ला भरी १४ करोड १६ हजारको पशु बीमा गरीएको छ। जसबाट ३ हजार ४ सय ३९ गाई, २ हजार २४ भैंसी, ३ हजार ४ सय २६ बाख्रा, १ लाख ६५ हजार ८ सय ७७ कुखुरा र २ सय ५६ बंगुरको जोखिम बहन भएको छ। गत आर्थिक वर्षको अन्त्यमा पशुपालक कृषकहरुले पशु बीमा गरेर क्षतिपूर्ति बापत १ करोड ६७ हजार ७ सय प्राप्त गरी पशुपालन व्यवसायलाई सुरक्षित भएको महसुस भएको छ। धेरै कृषकहरुले आफु खु्शी पशुपालन गरिरहेका छन्। पशुपालनमा भन्दा धेरै लगानी कृषिमा भएको छ।
आर्थिक वर्ष अर्थात २०७७÷०७८ असार मसान्तसम्म जिल्लामा कृत्रिम गर्भाधान सेवा विस्तार गरी २४ हजार ६ सय ५५ गाई, ४ हजार ६ सय ८९ भैंसी र २ सय ५५ वटा बाख्रा गरी २९ हजार ६ सय ८ पशुहरुमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरी ८ हजार ६ सय ३० बाच्छी र १ हजार २ सय ९० पाडी उत्पादन भई १ लाख ९० हजार लिटर थप दुध उत्पादन बृद्धि गरिएको छ। दुध उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत जिल्लामा कृषकहरुले ३१ वटा दुध उत्पादक सहकारी संस्थामा १ करोड २७ लाख ३८ हजार ९ सय ३४ लिटर दुध बिक्री गरे वापत प्रति लिटर २ रुपैयाँका दरले २ करोड ५४ लाख ७७ हजार ८ सय ६८ रकम प्राप्त गरी लाभान्वित भएका छन्। जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पनौतीको वडा नम्वर १,२,३ र १२ मा भैंसी ब्लक विकास कार्यक्रम संचालन भई २ सय ४६ घरपरिवार लाभान्वित भएका छन्। चौरीदेउराली गाउपालिका वडा नम्वर ७ मादनकुडारीमा बाख्रा ब्लक विकास कार्यक्रम संचालनबाट २ सय २५ घरपरिवार लाभान्वित भएका छन्। साना किसान, व्यावसायिक फार्म र दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा ५० थान मोटर सहितको च्याफकटर, १० थान कम्वाइन्ड फिड मिल उपलब्ध गराएर पशुको लागी आहारा व्यवस्थापनमा सहज गराईएको छ। दुध बिक्री र ढुवानीमा सहजताको लागी २ सय १ थान मिल्क क्यान उपलब्ध गराईएको छ। जसबाट २ सय ६१ पशुपालक किसानहरु लाभान्वित भएका छन्। ४ हेक्टर बाँझो जग्गामा घाँस खेतीको विस्तार भएको, ४ वटा घाँसको नर्सरी स्थापना गरिएको, ५ हेक्टर जग्गामा हिउँदे, बर्षे र बहुवर्षे घाँस खेतीको विस्तार भएको, हाइड्रोपोनिक प्रविधिको विकाश गरी बाह्रै महिना हरियो घाँस उत्पादन गरी पशुपालक कृषकहरुले शहरी क्षेत्रमा १०–१२ वटा गाईभैंसी सजिलैसँग पाल्न सक्ने प्रविधिको विकाश भएको छ।





