केपी ओली नेतृत्वको सरकारले शुरु गरेका थुप्रै राम्रा कामहरु मध्ये एउटा हो नागरिकहरुको स्वास्थ्य बीमा। नेपाली नागरिकहरुले बीमा लागु भएका जिल्ला र उपचार गराउने अस्पतालमा बीमा गराए पछि उपचार बापत तिर्नु पर्ने रकम निःशुल्क छ। पहिलो चरणमा शुरु भएको उक्त कार्यक्रम विस्तार गर्ने तथा बीमालाई प्रभावकारी बनाउँदै नागरिकहरुलाई दिने सुविधामा बढाउनु त कता हो कता सरकार बीमा बापत उपचार गराएको सेवाको रकम समेत भुक्तानी गर्दैन। एकपछि अर्काे भुक्तानी रोकेर सरकारले नागरिकहरुलाई सास्ती ब्यहोरेका छन्। धुलिखेल अस्पतालले सेवामा सहजताका लागि पटक पटक सूचना आब्हान गरेको छ भने केहि अस्पतालहरुले बीमाको सेवा नै बन्द गरिसकेका छन्।
नागरिकहरुले बीमा गरे पछि १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार हुन्छ । परिवारका सदस्यहरुको उपचारमा सहज हुने भएकाले बीमा प्रभावकारी भएको हो। पाँच जनासम्म ३ हजार ५ सय र प्रति परिवार ७ सयका दरले थप गर्दै जाने र उपचार सेवा प्राप्त हुने अवसर उपलब्ध गराएको छ। यसले सामान्य अवस्थाका नागरिकहरुलाई सहज मात्रै बनाएको छैन आर्थिक समृद्धिका लागि आधार तय गरेको छ। दीर्घरोगी, जेष्ठ नागरिक, अपाङ्ग, एचआईभी संक्रमित, महिला स्वंयसेविकाहरुलाई सहज बनाएको छ। उपचार गर्नु नपर्ने तर नियमित औषधी सेवन गर्नुपर्ने नागरिकहरुलाई झनै सहज भएको छ। काभ्रेपलाञ्चोक जिल्लामा धेरै बीमा धुलिखेल नगरपालिकामा भएको छ। धुलिखेलका ७१ प्रतिशत नागरिकहरुले स्वास्थ्य बीमा गराएका छन्। धुलिखेल अस्पतालमा विरामीहरुको चाप बीमाका कारण बढेको छ।
सरकारको असहयोगका बाबजुत नागरिकहरुमा प्रभावकारी बन्दै गएको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाका १ लाख ५ हजार ८२ नागरिकले बीमा गरेका छन्। बीमा बापत नागरिकहरुले ११ करोड ३५ लाख ४३ हजार ४ सय रुपैयाँ संकलन भएको छ। बीमाका लागि ११ हजार ४१ परिवारले नयाँ दर्ता गरेका छन् भने नविकरण ९ हजार ५ सय ३५ परिवारले गरेका छन्। बीमा गरिएका मध्ये जेष्ठ नागरीक विमित सदस्यहरुको संख्या ६ हजार २ सय ८८ जना, महिला स्वयंसेविका विमित सदस्यहरुको संख्या ४ सय ३५ परिवार, एचआईभी एड्स लागेका ५३ परिवार, कुष्ठरोग लागेका २४ परिवार, पूर्ण अपाङ्ग भएका ४ सय ९ परिवार र एमडिआर टिबी भएका २ परिवारका गरी १ लाख ५ हजार ८२ नागरिकको बीमा भएको हो। अझै केहि पालिकाहरुमा बीमा अभिकर्ताहरु बीमा गराउन नगएका कारण नागरिकहरुले बीमा गराउन पाएका छैनन्। जिल्लामा बनेपा नगरपालिकामा २३ हजार ३ सय ११, धुलिखेलमा २२ हजार ६ सय ८९, पनौतीमा १७ हजार १ सय १४ जना, पाँचखालमा १२ हजार ९ सय ६ जना, मण्डनदेउपुरमा १० हजार २ सय ४९, नमोबुद्धमा ५ हजार ९ सय ८६ जनाले बीमा गराएका छन् भने भुम्लु गाउँपालिकामा ३ हजार ६ सय १० जना, रोशीमा २ हजार ४ सय ५७ जना, बेथान्चोकमा २ हजार ८७ जना, चौरीमा १ हजार ६ सय २८ जना, तेमालमा १ हजार ३ सय ५२ जना, महाभारतमा १ हजार ७० जना र खानीखोलामा ६ सय २४ जनाले बीमा गराएका छन्। जिल्लामा ३ लाख ५२ हजार ६ सय ७ जनसंख्यामा १ लाख ५ हजार ८२ अर्थात २९.८० प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको छ। सबैभन्दा धेरै धुलिखेलका ७० प्रतिशत नागरिकहरुको स्वास्थ्य बीमा भएको छ भने खानीखोलामा ४ प्रतिशत नागरिकको बीमा भएको छ। बीमा प्रभावकारी बनाउन स्थानीय सरकारको सक्रियता आवश्यक छ।





