2026 April 19/ 01:15: 37am

    कोरोना महामारीका बीच राजनीतिक दल र दलका कार्यकर्ताहरु त्यसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा जुट्नुपर्ने बेला सामाजिक सञ्जालमा रोईलो गरेर बसेका छन्। सत्ताको नेतृत्व गरेको दल नेकपा र नेपाली काँग्रेस भित्रको आन्तरिक प्रतिस्पर्धा गुट र उपगुटमा परिणत भई सामाजिक सञ्जालमा समेत छताछुल्ल भएको छ। विशेषगरी नेपाली काँग्रेस भित्र देखिएको अस्वस्थ प्रतिस्पर्धाले सिङ्गो पार्टी पंक्तिमा आएको तरंगताले महाधिबेशन, अधिबेशनलाई प्रभावित बनाउन थालेको छ। नेपाली काँग्रेस भित्रको यो अस्वस्थ प्रतिस्पर्धा सशस्त्र युद्धको समय देखि नै हो। एकले अर्काेलाई निषेध गरेर पार्टी संचालन गर्ने र नेतृत्वमा पुग्ने होडका कारण पार्टीले पटक पटक लज्जाजनक हार ब्यहोर्नु परेको भन्ने कार्यकर्ताको निश्कर्षलाई पार्टीले मुल्यांकन गरेको छैन। 
    पछिल्लो समय जिल्ला समितिको बैठक भनिएको तर बैठक नभएको, आमन्त्रित सदस्य मनोनित भनिएको तर विधान विपरीत भएको, सदस्यता वितरण र नविकरणमा लामो समयसम्म उदासीनता रहेको जस्ता विषयले सामाजिक सञ्जालमा स्थान पाउन थालेका छन्। कार्यकर्तालाई आधिकारीक स्थानमा कुरा राख्न दिने फोरम पार्टीले नबनाउँदा पछिल्लो समय सामाजिक सञ्जाल त्यसको माध्यम बन्न थालेको छ। कार्यक्रम आयोजना गर्दा गुटको गर्ने, बैठक बस्दा गुटको बस्ने, जिल्ला समितिको बैठकमा गुटलाई प्राथमिकता दिने, नियुक्ति, सरुवा, बढुवा र अवसर एउटा समुह निकटले पाउने अवस्थाले निराशा उत्पन्न गराएको कार्यकर्ताहरुको टिप्पणी छ। नेपाली काँग्रेसको महाधिबेशन घोषणा गरिएको छ तर निश्चित छैन। प्रदेश, जिल्ला, नगर, गाउँ र वडा तहसम्मका अधिबेशन तोकिएका छन् तर चार वर्ष देखि सदस्यता नविकरण छैन। नयाँ सदस्यताका सम्बन्धमा जिल्ला तहबाट एकलौटी गरिएको आरोप छ भने समायोजनका नाममा विद्यान विपरीत सयौं ब्यक्तिहरु आमन्त्रित जिल्ला सदस्य बनेका छन्। अहिले काँग्रेस पार्टी हैन ब्यक्ति बनिरहेको छ। ब्यक्तिको लहडमा संगठन चल्ने र चलाउने क्रमले सिङ्गो काँग्रेसीजनको शिर निहुरिएको टिप्पणी हुन थालेको छ। 
काँग्रेसमा विचारको बहस छैन। नेतृत्वको बहसमा ब्यक्ति केन्द्रित गरिएको छ। संगठनको बहस पनि छैन। कार्यकर्ताहरुको ब्यवस्थापनको कुरा पनि छैन छ त केवल नेतृत्वमा को पुग्ने ? कसको फेर समातेर अघि बढ्दा वा उसको भजन गाउँदा नेतृत्वको नजिक पुगिन्छ भन्ने मात्रै छ। आफ्नो अनुहार नहेरीकन अरुको अनुहारको दाग देखाउने क्रम शुरु भएको छ। दहि चिउरा खाएर एकता भएको घोषणा गरिएको काँग्रेस पुनः खीर खाएर अलग भएको विश्लेषण गरिएको छ। कोरोना महामारीले केहि समय काँग्रेस भित्रको टकराव सेलाएको जस्तो देखिए पनि भित्र भित्रै पाकेको खिचडी महाधिवेशनमा छताछुल्ल हुने निश्चित छ।