2026 April 19/ 01:14: 09am

लकडाउन भित्र तथा लकडाउन सकिँदा महिलाहरु माथी हुने ज्यादती र हिंसाका घटना बढेका छन्। महिलाहरुलाई ललाई फकाई जर्बजस्ती करणी गर्ने, उनिहरुको सम्पत्ति लुट्ने अनि कसैलाई भनिदिए मारिदिने धम्की दिने, आफै जर्बजस्ती करणी गर्ने अनि जर्बजस्ती करणी गरेको भिडियो तयार गरी सार्वजनिक गर्ने प्रयास गर्ने हिंस्रक पुरुषलाई कारवाही भन्दा पनि संरक्षण धेरै छ। प्रहरी कार्यालयमा उजुरी छ तर ब्यक्ति फरार छ। यो शारदा बतासे स्थित धुलिखेल नगरपालिका वडा नम्वर १० को घटना हो। श्रीमान् वा घरका ब्यक्तिहरु नभएको समय पारी यौन हिंस्रक बन्ने पुरुष खुलेआम सडकमा छन्। महिलाहरु पीडित छन् तर आवाज उठाउन सक्दैनन्। बाध्य भएर विष सेवन पछि मात्रै घटनाको वास्तविकता खुल्छ। परिवार र समाजबाट विस्थापित हुनुपर्छ। समाज ढाेंगी छ। 
    लकडाउन भित्र पनि महिलाहरु असुरक्षित भएका छन्। आफन्त तथा नजिकका चिनेका ब्यक्तिहरुबाट महिलाहरु बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन्। प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। केहि अझै फरार छन्। मण्डनदेउपुर नगरपालिका वडा नम्वर १२ रामपुर स्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० बर्षीया महिलालाई जर्बजस्ती करणी गरे। लकडाउनमा पाहुना लाग्न गएका ब्यक्तिले श्रीमानलाई मादक पदार्थ किन्न पठाई श्रीमतीलाई जर्बजस्ती करणी गरेका थिए। घरमा काम सहयोग गरिदिने वा नजिक बन्ने बहाना खोज्ने अनि जर्बजस्ती गर्ने घटना बढेका हुन्। यस्तै साढुभाई विदेश गएको मौका छोपी सालीसँग पटक–पटक जर्बजस्ती अनैतिक सम्बन्ध राख्ने पाँचखाल नगरपालिका वडा नम्वर १२ साविक बालुवा गाविस वडा नम्वर ९ खहरेगाउँका एक पुरुष पक्राउ परे। विदेशबाट लकडाउन हुनु अघि घर फर्किएका श्रीमान्ले श्रीमतीको पेट लगातार बढेको, खाना अरुची भएको, वाकवाकी लागेको तथा गर्भ रहेको जस्तो आशंका लागे पछि सोधेका थिए। श्रीमतीले आफ्नै भिनाजुको गर्भ भन्न नसकेर चुप लागेर बसेको भन्दै श्रीमान्को सहयोग हुने भए पछि वास्तविकता बताएकी थिईन्। उनको पेटमा चार महिनाको गर्भ रहेको परिक्षणबाट देखिए पछि श्रीमान श्रीमती दुवैको सल्लाहबाट पुरुष पक्राउ परे। 
    महिलाहरु हिंसामा पर्नु र पारिनु फरक फरक कुरा हुन्। जर्बजस्ती पारिएका हिंसाका घटनामा परिवारको साथ र सहयोग पनि छ। परिवार बाहिरबाट भएका हिंसाका घटनाबाट महिलाहरु अहिले धेरै जोखिममा छन्। जोखिममा रहेका महिलाहरुलाई संरक्षण गर्ने, दोषिलाई कारवाही गर्ने र समाजमा अपराध हुन नदिने तर्फ स्थानीय सरकार र सरोकारवाला निकायहरु सचेत रहनु पर्छ।