2026 April 19/ 01:14: 23am

विश्व संकटमा छ। विश्वमा कोरोना भाईरसका कारण संक्रमण हुने, संक्रमणबाट मृत्यु हुने र संक्रमणलाई जितेर घर फर्कनेहरु पनि थपिदै छन्। आर्थिक संकट भयावह हुँदैछ। उद्योग कलकारखाना, शैक्षिक, आर्थिक क्षेत्र प्रभावित भएका छन्। बालबालिकाहरुको मनोविज्ञान परिवर्तन हुँदैछ। विद्यालयहरुले अनलाईन, टेलिभिजन र रेडियो मार्फत कक्षा संचालन गरी बालबालिकाहरुलाई अल्मल्याउने काम गरिरहेका छन्। तर पनि नयाँ शैक्षिक सत्रको प्रारम्भ हुने र शैक्षिक सत्रको अन्त्य हुने बेला विद्यालयहरुले ठुलो क्षति ब्यहोरेका छन्। विशेषगरी निजी क्षेत्रबाट संचालित विद्यालयहरु यसबाट पीडित बन्न पुगेका छन्। कृषि क्षेत्र निरन्तर संचालन भईरहे पनि मल, बिउ लगायतका समस्याबाट गुज्रिरहेका छन्। खाद्यान्न संकट निम्तिन नदिन स्थानीय सरकारहरुले विशेष कार्यक्रम ल्याएका छन्। 
    महामारीका कारण खाद्यान्न संकट निम्तिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँ फर्किएका ब्यक्तिहरुले बाँझो जमिनमा खेती गर्न शुरु गरेका छन्। काम विशेष नेपालका विभिन्न स्थानमा पुगेका ब्यक्तिहरु गाउँ फर्किए पछि लकडाउन अवधीमा बाँझो जमिन खनी उत्पादन गर्न शुरु गरिएको हो। छोटो अवधीमा फलाउन सकिने तरकारी बाली तथा केहि महिना लाग्ने नगदे बाली लगाउने गरी योजना बनाउन सकियो भने खाद्यान्न सकंट हुँदैन। अहिले गाउँ फर्किएकाहरु बाँझो जमिन खन्न थालेकाले उत्पादन बढ्न सक्ने सम्भावना छ। जिल्लाको कुल क्षेत्रफल १ लाख ४० हजार ४ सय ८६ हेक्टर मध्ये भिरालो जमिन ५२..५ प्रतिशत अर्थात ७३ हजार ७ सय ३६ हेक्टर, कम भिरालो ४१.३ प्रतिशत अर्थात ५७ हजार ९ सय ९१ हेक्टर,  बाँकी ५.१ प्रतिशत अर्थात ७ हजार २ सय ९२ हेक्टर मैदान, टार र उपत्यका क्षेत्रले ओगटेको छ। १.१ प्रतिशत अर्थात १ हजार ५ सय ६५ हेक्टर जमिन ग्राबेल, ढुंगा तथा नदिले ओगटेको छ। पाँचखाल, महादेवस्थान, भकुण्डेबेशी, शिखरआम्बोटे, मंगलटार, खोपासी, ताल्ढुंगा, बनेपा, पनौती, नाला, शंखु, कुशादेवी समथर भागमा पर्दछन्। कुल भूमि मध्ये करिब ९७. १ प्रतिशत क्षेत्र मध्य पहाडी क्षेत्रमा पर्दछ। २.८ प्रतिशत क्षेत्र सिवालिक क्षेत्र अन्र्तगत पर्दछ। उत्पादन हुने क्षेत्रमा खेती लगाउँदा जिल्लाले खाद्यान्न निर्यातमा अझै योगदान पु¥याउने सम्भावना छ। 
    काभ्रेपलाञ्चोक जिल्लाको उत्पादन  निर्यात हुने गरेको छ। बर्षात्को समयमा भाद्र महिनासम्म ८० प्रतिशत पानी पर्ने र सिंचाईको पनि अवस्था छ। केहि स्थानमा बाहेक अधिकांश स्थानमा साना ठुला गरी ४ सय ९२ वटा नदी, खोला, तथा झरना छन्। सिंचाई नहुने स्थानहरुमा आकाशे पानीको भरमा भए पनि खेतीपाती गर्ने चलन छ। लकडाउनको अवधीमा निरन्तर वर्षात् भएकाले बाँझो जमिन खन्न सक्ने र खनिएको जमिनमा तत्काल खेती गर्दा उत्पादन पनि राम्रो हुने छ। अहिले मौसमले पनि साथ दिएको छ। यतिबेला उत्पादन हुने खाद्यान्नले राम्रो बजार पाउन सकेको छैन। आलु, तरकारीको भण्डारण गर्ने क्षमता छैन। भुकम्प, नाकाबन्दीबाट पनि पाठ सिकेर पनि गर्न नसकेका थुप्रै कामहरु अब तीन तहका सरकारले गर्नु पर्छ। भण्डारण क्षमता, विषादी न्यूनिकरण, कृषकहरुलाई राहत र अनुदान, बजारीकरण जस्ता क्षेत्रमा ध्यान दिनु जरुरी छ। यो संकटलाई अवसरमा बदल्नु जरुरी छ।