2026 April 19/ 01:15: 37am

       लोकतन्त्र प्राप्त भएको १४ वर्षमा नेपालमा धेरै उतार चढाव आएको छ। २००७ सालको अधिकार खोसिएपछि २०४६ सालमा प्राप्त प्रजातन्त्रमा दरबारले हस्तक्षेप गरी निरंकुशता शुरु गरे पछि नागरिकहरुको हक अधिकारका लागि सशस्त्र युद्ध र २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नु जरुरी छ। त्यहि जनआन्दोलनको जगमा बनेको नयाँ संविधानले जनताको आशा र भरोसालाई मल्हम लगाउन शुरु गरेको छ। लामो समयको अस्थिरता पछि मुलुकमा स्थायी सरकार गठन भएको छ। झण्डै दुई तिहाई नजिक बहुमत प्राप्त गरेको सरकारले जनतालाई आशा भरिदिएको छ। त्यहि आशालाई पूरा गर्न तीन तहकै सरकार सक्रिय भएका बखत पार्टी भित्र र बाहिरबाट भएका अघोषित षड्यन्त्रहरु चिर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अगाडि बढाउनु भएको छ।

       राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी अलग बनाउन मिल्ने प्रावधानले नेपालको राजनीति फेरी तरगित भएको छ। नेकपा भित्रको एउटा समूहले नेकपा फुट्ने तहसम्मको गुटगत भेला र बैठकहरु शुरु गरेको छ भने नेपाली कांग्रेस भित्र पनि तरंग ल्याएको छ। सबै दल प्रधानमन्त्री केपी शर्मा ओली मार्फत ल्याएको उक्त अध्यादेशले तरंग ल्याएको छ। मधेशवादी दलहरुको अस्थिरता एकातिर छ भने नेकपा भित्रको सत्तामा जान नपाएको अर्काे गुटको छट्टपट्टि अर्काे महत्वपूर्ण विषय छ। प्रदेश नम्वर २ को सरकारको हेरफेर पनि यसलाई लिन सकिन्छ। २०६४ सालको संविधान सभाको निर्वाचनको असफलता पछि मुलुकले २०७४ सालमा पुनः अर्काे निर्वाचन गरी निर्माण गरेको संविधान अन्तर्गत बनेको नयाँ सरकारले जग बसाएकै अवस्थामा यो अध्यादेशले अस्थिरता फैलन सक्छ भन्ने विश्लेषण पनि हुन थालेको छ। सरकारलाई काम गर्न नदिने षड्यन्त्रलाई चिर्न दलहरु भित्रको शुद्धता आवश्यक छ, शुद्धताको कसीलाई जनताले बाहेक अरुले नाप्ने छैनन्। नेकपा अहिले ठुलो दल मात्रै होईन मुलुक संचालनको जिम्मेवार पार्टी हो। उसले सत्ताको नेतृत्व गरेका बेला मुलुकका तमाम अस्थिरताहरुलाई स्थिर बनाउन प्रयत्न गरिनु पर्छ। अनि मात्र लोकतन्त्रको उपलब्धि जनताले महसुस गर्नेछन्।

       नेपालको परिवर्तनका लागि धेरै ब्यक्तिहरुले ज्यान गुमाएका छन्। धेरै अङ्गभङ्ग भएका छन्। धेरैले अभिभावक गुमाएका छन्। टुहुरा, एकल भएका, अपाङ्ग भएका छन्। देश र जनताका लागि बलिदान दिने शहिदहरुको सम्मानका लागि पनि मुलुकले आत्मनिर्भर हुँदै जनताले अनुभुत गर्न सक्ने खालको लोकतन्त्र र प्रजातन्त्रको आवश्यकता छ। लोकतन्त्रका १४ वर्षमा धेरै सरकार बने। सबै सरकार अस्थिर रहे। नागरिकहरुको अपेक्षा अनुसार मुलुकले विकासको जग राखेको छ। अदम्य साहस भएका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मर्म अनुसार जनतालाई सुन्ने मात्रै होईन देख्ने र भोग्ने खालको समृद्धि दिने गरी निरन्तर कार्य गरिरहनु भएको छ। उहाँको प्रयासमा तपाई हाम्रो साथ र सहयोग रहँदासम्म मात्र लोकतन्त्रलाई सबल बनाउँदै हाम्रा असिम सपना पूरा गर्न सकिन्छ।