कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा स्थानीय तहको सक्रियता प्रशंसनीय छ । संघीयताको पूर्ण अभ्यास र कार्यान्वयन यतिबेला पुष्टि भएको छ। स्थानीय सरकारहरुले आफ्नो क्षेत्रमा भाईरस फैलन नदिन गरिरहेका गतिविधि तथा नागरिकहरुको जिउधनको सुरक्षाका लागि उचालेका पाईलाहरु महत्वपूर्ण छन्। क्वारेन्टाईन निर्माण, सचेतनामूलक कार्यक्रम तथा राहत वितरणमा समेत स्थानीय सरकारको तदारुकता र तयारी पूर्ण रुपमा सन्तुष्ट हुने खालका छन्। पछिल्लो समेत द्रुत गतिमा गरिएको संक्रमण परिक्षणमा पनि नागरिकहरुको सुरक्षालाई महत्वपूर्ण मानिएको छ। स्थानीय तह नहुँदो हो त भुकम्पको बेलामा जस्तो अस्तब्यस्त हुन जान्थ्यो। अहिले सबै तहमा सरकार छन्। सरकारले आफ्नो काम जिम्मेवारीपूर्वक गरिरहेका छन्। उनिहरुको सहयोगमा प्रदेश र संघ सरकार पनि छन्। उनिहरुको अभिभावकत्वका कारण स्थानीय तहहरुले सक्रियता बढाईरहेका छन्।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि स्थानीय सरकारले खाद्यान्न र अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति ब्यवस्थापनमा सहजीकरण गर्न सक्रियता देखाएका छन्। दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, दुधजन्य पदार्थ तथा ग्याँसको नियमित आपूर्तिको ब्यवस्था गर्न उद्योग बाणिज्य संघहरुले पहल गर्ने, उपभोग्य बस्तुहरुको भण्डार अद्यावधिक राख्ने र भण्डारणमा कमी हुन नदिने, अत्यावश्यक बस्तुको विक्री वितरण गर्दा जोखिम कम हुने गरी सामाजिक दुरी कायम गर्ने, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन नदिन अनुगमनलाई तिब्र बनाउने, एलपिजी ग्याँस र पेट्रोलियम पदार्थको दैनिक स्टकको रेकर्ड राख्ने र दैनिक उपभोग्य एवं अत्यावश्यक सामाग्रीहरु नियमित आयात तथा ढुवानीमा समस्या हुन नदिन स्थानीय सरकारले विभिन्न समिति बनाएर कार्य गरिरहेका छन्। स्थानीय सरकारहरुले संकट ब्यवस्थापन केन्द्रको गठन गरी कोरोना भाईरसको संक्रमणको रोकथाम, ब्यवस्थापन र नियन्त्रणमा कार्य गरिरहेका छन्। यस्तो समिति जिल्लामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा गठन भएको छ। कमिटीले संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको उद्धार गरी सम्वन्धित स्थानमा पठाउन सहयोग गर्नेछ।
स्थानीय सरकारले फागुन १ गते देखि चैत्र ९ गतेसम्म विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका ३ सय ४९ जना ब्यक्तिहरुको दैनिक स्वास्थ्यकर्मीहरुले सम्पर्क गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहेका छन्। स्थानीय सरकारले द्रुत गतिमा संक्रमण छ कि छैन भनेर परिक्षण गर्न मिल्ने किट मार्फत आफ्नो क्षेत्र भित्र कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, साउदी अरब, मलेसिया, बहराईन, जोर्डन, न्युजील्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युएई, ओमन, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कम्बोडिया लगायतका मुलुकहरुबाट जिल्लाबासीहरु जन्मघर फर्किएका छन्। फर्किएका मध्ये भारतको विहार, नयाँदिल्ली, बेङ्गलोर लगायतका स्थानबाट फर्किएका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिरहेका छन्।
स्थानीय तहहरु मध्ये सबैभन्दा धेरै पनौती नगरपालिकाका नागरिकहरु जन्मघर फर्किएको तथ्याङ्कले देखाएको छ। पनौती नगरपालिकाका १२ वटामा १ सय १ जना फागुन १ देखि चैत्र १० सम्मको अवधीमा घर फर्किएका छन्। पनौती पछि मण्डनदेउपुर नगरपालिकामा ३८ जना, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोक गाउँपालिकामा २२ जना फर्किएका छन्। तेमाल गाउँपालिकामा १८, नमोबुद्ध नगरपालिकाम १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लु गाउँपालिकामा ३ जना मात्रै विभिन्न देशबाट फर्किएको तथ्याङ्क छ। भुम्लुमा मेलम्ची तथा अन्य जिल्लाका नागरिकहरु पनि बैदेशिक रोजगारबाट फर्किएको तथ्याङ्क छ। यतिबेला संघीयताको पूर्ण अभ्यास भईरहेको छ। स्थानीय तहको सक्रियताले उत्साह भरेको छ। सरकारलाई सहयोग गर्ने र नागरिक सुरक्षित हुनु अहिलेको आवश्यकता हो।





