2026 April 19/ 01:15: 37am

    प्रविधिको विकाससँगै स्थानीय तथा घरेलु रुपमा उत्पादन हुने वस्तुहरु लोपहुँदै गएका छन्। लोप भएका बस्तुहरुको ऐतिहासिकता, सांस्कृतिक र धार्मिक पक्ष पनि जोडिएको छ। तरपनि स्थानीयहरुले चाहेर पनि त्यस्ता उत्पादनहरुलाई प्रोत्साहन गर्न सकिरहेका छैनन्। स्थानीय सरकारले घरेलु उत्पादनको संरक्षण गर्ने अभियान शुरु गरेका भए पनि पर्याप्त रुपमा त्यस बारेमा गृहकार्य हुन नसक्दा स्थानीय उत्पादनले बजार पाउने सम्भावना छैन। खर्चिलो रुपमा हुने उत्पादन लागत धान्न नसक्दा घरेलु उत्पादन लोप हुँदै गएको छ। दुई दशक अघिसम्म रोशी गाउँपालिकाको मंगलटार पिन्थलीमा कपास प्रशोधन गर्ने कारखाना चल्थ्यो। कपासका रुखहरु हरेक घरमा हुन्थ्यो। प्रविधिको विकास, सडकको सहज पहुँच, युवाहरु विदेश पलायन जस्ता कारणले जन्म देखि मृत्युसम्म आवश्यक कपास संस्कृति लोप भएको छ। लोप भएको उद्योगलाई संरक्षण गर्ने गरी स्थानीय सरकारले कार्यक्रम ल्याउने योजना बनाएको  छ। प्रभावकारी बनाउन स्थानीयहरुको सक्रियता जरुरी छ। 
    स्थानीयहरुसँग ६० वर्ष अघि बुनेका कपासका कपडाहरु छन्। २० वर्ष अघि बुनेका कपासका पटुका, सिरक, डस्ना लगायत ब्यक्तिले लगाउने सबै थरी कपडाहरु सुरक्षित मात्रै छैनन हरेक समय कपासबाटै बुनेका कपडाहरुको प्रयोग हुन्थ्यो। आयश्रोत कम हुनेहरुले पनि कपडा किन्नु पर्दैन थियो। कपास प्रशोधन गरी कपडा बुन्ने कारखाना पिन्थलीमा अझै छ। कपासको रुख समेत जोगाईएको छ। केहि रुखहरुको फडानी गरिएको छ। बत्ति काट्न समेत सोहि रुखको कपास प्रयोग गरिन्छ। खर्चका हिसावले महङ्गो पर्ने तर घर आँगनमै उत्पादन हुने कपास लोप हुँदै गएको छ। बुढाबुढी भएपछि आँखा कम देख्ने कारण पेशा संकटमा छ। पछिल्लो पुस्ताले ब्यवसायलाई अगाडि बढाउन रुचाउँदैनन्। अहिले पनि स्थानीयहरु मध्ये अलिक पाको उमेरका अधिकांश ब्यक्तिहरुले त्यहि बुनेका पटुका लगायतका अन्य कपडाहरु लगाउने गरेका छन्। कपास उद्योग संस्कृति थियो। तामाङ समुदायका ब्यक्तिहरुको निधन हुँदा अन्त्येष्टिका लागि सोहि कपासको लामो कपडा प्रयोग गरिन्थ्यो। त्यसका लागि पनि सबैका घरमा त्यो खालको कपडा बुन्ने गरिएको थियो । ब्यक्तिले प्रयोग गर्ने कपडाको अलावा अन्त्येष्टिका बेला आवश्यक पर्ने कपडाहरुका लागि कपास संस्कृतिसँग जोडिने गरिएको थियो। 
ब्यक्ति जन्मँदा प्रयोग गर्ने कपासको बत्ति देखि मृत्युसम्म प्रयोग गर्ने कपास संस्कृति पिन्थलीमा लोप भएको छ। पिन्थलीमा मात्रै हैन यस्ता घरेलु उद्योगहरु जिल्लाका हरेक स्थानमा लोप हुँदै गएका छन्। सरकार उद्योग मैत्री वातावरण बनाउने प्रयास गरिरहेको छ। युवाहरु विदेशिन रोकिएको छैन। निर्यात भन्दा धेरै आयात भईरहेको छ। आयात कटौती गरी श्रम र सिपलाई नेपालमै प्रयोग गरी युवाहरुलाई उद्यमशील बनाउन यस्ता उद्योगहरुलाई सरकारले अनुदान दिई प्रविधि मैत्री बनाउनु जरुरी छ।