2026 April 19/ 01:14: 12am

    सूचना प्रविधिको प्रयोग, बढ्दो बेरोजगार, असमान पारिवारीक दायित्व, कम उमेरकैैै शारिरीक प्रेम, मादक पदार्थको सेवन तथा छिटो पैसा कमाएर धनी बन्ने सपना जस्ता थुप्रैै कारण समाजमा अपराधका घटना हुँदै आएका छन्। नेपाल प्रहरीले विशेषगरी अपराध न्यूनीकरणका लागि समाजका हरेक तप्कासँगको सहकार्यमा समय समयमा अभियान संचालन गर्दै आएको छ। अभियानकै कारण गत वर्ष भन्दा यो वर्ष अपराधका घटनामा कमि आएको छ। ब्यक्ति हत्या र आत्महत्यामा पनि कमी भएको छ। तर पनि सोचे जस्तो सफलता अझै प्राप्त हुन सकेको छैन। समुदायसँग प्रहरी कार्यक्रम मार्फत टोल टोलमा समिति गठन गरेको छ। समितिको काम तिब्र बन्न नसकेको भए पनि समाजमा हुने हरेक क्षेत्रका ब्यक्तिहरुलाई प्रहरीको कार्यक्रम मार्फत समाज प्रति जिम्मेवार बन्ने दायित्व बोकाएको छ। 
    जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा आर्थिक वर्ष २०७५÷०७६ को एक वर्षमा विपद्मा परी ७ जनाले ज्यान गुमाएका छन् भने विपद्मा ४ जना बेपत्ता भएका छन्। ज्यान सम्वन्धी अभियोगमा दर्ता भएका मुद्दाहरुमा १ सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ। स्थानीय सरकारहरुले विपद्का बारेमा आफु खुशी बनाउने गरेको तथ्याङ्क प्रहरी प्रतिवेदन र अनुसन्धानमा आधारीत छैन। प्रहरीले तयार गरेको तथ्याङ्कमा ब्यक्ति, पशु चौपायाँको मृत्यु, घाईते तथा सम्पत्तिको क्षतिको विवरण एकीन गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा अपराध र आत्महत्याको संख्या घट्दै गएको देखिएको छ। तीन वर्षको तुलनामा आर्थिक वर्ष २०७५÷०७६ को एकवर्ष अपराध र आत्महत्या दुवै घटेको छ। आर्थिक वर्ष २०७३÷०७४ मा अपराधका ५ सय २१ घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा अपराधको संख्या बढेर ६ सय ४२ पुगेको थियो। उक्त संख्या आर्थिक वर्ष २०७५÷०७६ मा घटेर ५ सय ६० मा आएको छ। आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ। निरन्तरको प्रहरी सचेतना तथा दबाबमुलक कार्यक्रमका कारण पनि अपराध र आत्महत्या घटेको हुन सक्ने प्रहरी विश्लेषण छ। प्रहरीले समुदायसँग प्रहरी कार्यक्रम विद्यालय विद्यालयमा, टोल टोलमा पु¥याई कार्यान्वयन गरिरहेको छ। आर्थिक वर्ष २०७३/०७४ मा १ सय ३७ जनाले आत्महत्या गरे भने २०७५÷०७६ मा १०४ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेहरुको संख्या कम भएको छ। 
    जिल्लामा ज्यान सम्वन्धी अपराध बढेको छ। २०७३÷०७४ मा ७६ जनाले ज्यान गुमाएका छन् भने २०७४÷०७५ मा ९१ जनाको हत्या भएको छ। त्यस्तै २०७५÷०७६ मा १ सय जनाको हत्या भएको भन्दै ज्यान सम्वन्धी मुद्दा दर्ता भएको छ । त्यस्तै चोरी २२, संगठित अपराध ४०, सामाजिक अपराध १ सय ६२ वटा दर्ता भएका छन्। अघिल्लो वर्ष सामाजिक अपराध २ सय ३० वटा दर्ता भएका थिए। स्थानीय तहमा न्यायिक समितिले विवाद मिलाउन थालेपछि यस्ता मुद्दाहरुमा कमी आएको छ। उमेरका आधारमा २० देखि ३० वर्ष उमेर समुहका १ सय ८२ जना अपराधमा संलग्न भएका छन् भने ३० देखि ४० उमेर समुहका १ सय ३२ जना छन्।  ४० देखि ५० उमेर सम्मका १ सय २१ जना छन्। प्रहरीले अपराध नियन्त्रणमा समुदायसँग हातेमालो गर्दै अभियान जारी राखेको छ। यसमा सबै पक्ष सक्रिय हुनु जरुरी छ।