2026 June 21/ 12:16: 14pm

    बनेपा/धुलिखेल अस्पतालले २०८० साल चैत्र १ देखि ३० गतेसम्म महिनावारी रोकिएका महिलाहरुका लागि विशेष प्याकेज सहितको उपचार सेवा प्रारम्भ गरेको छ । नयाँ वर्ष २०८१ लाई स्वस्थ रहेर खुशियाली साथ बिताउन ४०–६५ वर्ष उमेर समुहका महिलाहरुका लागि उक्त प्याकेज सहितको उपचार सेवा एक महिना संचालनगर्न लागेको हो । 
    ‘विशेषगरी महिलाहरुमा ४० देखि ६५ वर्षसम्म यस्ता प्रकारका समस्या हुन सक्छन्’–धुलिखेल अस्पतालमा कार्यरत प्रसुती तथा स्त्रि रोग विभाग प्रमुख प्रा.डा. आभा श्रेष्ठले भनिन–‘महिनावारी हुन छाडेका महिलाहरुमा हुन सक्ने विभिन्न खालका समस्याहरुको पहिचान, परिक्षण र उपचार गराएर सहज जीवनयापनका लागि सहजता प्रदान गर्ने उद्देश्य छ ।’ प्याकेजमा गरिएको परिक्षण र उपचारमा नियमित लाग्ने भन्दा १२ सय देखि १५ सयसम्म छुट सुविधा उपलब्ध हुनेछ । स्वास्थ्य बीमा गरेकाहरुको हकमा बीमाको सुविधा उपलब्ध हुनेछ । सरकारले अहिले स्वास्थ्य बीमा गरेकाहरुलाई पनि अनिवार्य रुपमा १० प्रतिशत तिर्नु पर्ने ब्यवस्था गरेको छ । प्याकेजमा भिटामिन डि, क्याल्सियम, मेमोग्राम, एलविसी, टिभिएस, एफएसएच लगायत समावेश गरिएको छ । 
    महिनावारी रोकिएका महिलाहरुले समयमा उपचार नगर्दा उनिहरुमा आउन सक्ने समस्या र त्यसले पार्ने असरका बारेमा परामर्श समेत उपलब्ध गराईने डा.आभा श्रेष्ठले बताईन् । ‘महिलाहरुमा मानसिक स्वास्थ्यमा समस्या देखिन सक्ने छ भने पिसाव वा पाठेघरमा समेत क्यान्सरको सम्भावनाको जोखिम बढाउँछ’– डा. आभाले भनिन– ‘निद्रा कम लाग्ने, चिटचिट पसिना आउने, झर्काे लाग्ने, शारिरिक थकान महसुस हुने लगायतका समस्या देखिन सक्छ ।’ महिनावारी रोकिए पछि हरेक महिलाहरुले आफ्नो शरीरमा हुने सक्ने परिवर्तन तथा समस्याका बारेमा एक पटक चिकित्सकसँग परामर्श लिएर स्वस्थ रहन डा.आभाले अनुरोध गरेकी छिन् । 
    समस्या देखिएका वा भएका महिलाहरुलाई फिजियोथेरापी अर्थात भिटामिन डि र अन्य आवश्यक पर्ने स्वास्थ्य प्रर्वद्धक औषधी र परामर्श उपलब्ध गराईने उनले बताईन् । धुलिखेल अस्पतालले यस्ता समस्या भएका महिलाहरुलाई प्याकेजको सुविधा लिन अनुरोध गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा डा.आभाले प्याकेज र महिनावारी रोकिए पछि हुन सक्ने समस्या र रोकथामका उपायहरुका बारेमा जानकारी गराएकी थिईन् । कार्यक्रममा बनेपाको शिर मेमोरियल, कृष्ण प्रसाद अस्पताल लगायत विभिन्न अस्पतालमा कार्यरत स्त्रि तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक र सोहि विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।